दमक/ नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरीका पठाउने गिरोहमा संलग्नताको आशंकामा राजनीतिक र प्रशासनिक उच्च नेतृत्व पक्राउ पर्न थाले पछि विभिन्न दलका नेताहरुले पनि यस सम्वन्धमा आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।
यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय रहेको भएको आरोप लगाएका छन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताए । बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यस घटनाबारे ध्यानाकर्षण गराएका अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई छोड्न नहुने, तर निर्दोषलाई फसाउन पनि नदिइने बताए ।
एमालेकै नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् । नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशंकामा प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने काम गैरकानुनी हो भन्दै उनले त्यससमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
तर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा ठगी गिरोहको भीआईपी जालो उजागर भएको भन्दै गृह प्रशासनको प्रशंसा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सो प्रकरणमा अझै गहिरो अनुसन्धान र संलग्न जोसुकै, जेसुकै ओहदा र शक्तिको भए पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् । उनले यो ठगी प्रकरण घटना नभएर प्रवृत्तिको रुपमा देखा परेको पनि बताएका छन् ।
यसै विच अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले तत्कालीन ऊर्जामन्त्री समेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएको थियो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।
२० उजुरी, २३ करोड ठगी
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले अनुसन्धान तिव्र पारेको छ । यस प्रकरणमा संलग्न भएको आशंकामा केहि उच्च पदस्थ व्यक्तिहरु पनि पक्राउ परेसँगै यो सर्वत्र चासोको विषय बनेको छ ।
अझै अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन् । सो मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय ६ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । तर योभन्दा धेरै संख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ ।
गिरोहले २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए । यस पछि अन्य उच्च अधिकारीहरु पनि पक्राउ पर्न थालेका हुन् । सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले त्यस लगत्तै तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई समेत पक्राउ गरेको हो ।