आज अक्टोबर ४ । हरेक वर्ष आजकै दिन विश्वभर अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउने गरिन्छ । नेपालमा आउँदै गरेको विजया दशमीले पशु हत्यालाई प्रश्रय दिएको छ भने अर्कोतिर दिपावलीमा तिनै पशुहरुको संरक्षण र मायाममता देखाउँदै पुजाआजा गरिने संस्कार रहेको छ । त्यति मात्र होइन विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्यदानसँग तुलना गरिन्छ । राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मीले समेत बेलाबखत आवाज उठाउँदै आएका छन् । दिपावलीमा कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको विश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषित गरिदिएको छ ।
जनावरको हत्या गरेर आफु रमाउनु भन्दा सबैको बाँच्ने अधिकारको संरक्षण गर्नु बुद्धिमत्ता ठहर्नेछ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार नै यो दिवसको मुख्य उद्देश्य रहेको छ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउने र संरक्षण तथा सम्बद्र्धनका निम्ति पहल गर्ने उद्देश्यका साथ मनाइने यो दिवस आज अत्यावश्यक भईसकेको छ । विभिन्न वहानामा पशु हत्या गर्ने, प्रयोग भएपछि बेवारिसे छोड्ने प्रचलन बढ्दै गएकोले पनि दिवसको महत्व बढेको हो ।
अर्कोतिर पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ ।
पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ। जंगलमा पाइने र घरपालुवा जीव जन्तुहरु हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । चाडपर्वका बेला होस् वा अन्य समयमा पशुपंक्षीहरुको आफ्नै महत्व रहेको हुन्छ । यिनीहरुको महत्व आफैमा विशिष्ट छ । हामी मध्ये हरेक मानिसले जनावरहरुको संसारलाई केही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ । जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र समान प्राणीका रुपमा बुझ्न जरुरी छ ।
मानिसले पशुपंक्षीलाई खानादेखि औषधीसम्म प्रयोग गर्दै आएको छ । सांस्कृतिक, पर्यटन, जैविक विविधता, व्यपार लगायतका क्षेत्रसँग पशुपंक्षी जोडिएका छन् । पशु दिवसमा जनावरसंगको मानविय दायित्व र सम्बन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो सम्बन्ध स्थापित गर्न भनेर जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मीहरु एकै थलोमा भेला हुने गरेका छन् । यो आफैमा सकारात्मक पक्ष हो । सनातन समाज मात्र विश्वमा यस्तो समुदाय हो जहाँ जनावरहरुलाई भगवानको स्थान दिइएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् । विश्वका विभिन्न देशहरुले विभिन्न तरिकाबाट यो दिवस मनाउदै आइरहेका छन् जसमा धर्म, विश्वास वा राजनीतिक विचारधाराहरु पनि पर्दछन । यो दिवस विभिन्न स्कुल, संघ संस्था, संगठित समूह, क्लव र व्यक्तिहरु जो पशुसंग सम्बन्धित छन् उनीहरुले विशेष तरिकाबाट मनाउदै आएका छन् । जनावर प्रति गरिने क्रुर व्यवहारलाई समाप्त पारी पशु सम्बन्धी कल्याणकारी कामलाई बढवा दिने र पशुको सुधारात्मक स्थितिलाई बढाउनु यो दिवसले मुख्य सन्देश रहेको छ । सबै प्राणीको संरक्षण गर्न, पशुबलिको बर्वरता हटाउन सके मात्र यो दिवसले साथर्कता पाउन सक्छ । सबैको ध्यान पशु संरक्षणमा जाओस् ।