दमक/ प्रहरीले झापाको दमकसहित देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
झापास्थित भुटानी शरणार्थी शिबिर बेलडागी दमकबाट प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।
बुधबार राति अन्दाजी १० बजे दमक– ३ बेलडाँगी शिविर सेक्टर नं. बी वान हट नं.१९ बस्ने पेमासिंह तामाङको घरमा उनकै छोरा २१ वर्षीय अभिसेक तामाङ र दमक– ७ बस्ने २७ वर्षीय संजिव लिम्बू लागूऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुको साथबाट स–साना पोकामा प्लाष्टिकसहित १ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट करिब १ सय ७ किलोग्राम गाँजासहित थाहा नगरपालिका २ पालुङ बस्ने २४ वर्षीय सुजन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा१२ च २८८५ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकमा प्याकिङ गरेको १४ वटा प्याकेटमा रहेको उक्त गाँजा फेला पारी गाडी चालक तामाङलाई पक्राउ गरेको हो ।
यस्तै कैलालीको टीकापुर नगरपालिका ४ अस्नेरीबाट खैरो हेरोइन ३ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका १
लागुऔषधुसहित….नयाँ बस्ती बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउद रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनसरीको बर्जु गाउँपालिक ५ पक्कीटोलबाट अवैध लागुऔषध २५ किलोग्राम गाँजासहित देवानगंज गाउँपालिका १ मध्यहर्षाही बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले पक्किटोलतर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ९११३ नम्बरको मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । हाल मोटरसाइकलसहित फरार भएका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ बैदेही पेट्रोल पम्पअगाडि सडकबाट ब्राउन सुगर करिब १० ग्रामसहित पर्साको वीरगंज महानगरपालिका २१ बस्ने ५८ वर्षीय वीरेन्द्र प्रसाद साहसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जितपुर र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगंज पर्साबाट खटिएको संयुक्त टोलीले वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना२२ प ९९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै बाँकेको खजुरा गाउँपालिका ७ बठुवाबाट ब्राउनसुगर २ सय ४० मिलिग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रिंकु श्रीवास्तव, २३ वर्षीय हसन महोमद साई र २४ वर्षीय फरमान खाँन रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रिंकुको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
यस्तै सिराहाको मिर्चैया नगरपालिका २ सिक्रोन जाने भित्री बाटोबाट ब्राउन सुगर ४ ग्राम २१ मिलिग्रामसहित मिर्चैया नगरपालिका २ मलिनिया पिडारी बस्ने २७ वर्षीय कासिन्दर मण्डललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै दाङको घोराही उपमहानगरपालिका १४ बसपार्क नजिकैबाट ब्राउन सुगर १ सय ८० मिलिग्रामसहित सोही ठाउँस्थित न्यू थवाङ्गी लालीगुराँस खाजा घरका संचालक रोल्पा घर भएका २३ वर्षीय किशोर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी दाङको घोराही उपमहानगरपालिक १४ बसपार्कस्थित न्यू कोसेली खाजा घर संचालन गरी बस्ने रोल्पा घर भएकी ४७ वर्षीया मिना घर्ति मगरलाई ब्राउन सुगर ३ ग्राम ८ सय ५० मिलिग्रामसहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।