“हन यो बर्ख अति नै चाँडो डिसेम्मर मैना र तेसको पच्चीस गतेमा पर्ने हामेरको सब्से इन्पोटरट्यान चाड किस्मास डे पनि आइओरी राम–रमाइलो गरायो हओ पाँडेजी नि ? आजइ चैँ तपइँका घराँ आ’र चाइनेकेरे ’ह्याप्पी किस्मास हए’ नभनम् भने फेरि लोदर लागेर आर्काे सालको किस्माससम्मन् तपइँकाँ नआउन पाउने दशो लाग्ला भन्–र यी म्यारिआ माने पैलेकी मुसीकी आमा र इनकी मुसी एलिना भए’सि तेसकी मम्मीलाई समेत लेराको क्या ! क्यार्ने हामेरको पित्रि–पुर्खादेखुन् भनम् न, पारापूर्बदेखुन्को ठूलो चाड यइ भ’काले एस सँस्किर्तिक प्रम्प्रालाई मान्न थालिहालियो ।… मैले त इ म्यारियालाई, तो पाँसुले पढ्के बाउन् क्या त, थोमस हरिरामेको रात–दिनको रगडघस सङ्गतबड भामट जुक्ति गरिकिन छुटा’र आफै इलु–इलु गर्न थालेसि मैले पनि इनकै इक्छा बम्जिम आफ्नु नामको अगाडि ’जोनाथान’ जोंडे र मेरो सुबनाम अब ’जोनाथान अ‍ैंसेलु झाँगे’ पनि पो बनाइसकें त । इ सप्पै अथबा याओत् पर्गति इनै म्यारिआसँग इलु–इलु हुन थाले एताका दिनाँ भ’को हो । अब म चइँ भरिसक्के डिभोस् गर्दिन, इनले चइँ बानी सपार्छिन्– सपार्दिनन् कोनि । झन्–झन् तरुनी हुँदै गकी छिन् । अगाडिका अर्जिनिल दाँत मात्तै न झरेर नक्कली च्यान्ज गरेका हुन्, ज्यान त क्या खँदिलो छ, हेर्नु त !…र, अन्तखेरि अब मेरो अर्जिनिल धर्म–समसकार, सँस्किर्ति र प्रम्प्रा नै एई धर्मलाई माने हए भन्–र यो किस्मासको सुभसाइतमा तपइँबड बिसासहे आशीरवात लिने इन्ट्यान्सिनले पनि हामेरू दोडै झ्याप्प तपइँकाँ आका हम् । लउ ’मारे पाप–पाले पुन्ने’ भन्–र हामेरका पुर्खाले भनेकै छन् नि, होइन्त ? कि तपइँलाई कस्तो फिल्लिङ भो ? “….
मुसीकी आमालाई मेरिआ नाम दिएर, सिँगारपटार गरेर र निधारदेखि टुप्पीसम्म सिन्दुरले रँगाएर उसँग लठारिँदै आएको साविकको ऐंसेलु झाँगेले अहिले जोनाथन अ‍ैंसेलु झाँगे भएको कथन, गाउँको कुनै दटपरटुइयाँ पुरेतले, बुझोस् न सुझोस् रटेर कण्ठ गरेको रुद्रीको श्लोक, असल पण्डितभन्दा पनि छिटो फटटटट पढे जस्तै गरी बतायो  ।
मुसीकी आमा उर्फ मेरिया त्यतिन्जेल जोनाथान झाँगेको अनुहारतिर हेर्दै, पार्टीका झोलेहरूले तिनका नेताले कुन उल्लु भाषण बास्तैछ भन्ने वास्तै नगरी नेताको अनुहारतिर सपोर्टको दाँते दाउ लगाए झै किच्च–किच्च गरिरहेकी थिई । जोनाथनले, ती त्यसरी, एक रील पूरै बोलेर बिसाएपछि ऊ बोली –“मलाई मेरो नयाँ नाम मुन पर्न छोडो र नयाँ–नुतन किस्थानी नाम के राखुम् के भइराख्या छ । मलाई मुन परेको झन नुतन र मोडन नाम ह्वाँ जोनाथान कम्रेटले चइँ मुन नपराउनु भएन क्यार्ने ! नत्रता कस्तो च्वाँक र टेसिलो थ्यो नाम ! तर….“
ऊ अझै के भन्न आँट्तैथिई, जोनाथन झाँगेले उसलाई ओभरटेक गर्दै र मतिर हाँसेर हेर्दै भन्यो –“ इ म्यारिआले मारगेट थेत्तरको जस्तै नाम राख्न खोजिन् कि अन्तखेरि मैले थेत्तरउत्तर जोडेको नाम के राख्छेउ हउ काम नपा’र । एल्लिजाबेत, हेल्लिन, म्यारी जुलिएट, जर्जिन बुफेलो, पाइनेपल, चिम्पान्झी, एल्लिफ्यान्ट जस्ता अनेक तिमीलाई फिट हुने नाम राख्न सकिन्छ नि भन्–र भन्देको मैले ! … तेस्तो थेत्तर– अँटेरी बुजिने सभ्दको नाम राख्ता लोदर लाग्छ क्या पनि भन्देको…गए राती ठुस्केर छेउ पर्न दे त थुक्क !…..“
जिउ बटारेर लचक–लचक लच्काएर उसले भनी –“अँ, जोतिसीलाई नहेराई कसरी जे’पा तेइ नाम राख्नु हौ ह–न ? जुर्छ कि जुर्दैन ! नत्र पअअअर कोप्चे लइनका बिजुवाकाँ ग’र जोखाना हेराम् न नभादेखुन् भनेकै त थें नि मैले । चटरिएर खपिसक्नु हुनुहुथ्यौ र सुन्नुभयौ त तपइँले ?“….
उनीहरू तिँहीँ जे पायो त्यही भन्न थालेको बुझेर पाँडेले झर्केर भन्यो –“तिमेरू के कामलाई आका हौ ? तिमेरका थोत्रा कुरा सुन्ने समय छैन मसँग । काम छैन भने जाओ खुरुक्क !“
तब जोनाथन झाँगेले पिठ्युँमा लट्काइराखेको झोला अगाडि ल्यायो अनि त्यसबाट पहेंला फूलका दुईटा माला निकाल्दै भन्यो –“हओ पाँडेजी, इ दोडा माला हामेरलाई लाइदेऊ कि अन्तखेरी तपइँको गच्छे अन्सारको दच्छिना हातलागी गरा’र माइतीको हइसेतका बन हउ तपइँ । एइ गराउने इस्टम्याट लेर आका खासमा हामेरू । तेति भएसि हामेरू अर्थाेक माङ्दैनउँ । हामेरू ढुक्क भ–र हिनी पनि जान्छउँ ।….एसबेला साइपत्री बूढो भ’र फुल्न छाडिगो र बारीमा फुलेको भिण्डीका फूलको इ दुई माला ! हेर्नु त तपइँ हिन्दुहरलाई चल्ने …..“
उसले वाक्य पूरा गर्न नपाउँदै पाँडे जुरुक्क उठ्यो र झाँगेको कठालो समातेर सिँढीतिर धकेल्दै भन्यो –“ जा साले गतिछाडा ! यो तेरो बिहे गर्ने ठाउँ हो ? शरम लाग्दैन ?“
त्यतिबेला पो त्यो थुम्से जस्ती मोटी मुसीकी आमा अग्गि कतिखेर आँगनमा निस्केर गेट बाहिर पुगिसकेकी रहिछ । र, झाँगे पनि हतार–हतार उनेर पुग्यो ! बस् ।….

Author

You may also like