देश–समाज राजनीति विचार/वहस स्थानीय

नेतृत्वप्रतिको निराशा र नागरिक बिद्रोहको सम्भावना

: — यज्ञप्रसाद भट्टराई —:
देशबाट राजा र राजसंस्था नराम्रो भएर हटाईएको हैन, बरु राजा र राजसंस्था देशमा रहुञ्जेल मुलुक लुटेर खान पाँईदैन भनेर हटाईएको हो भन्ने कुराको बिस्तारै जनमानसमा प्रमाणित हुँदैछ । देशमा राजा रहुञ्जेल धार्मिक एकता कायम हुने र आफ्नो अभिष्ठ पुरा नहुने देखेपछि बिदेशी राष्ट्र तथा क्रिस्चियन मुलुकहरुले नेपाली राजनीतिज्ञहरुलाई राम्रै दरभाउमा खरिद गरेको कुरा बिस्तारै खुल्दै जान थालेको छ । राजाले देश लुटनेहरुलाई पाखा लगाउने र देश बनाउनेहरुलाई अवसर प्रदान गर्ने भएकोले नै यस अघिको सकृय राजतन्त्र भएको बेला देश विकासका काममा बृहद सुधारात्मक कार्यहरु भएका रहेछन् ।
कामै नगरी खान पल्किएका देशका लुटेराहरुको जमात्ले जनतालाई झुक्याएर आन्दोलनको नाममा बिभिन्न हिंसात्मक क्रान्ती र प्रतिक्रान्तिहरुमा सहभागी हुन बाध्य पार्ने, डर देखाउने, धम्क्याउने, शारिरिक यातना दिने आन्दोलनमा घाईते र अंगभंग बनाएको र हजारौलाई बलीको बोको बनाएको कुरालाई अहिले मात्रै नेपाली जनताले बिस्तारै बुभ्दै गैरहेका छन् ।
देशमा राजनैतिक परिवर्तन पछि केहि देखिने खालको परिवर्तन भएको छ भने त्यो हो भ्रष्टाचार, सुन तस्करी र मानव बेचबिखन । राष्ट्रिय सम्पत्तिको चरम दोहन र युवा पलायन । देशमा भएको राजनीतिक परिवर्तनले राजनीतक दलमा आबद्ध नेताहरुलाई मात्रै भ्रष्ट बनाएन देशमा स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुलाई समेत भ्रष्टाचारको दलदलमा फँसायो । देशमा भित्रिएको बिकृत राजनीतिले बिना कमिशन कामै नहुने थिति बसायो । सरकार सञ्चालनमा रहेका हरुले नै भ्रष्टाचारको दुर्गन्ध फैलाएर नेपाली जगत् मात्रै हैन सिंगो संसार नै हसाँयो । देश भ्रष्टाचारको ओरालो यात्रामा सधै लागिरह्यो । यसल विश्वका सामु भ्रष्ट नेपालीहरु भनेर सारा नेपालीको शिर झुक्ने अवस्थामा पुर्याउने यिनै भ्रष्टका नाईकेहरु नै हुन ।
खाँदै नखाएको बिष लाग्ने गरी तमाम नेपालीको शिरमा ऋणै ऋणको भारी बोकायो । देश बिकास गरेर स्विजरल्याण्ड र सिंगापुर बनाउँछौ भनेर जनतालाई झुक्याउनसम्म झुक्यायो । भएको सबै राष्ट्रिय सम्पत्ति आप्mनै स्वास्नी, छोराछोरी, नातागोता सालासाली, र छोरीबुहारी मार्फत कुम्ल्याउनुसम्म कुम्ल्यायो । अब त नेपालका राजनैतिक दल र तिनका नेता देख्यो कि सिधै गएर चिथोर्न मन लाग्छ । यिनिहरुले अहिलेसम्म खाएको राष्ट्रिय ढुकुटीको सम्पत्ति सबै निकाल्ने गरी यिनका भुँडी निचोर्न मन लाग्छ ।
भ्रष्टाचारको छानबिन गर्ने निकाय नै भ्रष्टहरुका नातागोताहरुले भरिए पछि यो काम अब बन्दैन भन्ने पूर्ण रुपमा बिश्वास भैसकेको छ । अब भ्रष्टलाई नै भगवान भनेर पुजा गर्ने दिन आईसकेको छ । सहकारी र बैंक लुटने लुटेराहरु नै राजनीतिक दलका नेता बनेर जनता झुक्याउन आउन थालेपछि देशमा कृयाशिल राजनीतिक दलहरुबाट देश बन्दैन भन्ने कुरा अब हरेक नेपाली जनताले थाहा पाईसकेको छ ।
हत्यारा र अपराधी छुटाउने कुरादेखि निरपराधलाई फसाउनेसम्मका कुरामा समेत एकमुख हुने गरेको पाईएको छ । सुन तस्करीको सेटिङ् मिलाउने देखि मानव तस्कर छुटाउनेसम्मका अपराधमा राजनीतिक दलहरुकै उच्च नेतृत्व तह मुछिदा समेत यिनै भ्रष्ट र अपराधीलाई माला लगाउन अघि सर्ने नेपाली जनता रहुञ्जेल देश परिवर्तन र बिकासको कल्पना गर्नु बेकार हुनेछ ।
माहाकाली नदी बेच्दा होस् या टनकपुर संझौता गर्दा होस्, कोशी उच्च बाँधमा होस् या सिमानाका पिल्लर ढल्दा होस्, कालापानी सुक्दा होस् या लिम्पियाधुरा झुक्दा होस्, सुस्ता रुँदा होस् या बिदेशीको गोडा धुँदा होस् यिनिहरुको बोलीमा कुनै तात्विक अन्तर देखिदैन । बिदेशी प्रभूका अगाडि लम्पसार पर्ने नेपाली राजनैतिक नेतृत्वको महानतालाई बिस्तारै नेपाली जनताले बुभ्mदै गएका छन् ।
बिस्तारै बिकल्पको खोजि हुन थालेको छ । केहि भ्रष्ट नेताका कारण दलभित्र रहेर ईमान्दारिताका साथ काम गरिरहेका ईमान्दार कार्यकर्ताहरुको पनि मन दुखेको छ । जनताका काममा अहोरात्र खटिरहेका नेताहरुको समेत नेताका यस्ता कर्तुतहरुले ओठ तालु सुकेको छ । दलगत राजनैतिक ब्यवस्था बिस्तारै धरासायी बन्दै गैरहेको छ, अब त चुनावमा पनि ब्यक्तिले नेतासँग टिकट किन्नु पर्छ । ईमान्दार भएर पार्टी संगठनमा काम गरिरहेका कार्यकर्ताहरुले अब कुम्लो कुटुरो बोकेर मुग्लान तिर हिंडनु पर्छ ।
देशमा दर्बिलो मियोको अभावमा अहिले छाडातन्त्र हाबी भएको छ । जनताको अभिमतलाई तिरस्कार गरिएको छ । यसैको परिणाम कहिले सिंहदरबार त कहिले अदालत जलिरहेको छन् । जनता अन्यायमा परिरहेका छन् । गुण्डाहरुले नेताको आडमा आप्mना स्वार्थ पुरा गरिरहेका छन् । मुलुक झन झन अधोगति तर्फ गैरहेको छ । ईमान्दार कार्यकर्ता बिभिन्न बहाना बनाएर पार्टीबाटै फाल्न थालिएको छ । ईमान्दारिता भन्ने शब्द नेपाली शब्दकोषबाटै हटाएर फालिएको छ । यस्तै अचाक्लि भएर त होलानी अब बिस्तारै जनतामा प्रतिशोधको भावना पलाउन थालिसकेको छ ।
यसैको परिणाम जेन्जी आन्दोलनले धेरैको भाले सातो खाएको छ । राजनैतिक दलहरुको यहि लापर्वाहीका कारण जनतामा चरम निराशा र बिद्रोहको भावना बढदै जान थालिसकेको छ । केहि समय अघिको जेन्जी आन्दोलन त्यसको शुरुवाती अवस्था मात्रै हो । अबको आन्दोलनले यसलाई पूर्णविराम दिनेछ । हेर्दै जाउँ यसले आगामी दिनमा बर्तमानमा कृयाशिल भैरहेका राजनैतिक दलहरु र तिनका नेताहरुलाई कहाँ र कुन हैसियतमा पुर्याउनेछ । (माथि उल्लेखित विचारहरु लेखकका निजी हुन्)

Author

You may also like