===== फ्रायडको स्वभाव अनौठो किसिमको थियो । आफूसँग पूर्ण रुपमा सहमत हुन नचाहने व्यक्तिहरुलाई फ्रायड तिरस्कार गर्थे । यसै क्रममा उनले आफूसँग मिल्ने धेरै मानिसहरु पनि गुमाउन पुगे । सबै मानव व्यवहार निश्चित प्रवृत्तिद्वारा हुन्छन् जुन मान्छेका भौतिक आवश्यकताका मानसिक अभिव्यक्ति हुन् भन्ने विषयमा फ्रायडको अध्ययन सूक्ष्म थियो । =====
दिव्या दाहाल
सिग्मण्ड फ्रायडको जन्म यहुदी माता–पिताका सात सन्तान मध्ये सबैभन्दा जेठो सन्तानका रुपमा तत्कालीन अस्ट्रिया–हंगेरीको मोरीभियाको फ्रेइबर्गमा भएको थियो । उनकी आमा अमेलिया न्याथन्सन थियो भने बुवाको नाम ज्याकोब फ्रायड थियो । उनी एक उन व्यापारीको रुपमा काम गर्ने गर्थे । सिग्मण्ड एक मनोविश्लेषक, मनोविश्लेषणका संस्थापक तथा बीसौँ शताव्दीका प्रभावशाली मनोवैज्ञानिक सिद्धान्तका प्रतिपादकका रुपमा चिनिन्छन् ।
सिग्मण्डको परिवार सन् १८६० मा भियनातर्फ बसाईँ सर्यो, जहाँ यहुदी विरुद्धका कानुनहरु अन्त्य गरिएको थियो । फ्रायडले भियनाका चिकित्सक जोसेफ क्रुबर को मातहतमा भियना विश्वविद्यालयमा चिकित्सा शास्त्रको अध्ययन गरे । सन् १८८२ देखि सन् १८८६ सम्म उनले जनरल हस्पिटलमा काम गरे र कोकेनमाथिको परीक्षण उनले आफँमाथि गरेका थिए । थप अध्ययनका लागि उनी सल्फेट्रियर हस्पिटलमा अध्ययन गर्नका लागि उनी पेरिस पनि पुगेका थिए ।
फ्रायडले पुस्तक सँगै आफ्नो भाषणका कारण लोकप्रियता पनि प्राप्त गरे । त्यसै क्रममा तत्कालिन समयको मूलधारको चिकित्सा समुदायको बहिष्कार पनि सहनुप¥यो । उनले आफूप्रति सहानुभूति राख्ने केही प्रतिभाशाली व्यक्तिहरु जम्मा गरे जो मनोविश्लेषणात्मक आन्दोलनका केन्द्रविन्दु बने ।
फ्रायडको स्वभाव अनौठो किसिमको थियो । आफूसँग पूर्ण रुपमा सहमत हुन नचाहने व्यक्तिहरुलाई फ्रायड तिरस्कार गर्थे । यसै क्रममा उनले आफूसँग मिल्ने धेरै मानिसहरु पनि गुमाउन पुगे । सबै मानव व्यवहार निश्चित प्रवृत्तिद्वारा हुन्छन् जुन मान्छेका भौतिक आवश्यकताका मानसिक अभिव्यक्ति हुन् भन्ने विषयमा फ्रायडको अध्ययन सूक्ष्म थियो । प्रारम्भमा उनले ती प्रवृत्तिहरुलाई जीवनप्रवृत्ति भनी नामाकरण गरे । यी प्रवृत्तिले व्यक्तिलाई खाना र पानी खोज्न प्रेरित गरी उसलाई बचाइराख्छन् ।
सन् १९२० को दशकबाट फ्रायडका कृतिहरुले मनोविश्लेषण सम्बन्धी विभिन्न किसिमका विचारहरु सिर्जना गरेका थिए । सन् १९२१ मा उनको ‘ग्रुप साइकोलोजी’ र ‘द एनालिसिस अफ इगो’ प्रकाशित भयो । त्यस्तै १९२७ मा उनले ‘द फ्युचर अफ एन इल्युजन’ नामक पुस्तक प्रकाशन गरे । ‘सिभिलाइजेसन एण्ड इट्स डिस्कन्टेन्टस’ १९२९ मा प्रकाशित गरियो । यी कृतिहरुमध्ये अधिकांश साँस्कृतिक विषयवस्तुसँग सम्बन्धित थिए । दोस्रो विश्वयुद्ध नजिकिँदै जाँदा भियना यहुदीहरुका निम्ति असुरक्षित बन्दै गएको थियो ।
विशेष गरेर फ्रायडजस्ता अन्य परिचित व्यक्तिहरुका लागि । त्यसको केही समय पश्चात् नै बंगाराको क्यान्सरका कारण फ्रायडको मृत्यु हुन पुग्यो । सन् १९२३ बाट नै शृंखलाबद्ध रुपमा उनका धेरै शल्यक्रियाहरु गरिएको थियो । फ्रायडका धेरै विचारहरु उनकै समय, काल र सँस्कृतिसँग बाँधिएका छन् ।
अन्य कयौँ धारणाहरु पनि त्यति सहज रुपमा परीक्षण गर्न नसकिने प्रवृत्तिका छन् । केही उनका व्यक्तिगत अनुभवमा पनि आधारित छन् । तथापि उनी मानव नियतिका एक उत्कृष्ट अवलोकनकर्ता मानिन्छन् । कयौँ वर्षसम्म पनि उनका विचारका सान्दर्भिकता समाप्त भएको छैन ।