विराटनगर, १ कार्तिक –
कोशी प्रदेश सरकारमा ९ मन्त्रालयमध्ये नेकपा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ ।
एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डा गर्न सकस पर्ने देखिएको छ । त्यसअघि अमंगलबार मुख्यमन्त्री कार्कीले एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी गरेका थिए । तर, सवै दलसँग छलफल टुंगिन सकेन ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने आसयसहित बुधबारका लागि प्रदेश सभा बैठक बोलाएका छन् । विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने बताइसकेको छ । कांग्रेसको संस्थापन पक्षले पनि विश्वासको मत दिने तयारी गरेको बुझिएको छ ।
एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती भण्डारीले मंगलबार मुख्यमन्त्रीको समय नभएकाले अव बुधबार बिहान बसेर छलफल गर्ने सल्लाह भएको बताए । एमालेले ५ वटा मन्त्रालयमा दाबी गरेको उनले बताए । ‘हाम्रै साथ र सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्नुभएको हो । त्यस्तो अवस्थामा एमालेले अहिले ५ वटा मन्त्रालय दाबी गर्नु स्वभाविक हो’, कार्कीले भने, ‘नौ वटा मन्त्रालयमा एमालेले ५ वटामा दाबी गरेपछि बाँकी मन्त्रालय मुख्यमन्त्रीले ककसलाई दिनुहुन्छ त्यो उहाँको कुरा हो ।’
कांग्रेसको शेखर समूहका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कोशीमा यसअघि एक वर्षको अवधिमा एमालेका हिक्मत कार्की र कांग्रेसका उद्धव थापा २र२ पटक मुख्यमन्त्री बनेपछि एमालेका कार्कीले दोस्रो पटक विश्वासको मत नपाउने स्थिति बन्दा राजिनामा गर्न पुगेका थिए ।