मुख्य लेख विचार/वहस

पद र सम्मानको लोलुपतामा आजको मानव

ओमप्रकाश गौतम

संसारमा रहेका सम्पूणर् प्राणीहरु मध्येको एउटा सामाजिक प्राणी मानव हो । जसको बुद्धि, विवेक, शिल्पकला, तीक्ष्ण कला यो जगतमा अरु कुनै प्राणीहरुको हुन्न । मानव एउटा अद्भूत शक्ति हो जसले विज्ञानलाई पनि आश्चर्यचकित बनाइदिएको छ । आज विज्ञानका नयाँ – खोज, अन्वेषण, प्रयोग भइरहेको बेला आजको मानवले आशातित परिवर्तित गरिदिएको छ । त्यही भएर मानव एउटा भगवान सावित हुन पुगेको छ । एउटा कुनामा बसेर सारा संसारलाई ग्लोबलाइजेसन गरिदिने तिनै मानव मस्तिष्क हुन जसले यो सारा संसारलाई हल्लाइदिएको छ । कसैले गर्नै नसक्ने काम आजको आधुनिक मानवले गर्यो , रिमोटमै सारा संसारलाइ चकित बनाइदिएको छ ।
यस्तोसम्म अलौकिक शक्ति हुँदासम्म आजको आधुनिक मानव मानव बन्नै सकेको छैन । उसले मानवको गरिमा, उचाईलाई हिँड्दैछ पाइला मेट्दैछ बनाइँदैछ हिजोआज । आखिर किन उ के कारणले मानवको असली पात्र हुन सकेन ? उसलाई सही ट्रयाकमा ल्याउने एउटा श्रमजीवी मानव समेतले आज कर्तव्यबोध गर्न सकेन । एकले अर्काको खुट्टा तानेर लडाउन उद्दत छ । यो सबैको कारकतत्व भनेको राजनीति नै हो । किनकि उसले राजनीतिमा मानवहरुको गरिमै बुझ्न सकेन उ दलको पिच्छ्लग्गु भयो, कर्तव्य भुल्यो । चाकरी, चाप्लुसी, पदलोलुपता, आश्वासनको पछि दगुरेर होला हिजोआज एउटा विद्वत बर्ग समेतले मानवको गरिमा बुझ्न सकेको छैन । मानवीय जीवन दर्शन, ज्ञान र विवेकका कुराहरु ब्याख्या गर्न जान्दाजान्दै उ आफै च्यूत भएको छ । सच्चा, देशभक्त, कर्तव्यपरायणता मानवले आफ्नो गुणको परिचय होइन, अर्को ब्यक्तिको यी गुण छन भने उसले उसैको बखान गर्न उद्दत छ । अरुले मागदर्शन गरेको कुरै सुन्दैन, उ नै एकोहोरो बोलिरहन्छ । यही भएर आजको सभ्य र सम्माननीय मानव विविध लोभ, लालचले गर्दा उसले समयलाई अहिले पनि चिन्न सकेको छैन । हिजोआज झुण्ड – झुण्ड तयार गरेर एउटा असल ब्यक्तिले पाउने मानसम्मानलाई जाल बुनेर यो, उ पार्टीको, त्यो पार्टीको हाम्रो होइन अर्कै पार्टीको हो भनेर राजनीतिक रङ्ग छरिरहेको छ । साँचो अर्थमा भन्नुपर्दा त्यो गर्नु उसको अज्ञानता हो, दम्भ र क्रुरता हो । त्यसले उसको कहिल्यै भलो गर्दैन । सिर्जनातत्व प्राणीमात्रको अपरिहार्य कुरा हो । यसलाई कसैले पनि मार्न वा रोक्न सक्दैन । तर आज मानवको सिर्जना कला भित्र – भित्रै दबाइएको छ , राजनीतिक रङ्ग लगाएर एकले अर्काको कला , सीप र क्षमतामा अवरोध सृजना गराइएको छ । आजको मानवलाइ अभावरुपी प्रेतले दिनका दिन सताइरहेको छ । जीवनलाई पूणर्तातिर लैजान साधन र स्रोतको आवश्यकता पर्दछ । जब मानवले चारैतिर अभावै – अभाव देख्दछ , त्यसबेला मानवभित्र रहेका आशा र आकांक्षाहरु क्रमशः बिलाएर जाने गर्दछन् । यो बिलाएर जाने बनायो पद र सम्मानको लालचाले । मैले यहाँ उठान गर्न खोजेको वस्तु यथार्थ कुरा के हो भने जो साहित्य सिर्जनामा अब्बल छैन, कुनै दलीय सिण्डिकेटमा लागेर सिर्जना गर्छ । न लेखमा दम छ, न शब्द संयोजनमा एकरुपता छ, तिनै शब्दमा शून्यता बोधहुनेहरु हिजोआज मैले सम्मान पाउनुपर्छ , मैले यति बर्ष भो लेख्न थालेको म नै सर्वैसर्वा हुँ भन्ने दम्भले गर्दा हिजोआज मानवीय गरिमा दिनप्रतिदिन क्षयीकरणतर्फ उन्मुख छ । आखिर किन जजमान गर्नु कसैको ? लेखनवृत्ति विकासका लागि लगनशीलता अनिवार्य छ ,जसले आफ्नो कलमी नीवलाई स्वतन्त्रताको आवाज मुखरित गर्छ, वास्तवमा उ नै समाजको ऐना हो उसले मात्र समाज चिन्छ, गुन्छ नजिकबाट बुझ्छ अनि लेख्छ शब्द शब्दमा । उ निर्भिक छ कोहिकसै सङ्ग डराउँदैन, कसैसङ्ग लेना देना छैन, न उसलाई कसैले लेखनवृत्ति विकासमा लेख्न सिकायो , उसको कलमै अजिवको छ जो शब्द संयोजनमा काँप्दैन अलिकति पनि हल्लिदैन । किनकि लेख्नका लागि ललाटमा योग्यताको कसी चाँहियो जसले कविता, कथा, उपन्यास, नाटक, निबन्ध, समालोचना राम्ररी बुझेको छ ।
तर हिजोआज जो गमेर, बुझेर लेख्छ उसले पुरस्कार पाउँदैन, छलछाम र छलडामले मानसम्मान पाएको अवस्था छ । अहिले हामी मानवलाइ झ्वाट्ट कसैले हेर्दा धेरै आदर्श र महान देख्न सक्छौ तर भनौ कि हाम्रा ब्यवहार देखावटी रूपमा आदर्शवादीभित्र देखा पर्न सक्लान् तर हामीभित्रका आदर्श र मान्यताहरु खिइँदै र नासिदो अवस्थामा छन । हामी यी यथार्थ कुरालाई बोध गरेर अघि बढन सकेका छैनौं । त्यो नै हामी सर्जकको गलत प्रवृत्ति हो । हामी राष्ट्र, जनता र समाजप्रति आदर्श बोकेर अगाडि बढनुपर्नेमा आज हामी जेमा पनि नारामै सिमित छौं । देखावटी व्यबहार एकप्रकारको र आन्तरिक सोचाइ अर्कै बन्दै गइरहेको हुनाले हामी राजनीतिक, धार्मिक र साँस्कृतिक पक्षको पद प्राप्तिमा लालयित बनेका छौं । वास्तवमा यही कारणले आज हाम्रा पार्टीहरुमा सबैभन्दा ठूलो रोग लागेको हो । पद प्राप्ति र सम्मान ग्रहणमा हाम्रो पार्टीलाई यति पद चाहिन्छ भनेर सामाजिक तथा धार्मिक संस्थामा भागबण्डाको खेलले सबै निकायमा राजनीतिको चलखेल उनीहरूलेनै गरेका छन् । हिजो कुनै दलमा बसेर ब्रह्मलुट गर्न नपाउनेहरु वल्लो कित्ता र पल्लो कित्तामा सर्ने गरेका छन् , पद प्राप्तिका लागि । यहीँ अहिले हामी कुनैपनि गुटबाट संचालित छौं । हामीले तीन ‘स’को अभियान, तीन जनको अभियान, तीन वादको अभियान, पदयात्राको अभियानलाई क्रमशः भाँडिरहेका छौँ । आजको मानव वस्तुगत संसारमा जन्मियो, हुर्कियो, अन्तरकृया गर्यो र आफ्नो परिवेशका बोली ठम्याइ सङ्गाल्दै गयो तर अनुशासन र गोपनियताको पाठ भने कहिल्यै सिकेन । अर्काको चरित्रहत्या गर्न सिवाय उसले केही सिकेन । उसलाई वर्तमान विश्व काम, क्रोध, लोभ, मोह र अहंकारमा दौडेको छ भन्ने ज्ञान छ तर उसले जीवन रहुन्जेल आदर्शको पाठ सिक्न सकेन । लडाइँ, झैझगडा, काटमारमा उद्दत छ आजको आधुनिक मानव । उ यो संसारमा त जन्मियो यो जानेर पनि उ आफैं मानव जादुगर बनेर जतासुकै सन्त्रास फैलाउन उद्दत भयो । उसले यो संसारमा कुनै दिन देह त्याग गर्नुपर्छ भन्ने सोचेन जीवनभर कुकर्म गर्यो । समाजका प्रतिष्ठित ब्यक्तिलाइ स्थान दिएन रातदिन ‘खुरापाती’ बन्न थाल्यो । अहिले आफै न घरको न घाटको भयो । आखिर के नै रै छ त मानव जीवन अहिले उ बुझ्दैछ , गम्दैछ । उसले इमान, जमान सबै गुमायो बल्ल थाहा पायो । पद र सम्मानको लोलुपतामा आजको मानव अझै रिले दौडमा छ । खोइ कहाँ गएर टुङ्गिने हो उसको जीवनयात्रा ?

omgautam497@gmail.com

You may also like