दमक, ५ पुस।
झापामा धान खेतीको क्षेत्रफल घटेपनि उत्पादन भनें बढेको छ । गत वर्ष ८६ हजार ६२५ हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ भएकोमा यो वर्ष ८५ हजार ७५० हेक्टर क्षेत्रमा धान लगाइएको छ । गत वर्ष चार लाख २७ हजार आठ सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो भनें यो वर्ष चार लाख ३३ हजार ८०९ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । अर्थात गत वर्षभन्दा पाँच हजार ९३४ मेट्रिकटनभन्दा बढी धान उत्पादन भएको कृषि ज्ञान झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
जस अनुसार यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलव ०५९ मेट्रिकटन पुगेको छ । गत वर्ष प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटन थियो । यसपटक समयमा रासायनिक मल उपलब्ध हुनु, सिँचाइका लागि समस्या नहुनुजस्ता कारणले क्षेत्रफल घटे पनि धानको उत्पादनमा वृद्धि भएको विष्टको भनाई छ । योसँगै किसानले धानको राम्रो मूल्य समेत पाएका छन् । यस वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ तोकेको छ । तर, कृषकले भने मध्यम धानको मूल्य तीन हजार ८०० रुपैयाँसम्म पाएको विष्टले बताए ।
१० वर्षअघिसम्म झापामा करिब ९० हजार हेक्टरमा धानखेती हुन्थ्यो । तर, पछिल्लो समय खेतीयोग्य जमिन मासेर जग्गा प्लटिङ गर्दै आवास क्षेत्रमा परिणत गरिँदा झण्डै पाँच हजार हेक्टर क्षेत्र घटेको छ ।
झापाका गौरादह, शिवसताक्षी, गौरीगञ्जमा तुलनात्मक रूपमा अन्य पालिकाभन्दा धान राम्रो फल्ने क्षेत्रमा पर्दछ ।