Banner अर्थ देश–समाज विविध स्थानीय

गौरादहमा सयपत्री फूलको आकर्षण ः बजार मूल्यभन्दा सस्तोमा माला बेच्दै

गौरादह, २४ कार्तिक

गौरादह नगरपालिका वडानम्बर ६ मा रहेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले तिहारलाई लक्षित गरी बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा सयपत्रीको माला बिक्री थालेको छ ।
सहकारीले भाडामा लिएको ५ कठ्ठा जग्गामा सयपत्री फूल खेती गरेर बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीले तिहारका लागि माला अर्डर गर्न थालेको संस्थाकी अध्यक्ष मीना ढकालले जनाइन् । उनले सहकारीले लक्ष्मीपूजा र भाईटीकाका लागि दुई सय मालाको फूल अग्रिम अर्डरसमेत लिइसकेको बताइन् । उनले अहिले सरदर १ सय रुपैयाँमा प्रति माला फूल बिक्री हुने गरेकोमा त्यस आधारमा त्यहाँको मालाको मूल्य ७० रुपैयाँ पर्ने उनले जनाइन् । सहकारीले ३० प्रतिशत कममा बेच्दा र स्थानीय ठाउँमै फूल किन्न पाउँदा स्थानीय उपभोक्तालाई लाभ पुग्ने अनि संस्थालाई पनि घाटा नहुने हुँदा सस्तो मूल्य निर्धारण गरिएको बताइन् । कसैलाई थुंगामात्र किन्नु परेमा सहकारीले प्रति थुँगाको मूल्य दुई रुपैयाँ तोकेको छ । गौरादह, गौरीगञ्ज, कमल र दमकमात्र नभई मोरङको रतुवामाई सहितका स्थानबाट पनि फूल खरिदका लागि ग्राहक आउने गरेको अवस्था दर्शाइन् । ‘सहकारीले उपभोक्तालाई सहुलियत मूल्यमा फूल र यसबाट बनेको माला बेच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष ढकालले भनिन् -‘त्यसैअनुसार हामीले बजारभन्दा सस्तो मूल्य निर्धारण गरेका छौंँ ।’ उपभोक्ता महँगोमा नपरुन् भनेर बिचौलियालाई फूल नबेचेको अध्यक्ष ढकालको जिकिर छ । भारतबाट तिहारका लागि आउने फूल निरुत्साहित गर्न सहकारीले फूलखेती गरेको र आफ्ना सदस्यलाई पनि सयपत्री फूलमा आत्मनिर्भर बन्न प्रोत्साहित गरिरहेको संस्थाको उद्धेश्य रहेको उनले दर्शाइन् ।
सहकारीले मुनाफाका लागि आउने व्यापारीहरुलाई तिहारमा फूल नबेच्ने र स्थानीय वरपरका पालिकाका उपभोक्तालाई सिधैँ बिक्री गर्ने नीति लिए अनुसार उपभोक्ताहरुको अर्डर धेरै बढेको छ । थोरै थोरै मात्रामा पूजाआजाका लागि यो बेला पनि फूल बिक्री भइरहेको छ ।

सहकारीका उपभोक्तालाई मात्र नभएर वरपरका पालिकाका मानिसलाई पनि सिधै फूल विक्री गरेर महंगोमा भारतीय माला किन्नु पर्ने वाध्यतालाई सहकारीले पन्छाउने प्रयास गरेको छ । सरकारले नेपालमै रहको फूले तिहार धान्नसक्ने भएकाले भारतबाट फूल नभित्र्याउन निर्देशन दिइसकेको अवस्थामा महारानीझोडाको काम सरकारको निर्देशन कार्यान्वयनमा सघाउने कार्य बनेको छ ।
रतुवामाईका गुणनिधि पौडेलले २० वटा मालाको अर्डर गरेका छन् । गौरादह ४ की भीमा खतिवडाले १० र गौरादह ५ का बाबुराम गौतमले ७ वटा माला अर्डर गरेर स्थानीय ठाउँमै माला पाउने भएकोमा खुसी छन् । खरिदकर्तामध्येकी भीमा खतिवडा भन्छिन् ‘ हामी दमक पुगेर कहिलेदेखिको ओइलिएको माला महंगोमा किन्नुपर्ने बाध्यता थियो । तर ताजा फूल गाउँमै सस्तोमा किन्नु पाउनु खुसीको कुरा हो ।’
सहकारीका प्राविधिक मनोज भट्टराईले टेनिस वल्ड जातको उन्नत प्रकारको फूलका २ हजार ५ सय विरुवा रोपिएको र हाल ढकमक्क फूलिसकेको जनाए । उनले एउटा बोटमा २५ देखि ३० वटा थुंगा लाग्ने भएको र औसतमा ७५ हजार थुंगा फूल हुने तथ्यांक प्रस्तुत गरे । बोटमा किरा हट्ने र थुंगा बढाउन भिटामिन समेत प्रयोग गरिएको सुनाए । ‘५ कठ्ठा जग्गामा लगाएको फूलले स्थानीय मागलाई धान्नसक्ने कुरा भएन । तर हामीले अवका बर्षमा कम्तिमा पनि गौरादहमा १० विगाहा जग्गामा फूल लगाउने वातावरण बनोस् भन्ने उत्प्रेरणाका लागि यो काम थाल्यौं ।’- उनले भने ।
पहिलो पटक परीक्षणका लागि सयपत्री फूलको खेती गरे पनि अर्को वर्ष खेती विस्तार गरेर जिल्लाभर पुग्ने माला उत्पादन गर्ने संस्थाको सोच समेत छ । झापामा तिहार र छठ पर्वमा धेरै मात्रामा सयपत्री फूल खपत हुने गरेकाले सयपत्री फूलको खेतीमा बजारको समस्या नभएको उनको बुझाइ छ ।
सहकारीको फूलबारीमा ठूला आकारका एकै दरका थुँगा सयपत्री फूलेका छन् । यहाँको सयपत्री फूलखेतीमा फोटो खिचाउनसमेत स्थानीय युवायुवती आउने गरेका छन् ।
यसैगरी मेचीनगर नगरपालिका-४ मा वडा कार्यालयले आफ्नै लगानीमा फूलखेती गरेको छ । आफ्नो वडामा बाहिरबाट फूल खरिद गर्नु नपर्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समेत सयपत्री फूलको तिहार लक्षित व्यावसायिक खेती भइरहेकाले झापा यसवर्ष फूलमा आत्मनिर्भर बन्ने अनुमान गरिएको छ ।
यता, मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले पनि सदा बर्षझैं यस बर्ष पनि मंगलबारेमा फूल खेती गरेको छ ।

You may also like