उर्लाबारी, २४ कार्तिक
सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले उर्लाबारी नगरपालिकाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
शैक्षिक गुणस्तर वृद्धिका साथै भौतिक तथा व्यवस्थापकीय पक्ष सुधार गर्ने उद्देश्यले नगर प्रमुख गंगाप्रसाद खरेलको रोहबरमा उर्लाबारीका सबै सामुदायिक विद्यालयका अध्यक्ष र प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच ३२ बुँदे करार सम्झौतामा अध्यक्ष र प्रअले हस्ताक्षर गर्दै शैक्षिक सुधारको प्रतिबद्धता जनाएका हुन् । विद्यालयको शैक्षिक क्रियाकलापलाई समयवद्ध, परिणाममुखी, मितव्यायी, पारदर्शी बनाउन नतिजामुखी कार्यसम्पादनमा आधारित करार सम्झौता गरिएको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
विद्यालयको दुरदृष्टिसहितको कम्तिमा पाँच वर्षे विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन गरी प्रत्येक वर्ष कार्यान्वयन गर्ने, वार्षिक कार्ययोजना र वार्षिक शैक्षणिक योजना अनुरुप शिक्षण सिकाइ प्रक्रिया अघि बढाउने, दैनिक रुपमा विषयगत शिक्षण सिकाइमा आउने समस्याको टिपोट गरी प्रअलाई बुझाउने, समस्या समाधानका लागि तत्काल कार्ययोजना बनाई कार्यान्वयन गर्ने, शैक्षिक सत्रको नतिजा विश्लेषण गरी विषयगत शैक्षिक सुधार गर्न सिकाइ उपलब्धी सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा प्रत्येक त्रैमासिकमा विद्यार्थीको प्रगति प्रतिवेदन सम्बन्धमा अभिभावकको भेला गरी समीक्षा गर्ने, शिक्षण सिकाइ सुधारका विषयमा महिनाको एक पटक शिक्षक स्टाफ बैठक बस्ने, प्रत्येक वर्ष गरिने सामाजिक परीक्षण तथा लेखा परीक्षण कार्यलाई परदर्शी र सहभागितामूलक बनाई तोकिएको कार्यविधि अनुरुप सम्पन्न गर्ने उल्लेख छ । साथै विद्यालयको सम्पत्ति लेखाजोखा गर्ने र अभिभावक एवम् सरोकारवालाको भेला गराई सार्वजनिक गर्ने, प्रधानाध्यापकले विषयगत शिक्षकहरुसँग अनिवार्य रुपमा वार्षिक करार कार्यसम्पादन सम्झौता गर्ने, विद्यार्थी भर्ना, अभिलेख, शिक्षक विद्यार्थी उपस्थिति, शिक्षकको खर्च भएको तथा सञ्चित रहेको विदाको अभिलेख, विद्यार्थी सिकाइ तथा नतिजाको अभिलेख, आय व्ययको अभिलेख, जिन्सी अभिलेख, छात्रवृत्ति वितरण अभिलेख लगायतका विद्यालयका अन्य महत्वपूणर् अभिलेखहरुको पारदर्शी ढंगबाट व्यवस्थापन गर्ने र प्रतिवेदन सम्बन्धित निकायमा समयमै पेश गर्नेलगायत उल्लेख छ ।
सो अवसरमा नगर प्रमुख गंगाप्रसाद खरेलले शैक्षिक सुधारका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकलगायत सबै पक्षको भूमिका उत्तिकै महत्वपूणर् हुने बताए । विद्यालयको भौतिक पूर्वाधारमा नगरपालिकाले सहयोग गर्ने बताउँदै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालय प्रशासन र व्यवस्थापन समिति दत्तचित्त भएर लाग्नु पर्ने उनको भनाई थियो ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलले सामाजिक विकासमा विद्यालयको भूमिका महत्वपूणर् हुने भएकोले सबैभन्दा पहिला विद्यालयको समग्र विकासमा नगरपालिकाले ध्यान दिएकाले सबैको साथ सहयोग हुनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले कार्यसम्पादन करार सम्झौताले सबैलाई जिम्मेवार बनाउने बताए । नगरपालिकाले प्रत्येक शाखा प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको बताउँदै उनले विद्यालय र प्रअबीचको सम्झौताले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने उल्लेख गरे ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक कृष्ण वर्देवाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख अशोक घिमिरेले सम्झौतामा रहेका विषयवस्तुका बारेमा जानकारी गराएका थिए ।