खेल मुख्य

आर्थिक समस्यासँग जुध्दै राधानगरमा फुटबल एकेडेमी

घनश्याम भण्डारी

उर्लाबारी, २४ पुस। बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिन्छन् । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराइरहेका छन् ।
मोफसलमा बढ्दो फुटबल खेलप्रति बालबालिकाको आकर्षणलाई मध्यनजर गर्दै जिल्ला फुटबल संघ मोरङले कात्तिक १२ गतेदेखि ‘अण्डर १३ एन्फा मोरङ फुटबल एकेडेमी’ सञ्चालनमा ल्याएको छ । जिल्ला सदरमुकाम विराटनगरभन्दा करिब ३० किलोमिटर टाढा बेलबारी ८ राधानगरमा रहेको सिंहदेवी बोडिङ स्कुलको सहकार्यमा राधानगरमा एकेडेमी सञ्चालनमा आएको हो ।
पर्याप्त आर्थिक अभावकाबीच मोरङमा आवाससहितको फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको सङ्घका उपाध्यक्ष नारायण लिङ्थेपले बताए । राज्यका तिनै तहले खेलकुदमा पर्याप्त लगानी गर्न नसकिरहेको अवस्थामा जिल्लाको खेलकुद विकासका लागि संघले पहिलोपटक एकेडेमी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
आवासको व्यवस्थासहित सञ्चालित एकेडेमी फुटबल खेलमा भविष्य खोज्नेको लागि आकर्षक गन्तव्य बनेको संघका जिल्ला अध्यक्ष सञ्जीव बुढाथोकीले बताए । उनका अनुसार जिल्लाका विभिन्न पालिकाबाट १३ वर्षमुनीका करिब चार सय जना १३ फुटबलप्रेमी विद्यार्थीबाट छनोट भएर आएका ३० जनालाई राधानगरस्थित खेल मैदानमा प्रशिक्षित गरिराखिएको छ ।
एसियाली फुटबल महासंघको सी लाइसेन्स कोचिङ कोर्ससमेत पास गरिसकेका प्रशिक्षक लिम्बूबाट आप्mनो छोरालाई प्रशिक्षित गराउने अवसर पाउँदा खुसी लागेको प्रशिक्षार्थी विजल श्रेष्ठका बुबा बाबुराम श्रेष्ठले बताए । ‘देशकै नमूनाको रुपमा जिल्ला फुटबल संघले सञ्चालन गरेको अण्डर १३ फुटबल एन्फा एकेडेमीलाई स्थायित्व दिलाउन केन्द्रबाट सहयोग जुटाउन लागिपरेका छौँ’, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य दीपेन्द्र धिमालले भने । उनका अनुसार फुटबल एकेडेमीका रुपमा अन्य ठाउँमा समेत एकेडेमी सञ्चालन भए पनि आवाससहितको नेपालकै पहिलो मोरङको बेलबारीमा मात्र रहेको छ ।
मोरङको सफलतासँगै देशका विभिन्न जिल्लामा स्थानीय सरकारको सहयोगमा एकेडेमी सञ्चालन गर्ने योजना रहेको धिमालले जानकारी दिए । ‘सुनसरीको धरानमा फिफा गोल प्रोजेक्टको योजनाअन्तर्गत ट्रेनिङ एकेडेमी सञ्चालनमा रहेको थियो’, उनले भने, ‘आर्थिक अभावका कारण हाल सञ्चालन हुन सकेको छैन ।’
केन्द्रीय सदस्य धिमालले प्रदेश सरकारले सहयोग गरे आगामी शैक्षिक सत्रदेखि प्रदेशस्तरीय फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार धरानको एकेडेमीबाट उत्पादित धेरै खेलाडी राष्ट्रिय टिमसम्म पुग्न सफल भएका छन् । अनिल ओझा, हेमन्त थापामगर, संजोग राई राष्ट्रिय टिममा सहभागी भइसकेका छन् भने हिसुव थपलिया र गोल रक्षकका रुपमा अभिषेक बराल हाल सहभागी छन् ।
विसं २०७४ देखि गत वर्षसम्म सञ्चालित बेलबारी ८ मा रहेको एम्ब्रियो फुटबल एकेडेमीमा ५० विद्यार्थी थिए । केहीले १५ वर्ष मुनि (अण्डर–१५) को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलसमेत खेल्ने मौका पाएको सिंहदेवी बोर्डिङका सञ्चालक एवं फुटबल अभियानका अगुवा सामाजिक अभियन्ता रविन थापाले बताए । फुटबल संघले जिल्लामा एकेडेमी सञ्चालन गरेपछि आफुहरुले संघलाई नै सहयोग गरिरहेको जनाए ।

You may also like