मुख्य

एकै परिवारका तीनमा जटिल रोगको समस्या

दमक, २५ पुस। झापाको दमक नगरपालिका वडा नम्बर १० शान्ति टोलका आर्थिक विपन्न अवस्थाको एक परिवारका तीनजनामा मृर्गाैला सहितका जटिल रोगको समस्या देखिएको छ ।

४८ वर्षीय धनबहादुर श्रेष्ठमा मासी (बोनम्यारो) को क्यान्सर भएको छ । दुई बर्ष अघि छठ पर्वको समयमा दमकको मावा नदी किनारमा भएको घटनामा १४ बर्षिय छोरा समेत गुमाएका धनबहादुर पुत्र वियोगको पीडासँगै बोनम्यारोको क्यान्सर देखा परेको हो । दुई साता अघि स्वास्थ्यमा अचानक समस्या आएपछि विराटनगरस्थित नोबल अस्पतालमा धनबहादुरको क्यान्सर पुष्टि हुनपुग्यो । धनबहादुरका दाजु रामकुमार श्रेष्ठको पनि एउटा मिर्गौला १७ वर्षअघि नै खराब भएर फँयाकिसकिएको छ । रामकुमार अर्काे मिर्गाैला जोगाउन ध्याउन्न छन् । उनले कडा परिक्रम गर्न समस्या छ । धनबहादुर र रामबहादुरका ७२ वर्षीय बुबालाई पनि चिकित्सकहरुले मिर्गौला खराब भएको बताउँदै उपचारका लागि वीर अस्पताल काठमाडौं लैजान सुझाव दिएपछि परिवारमा झनै चिन्ता थपिएको छ । गत शुक्रबार बाबुछोरा दुवैलाई एकैसाथ एउटै एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ ।

धनबहादुरको जाउलाखेलस्थित ब्लड एण्ड मल्टिस्पेशियलिष्ट अस्पतालमा डा. विशेष पौडेलको निगरानीमा उपचार भइरहेको छोरी दिपिका श्रेष्ठले जानकारी दिइन् । उनका बुबाको भनें वीर अस्पतालमा उपचार भइरहेको छ । धनबहादुरलाई असरका आधारमा ३ देखि ६ महिनासम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने प्रारम्भिक सल्लाह डाक्टरहरुले दिएका छन् । ‘हामीले यो अवस्थाको कल्पना नै गरेका थिएनौं आफना आमा बाबालाई बचाउने इच्छा कुन छोराछोरीको हुँदैन र ? तर आर्थिक कठिनाई हुने देखिएको छ ।’– धनबहादुरकी छोरी दिपिकाले सहयोगको अपेक्षा सहित भनिन् ।

दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी आफनो वडामा यस किसिमको एकै परिवारमाथि यति अप्ठ्यारो र संकटपूर्ण परिस्थितीको सिर्जना भएको घटनाले चिन्ता बढाएको बताए । भण्डारीले भने ‘श्रेष्ठ परिवारमाथि एकपछि अर्को गर्दै परेको यस्तो परिस्थितीको सामना गर्न परिवार एक्लैले नसक्ने भएका कारण स्थानीय जनप्रतिनिधि, युवा साथीहरु सबैले सहयोगको लागि जुटने निधो गर्नुभएको छ ।’

Author

You may also like