उर्लाबारी, २५ पुस। उर्लाबारी नगरपालिकाले पहिलो चरणमा १५ जना अशक्त अवस्थाका विपन्न परिवारको घर बनाइदिने गृहकार्य गरेको छ ।
यसको तयारीस्वरुप नगर प्रमुख गंगाप्रसाद खरेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला र अधिकृत मुरारी घिमिरेले उर्लाबारी ४ विशाल टोलका दुष्टिविहिन हेम बयलकोटीको हाल बसोबास रहेको घरको निरीक्षण गरेका छन् । अगरबत्ती, धुपलगायतका सामग्री डुलाउँदै बेचेर जीविकोपार्जन गर्दै आएका बयलकोटी श्रीमतीसहित घामपानी नछेलिने बाँसको टाँटीको घरमा बस्दै आएका छन् । बयलकोटी परिवारको दयनीय अवस्था निरीक्षण गरेपछि घर निर्माण कार्य तत्कालै सुरु हुने र अन्य परिवारको पनि पहिचान गरी घर निर्माण कार्यमा लाग्ने नगर प्रमुख खरेलले जानकारी दिए । टिन छानो, पक्कि वालसहितको भुँइ घर निर्माण हुने अधिकृत घिमिरेले जनाए ।