समाचार

दमकका अस्पतालमा पीपीईको समस्या PURBASANDESH.COM

दमक/ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम उच्च रहेसँगै त्यसका विरmद्ध लड्न झापाको दमकमा पनि उच्च सतर्कता अपनाइएको छ । यहाँका सरकारी तथा निजी अस्पतालमा स्थानीय तह र सरकारले गरेको आग्रह बमोजिम हेल्प डेस्क र आइसोलेसन कक्षको पनि व्यवस्था गरिएको छ ।
तर, यदि कसैमा कोरोना भाइरस सङ्क्रमण देखिए र तिनको उपचार गर्दा चाहिने ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई)’ को व्यवस्था नहुँदा भने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै समस्यामा पर्न सक्ने जानकारहरुले बताएका छन् ।
एम्बुलेन्ससहितको व्यवस्था
यसैबीच, दमक नगरपालिकाले कोही सङ्क्रमित भेटिएमा ती व्यक्तिलाई उपचारका लागि सरकारले तोकेको ठाउँमा पु¥याउन चालकलाई पीपीई सुविधासहितको एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । यस्तो एम्बुलेन्स दमक अस्पतालमा राखिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी गराइन् । यसका साथै दमक अस्पताल, आम्दा, लाइफलाइन, निम्स नेसनल लगायतका अस्पतालमा ‘फिवर क्लिनिक’ र २÷२ वटा आइसोलेसन कक्षको व्यवस्था पनि गरिएको उनले बताइन् ।
नगरपालिकाको सोमबार बसेको बोर्डको बैठकले यसै सातादेखि पशु बजार पनि नलगाउने निर्णय गरेको छ । नगरपालिकाले आइतबार नै खाद्यान्नको अत्यावश्यक पसलबाहेकका हाट बजार बन्द गर्ने निर्णय गरेको थियो । यदि कसैमा कोरोनाको सङ्क्रमण देखिएमा नगरपालिकाको स्वास्थ्य शाखा, सुरक्षाकर्मी लगायतसँग सम्पर्क राख्न पनि भनिएको छ ।
नगरपालिकाले सूचना प्राप्त गर्नका लागि छुट्टै हटलाइनको समेत व्यवस्था गर्ने निर्णय गरेको बताइएको छ । खासगरी सबै सर्वसाधारणले घरमै बस्ने, साबुनपानीले हात धुने, सकेसम्म सफासुग्घर रहने, माछा मासु धेरै पकाएर मात्र खाने लगायतका सतर्कता अपनाउन पनि उपप्रमुख अधिकारीले आग्रह गरिन् ।
पीपीई नहुँदा समस्या
पीपीई भन्नाले शङ्कास्पद बिरामी तथा रोग सङ्क्रमित बिरामीको प्रारम्भिक अवस्थादेखि नै उपचार गर्दा रोग नसरोस् भनेर प्रयोग गरिने सामग्री पर्दछन् । जसमा चिकित्सक तथा स्वास्थ्यकर्मीले शिरदेखि खुट्टासम्म लगाउने सुरक्षित बस्त्रलगायत पर्दछन् । त्यसमा गगल्स, मास्क, एप्रोन, पञ्जा, सुरmवाल, जुत्ता, गमबुट लगायत पर्दछन् । ‘तर यी र यस्ता सामग्रीको उपलब्धता अहिलेसम्म पनि हुन सकेको छैन,’ दमक–६ को एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलका सञ्चालक शेरबहादुर भट्टराईले भने, ‘यस्ता अत्यावश्यक सामग्री आवश्यकता अनुसार उपलब्ध नहुँदा त्यसबाट समस्या उत्पन्न हुनु स्वाभाविक पनि हो ।’
खासगरी पीपीई नहुँदा चिकित्सक र स्वास्थ्यकर्मीलाई नै रोग सङ्क्रमणको सम्भावना रहन्छ । यसका लागि सरकार र स्थानीय तहले नै आवश्यक मेडिकल तथा अन्य सामग्री व्यवस्थाका लागि पहल गर्नुपर्ने अस्पताल सञ्चालकहरुको भनाइ छ ।
तर, कोरोना भाइरसविरुद्ध लड्न सबै सरकारी र निजी अस्पताहरुबीच समन्वय गरिरहेको दमक नगरपालिकाले भने हाल दुई सेट पीपीई रहेको जनाएको छ । नगरपालिकाद्वारा गठित ‘¥यापिड रेस्पोन्स टिम’का सचिव रहेका नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले भने आफूहरुसँग दुई सेट पीपीई रहेको तर त्यो पर्याप्त नभएको जानकारी गराए । त्यसैले अझै धेरै र पुग्दोगरी पीपीई प्राप्त गर्नका लागि आवश्यक पहल भइरहेको पनि उनले प्रस्ट पारे । उनले यसको व्यवस्था गर्ने काम राज्यको भएकाले सम्बन्धित सरकारी निकायहरुसँग समन्वय गर्ने काम भइरहेको जानकारी गराए ।
सङ्क्रमित भेटिए रिफर गर्छौं
दमकका अस्पतालहरुका कोरोनाका बिरामी आए आफूहरुले अन्य ठूला र सरकारले तोकेका अस्पतालहरुमा रिफर गर्ने अस्पताल सञ्चालकहरुले बताएका छन् । दमक–८ को दमक हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष मोती बरालले आफ्नो अस्पतालमा हेल्प डेस्क र आइसोलेसन कक्षको व्यवस्था गरिएको जानकारी गराए । तर चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पोशाकसहितको पीपीई नहुँदा त्यसबाट सबैजसो अस्पतालमा प्रभाव पर्न सक्ने उनको भनाइ छ ।
दमक–९ स्थित निम्स नेसनल हस्पिटलका अध्यक्ष बलभद्र कोइरालाले आफूहरुको अस्पतालमा पनि पीपीई नभएको र तर ती सामग्री प्राप्त गर्ने र कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन नगरपालिकासँग समन्वय भइरहेको बताए । निम्समा पनि हेल्प डेस्क राखिएको र आइसोलेसन वार्डको पनि व्यवस्था गरिएको उनले जानकारी गराए ।
दमकका अस्पतालहरुले हेल्प डेस्कको माध्यमबाटै अस्पतालमा आउने बिरामी र सर्वसाधारणलाई कोरोना भाइरसबारे सचेत गराउँदै आएको पाइएको छ । त्यस्तै अस्पतालको गेटमा
खानेपानी ट्याङ्की राखेर साबुनपानीले हात धुने र सेनिटाइजरको समेत व्यवस्था मिलाइएको पाइएको छ । ‘अहिले हामीले गर्ने यत्ति नै हो । कोही बिरामी या सर्वसाधारणलाई चेकजाँच गर्दा शङ्का लागेमा सरकारले व्यवस्था गरेको ठाउँमा पठाउने हो,’ निम्सका अध्यक्ष कोइरालाले बताए ।
नगरपालिकाले छ¥यो स्प्रे
दमक नगरपालिकाले कोरोना भाइरसका कीटाणु मरुन् र अन्य ठाउँमा त्यो नफैलियोस् भन्नका लागि ‘डिसइन्फेक्सन स्प्रे’ गरेको छ । यस्तो स्प्रे खासगरी मानिसको बढी भिडभाड हुने ठाउँ जस्तै– अस्पताल, होटल, बैङ्क तथा सहकारी, विद्यालय लगायतका केही ठाउँमा सोमबारदेखि नै छर्न थालिएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बरालले जानकारी गराए । यो काम नगर प्रहरीले गर्ने पनि उनले खुलाए ।
दमक अस्पतालमा अभिमुखीकरण
यसैबीच, दमक नगरपालिकाले आफ्नो मातहतमा रहेको दमक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सोमबार कोरोना भाइरस सङ्क्रमण हुन नदिन र त्यसबाट अरुलाई बचाउन के गर्ने भन्ने बारेमा अभिमुखीकरण गराएको छ । अभिमुखीकरणमा दमक अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी गरी ४० जना सहभागी भएको नगरपालिकाले जनाएको छ ।
नोबेलमा पनि सतर्कता
मोरङको विराटनगरस्थित नोबेल अस्पताल तथा मेडिकल कलेजले पनि कोरोना भाइरस सङ्क्रमण हुन नदिन अस्पताल हातामा हेल्प डेस्क राखिएको र आइसोलेसन वार्ड व्यवस्था गरेको जनाएको छ । तर, कोही सङ्क्रमित आइहालेमा सरकारले तोकेका ठाउँमा उपचारका लागि रिफर गरिने सो अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले जानकारी गराए ।
राईका अनुसार अहिलेको अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मीका लागि पीपीई आवश्यक भएको र ती सामग्री अस्पतालमा उपलब्ध छैन । त्यसैले चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्धक्कसँग काम गर्न आवश्यक उपकरणहरुको व्यवस्था सकेसम्म चाँडो गर्नुपर्ने उनले बताए । यतिबेला कोरोनाको सङ्क्रमणको हल्ला चलेदेखि नै अस्पतालमा बिरामीको चाप घटेको पनि उनले बताए ।

Author

You may also like