लेख

सडक र सत्ताको अन्तर संघर्ष

किन चाहुरियो मरिच, आफ्नै पिरले– भनेझैँ नेपाली राजनीति पनि यति बेला आफ्नै कारणले चाहुरिन पुगेको छ । हुँदाखाँदाको बहुमत आफ्नै कारणले भताभुङ्ग र लथालिङ्गको अवस्थामा अन्यौलपूर्ण वातावरण भित्र रुमलिन पुगेको छ । अहम्ता एकलकाँटे, लिँढेढिपी अनि आफू मात्रै ठिक भन्ने सोच राजनीतिमा राखियो भने त्यो लाजनीति हुन्छ । एउटा क्रियाशील जीवन्त राजनीतिक दलभित्र विभिन्न अनि फरक फरक विचार बोकेका सारै धेरै मानिसहरुको बोलवाला हुने हुँदा अत्यन्त सोच पु¥याएर मात्र नेतृत्व वर्गले संगठन संचालन गर्नुपर्ने हुन्छ ।
सार्वभौम स्वतन्त्र, निडर र स्वाभिमानी नेपाली नागरिकको उत्पीडन र मुक्तिका लागि भनेर विगत लामो समयसम्म संघर्षहरु भए । अनि बलिदानीबाट प्राप्त भएको संविधान भाग्य र भविष्य निर्माण गर्ने भनि लेखिएको प्रारम्भिक चरणमा नै पहिलो गाँसमा ढुङ्गा भनेझँै हुनपुग्यो । गणतान्त्रिक व्यवस्थाको अभ्यास गर्ने र नयाँ संविधान कार्यान्वयन हुनु पर्ने समयमा नै दलहरुबिच महाभारत शुरु भयो । शोषित पीडित नेपाल समाजले खोजेको परिवर्तनको कार्यभार र दायित्व हुन पुगेको छ । तथापी यस कार्यलाई पूरा नगरी प्रतिनिधि सभा विघटन हुन पुग्यो । जबसम्म सहमतिबाट शान्ति स्थापना गर्न नसक्ने हो भने झन अशान्ति, गृहयुद्ध, वैदेशिक हस्तक्षेप हुने अवस्था पनि आउन सक्ने सम्भावना त्यत्तिकै रहन्छ ।
गणतन्त्र स्थापना भएपश्चात् नेपाली समाजले देशको आशलाग्दो विकास निर्माण खोजेको छ । त्यो विकास नेपालीले आफू नेपाली भएकोमा गौरव गर्ने राष्ट्रियताको कडी निर्माण भएको पराधिन अर्थतन्त्रको साटो स्वाधीन अर्थतन्त्र भएको राजनीतिक नेतृत्व, जनताप्रति इमान्दार भएको र जनताका आदेश पालना गरेको सामाजिक आर्थिक पालना गरेको रुपान्तरणमा दलहरु राष्ट्र र जनतालाई केन्द्रमा राखेर अगाडि बढेको हेर्ने हो । यसरी विकास निर्माण खोजेको नेपाली जनताले विकसित नेपाललाई नयाँ नेपाल भन्न रुचाएका छन् । यसर्थ नेपाली समाजले खोजे जस्तो विकसित मुलुक निर्माण गर्न मुलुकमा शान्ति प्रकृयाको सफलता अपरिहार्य नै छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना सरकार पार्नका लागि सबै जिम्मेवार राजनीतिक दलहरुको आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिकाको सबैले आशा गरेको हुन्छन् । आफू अनुकुल नहुँदा बिरालोझैँ म्याउँ म्याउँ गर्ने अनुकुल नहुँदा साँढेझैँ डुक्रने दलहरुको मौसमी आनीबानीका कारणले नै अहिलेको सहमतिको हलो अड्किएको हो ।
केही दल सडकमा डुक्रिँदैछन् भने सत्ताका मानिसहरु सत्ताको मातले आँखा बन्द गरेर उग्राउँदै लम्पसार भएर निदाएका छन् यतिबेला । आफ्नो अगाडि भएको नदेख्ने हुँदै नभएको कुरा खोज्दै हिंड्ने दलहरुको गतिविधिले गर्दा मुलुक संकट तर्फ उन्मुख हुँदैछ । मुलुकले सहमति खोजिरहेको छ । सहमतिको टुकी बाल्ने वित्तिकै अँध्यारो स्वतः हट्ने थियो । अँध्यारोलाई हटाउन कुनै ग्रन्थ रामायण पढ्नु पर्दैन । कुनै वाद र विश्लेषणको खाँचो आवश्यक पर्दैन तर समय केवल एक अर्कालाई गाली र अविश्वास गरेर नै बितिरहेको पाइन्छ । अँध्यारो राजनीतिमा उज्यालो प्रतिस्पर्धा कहिल्यै हुन सकेन, हरेक विरोध र समर्थन फगत निजी स्वार्थ मात्र बने  । मुलुक स्वार्थको नीतिगत योजनामा कहिले र समर्थन फगत नीजि स्वार्थमात्र बन्यो । मुलुक स्वार्थको नीतिगत योजनामा कहिले पनि बन्न सकेन जसरी भए पनि कुर्सीमा पुग्नैपर्ने, पुगेपछि छोड्नै नसकिने कस्तो नकचरो ठाउँ हो त्यो ? देश भिजन नभएका नेताले संचालन गरेको असफल लिमिटेड कम्पनी झैँ हुन पुगेको छ ।
राजनीतिमा कर्म हरायो, कर्मकाण्ड बाँचिरह्यो, आफ्नै दल र गुटका कर्मकाण्ड चलाइरहेका छन् नेताहरु । मुलुक बनाउने कर्ममा कोही छैनन् । सबै टाकुरे राजा जस्ता देखिन्छन् । के राजनीति सुन्नका लागि मात्र हो ? के राजनीति कानको व्यायामका लागि मात्र हो ? खोई राष्ट्रिय सवालमा एकबद्धता ? किताबमा गणतन्त्र राष्ट्रवाद र राष्ट्रिय एकताको हरफ लेखेर नयाँ नेपालको अर्थ खुल्छ ? यतिखेर आन्दोलनको भाव खल्लो भइरहेको छ । संस्थागत हुन लागेको गणतन्त्र फिक्का वनिरहेको छ । राजनीति रमिता र तमासा बनिरहेको छ । अब के का लागि सिद्धान्त के का लागि दल, अब फेरी जनताले विश्वास गर्लान ? यो युग वाद र सिद्धान्तको समय होइन । यो युग परिवर्तन व्यावहारिक जीवन अनि यथार्थको समय हो । विचारधारा भनेको सामाजिक चेतनाका विभिन्न रुपहरुको व्यवस्थित प्रणाली हो । उसले समाजमा विद्यमान निश्चित वर्ग समुदाय र समूहको राजनीति कानून, धर्म, दर्शन, नैतिकता र कलाको बारेमा धारणाहरुको प्रतिनिधित्व गर्दछ तर शान्ति र समृद्ध नेपालको विचारधारा अंगाल्ने नेपाली जनता प्रति काठ्माडौंको खुला मञ्चमा कुर्लेर मात्र हुँदैन । त्यसरी मात्र नेपाली समाज वास्तवमै नयाँ समाज बन्न कठिन हुन सक्दछ ।
नेपालमा बहुदलीय व्यवस्था स्थापना भएको पनि ३० वर्ष पूरा भइसक्यो तर अधिकांश नेपाली जनताले व्यवस्था परिवर्तनको कुनै अनुभूति गर्न सकिराखेका छैनन् । सिंहदरबारमा बस्ने पात्रहरु बद्लिएका होलान् तर प्रवृत्ति बदलिएका छैनन् । नयाँ शासन व्यवस्था पनि उहि पुरानै आत्मकेन्द्रित प्रवृत्ति बोकेका यथास्थितिवादी भ्रष्ट आचरण र निरंकुश चरित्र देखेर आमजनता आजित बन्दैछन् । जनता आन्दोलित हुँदैछन् र दिनप्रतिदिन कंगाल बन्दैछन् । लोकतन्त्रको धेरै महङ्गो बन्दैछ । जन आवाजको कदर कुनै राजनीतिक दलबाट भएको छैन । नेताजति पदालिप्सा र पदोलोलुपतामा फँसे । राजनीतिक मूल्य र मान्यता माथि प्रहार गर्दै व्यक्तिवादी र स्वच्छन्दवादी प्रवृत्ति हरेक दलका नेताहरुमा हावी भइरहेको छ ।
आपसमा एकले अर्कालाई गाली र दोष देखाउँदै सड्कमा कराउँदैछन् । सबैले आ–आफ्नै ठाउँमा कमि कमजोरी गरेका होलान् तर अब कोही पनि यस समस्याबाट पछि हट्न र चोखिन पाउने छैन । को को कति दोषी छन् । सो को हेक्का आम समुदायका सचेत वर्गलाई थाहा भइसकेको हुनाले अब आरोप प्रत्यरोपमा समय बिताउनु भन्दा राष्ट्र निर्माणमा सबै एक आपसमा सहयोगी हातहरु मिलाउनु नै सबैभन्दा उपयुक्त विकल्प हो यतिबेलाको राजनीतिको ध्रुवीकरण अहिले अलिक फरक ढंगबाट संञ्चालन भइरहेको छ । अबको राजनीतक गतिविधिहरु अब विगतको भन्दा अलिक फरक ढंगबाट अगाडि बढ्ने निश्चित नै छ । आ–आफ्नै ढंग र आफू अनुकुलताको राजनीतिक भाषा र व्याख्या यतिबेला गरिँदैछ । समग्रमा भन्दा यतिबेला नेपाली राजनीति समाजको आशा र विश्वासबाट भाग्दैछ । देशमा नयाँ शासन व्यवस्थाको सूत्रपात गर्न बलिदान गरेका शहिद ,घाइते , तिनका परिवार र नागरिक समाज सबैको सम्मान हुन अनि आवश्यक भइसकेको छ ।

You may also like