योङहाङ प्रदीप लिम्बू-
अहिले दमकको किरात भवनमा चुलाचुली रङ्गमञ्चद्वारा प्रस्तुत नाटक “झोडा“ मञ्चन भइरहेको छ । यस नाटकलाई लेजेण्ड सर्जक गणेश रसिकको कथाबाट सुमन लिङ्देनले नाट्य रुपान्तरण गर्नु भएको हो ।
मन्चन हुनु अगावै यो नाटक छलफलको अवस्थामा रहँदा स्क्रिप्ट पढ्ने मौका पाएको थिएँ । स्क्रिप्ट पढिसक्दै यो नाटक जसरी पनि हेर्छु भन्ने भइरहेको थियो ।
वर्तमान नेपालको स्थितिमा थुप्रै अभाव र समस्याहरूकोबीचमा कला प्रतिको सम्मान, इमान्दारिता र प्रेमको कारणले मात्रै कर्म भइरहेको छ । झन नाटक मञ्चन गर्नु त व्यवस्थापनको हिसाब र अन्य दृष्टिकोणले अझ गाह्रो कुरा हो भन्ने लाग्छ । व्यवस्थित थिएटरको अभावमा पनि “झोडा“ नाटक मञ्चन भइरहेको छ । कलाप्रतिको यो सम्मान/प्रेम/इमान्दारिताका लागि चुलाचुली रङ्गमञ्च परिवार, निर्माता साथै यस नाटकसँग जोडिनु हुने सबै सबैमा हृदय देखि नै सम्मान छ ।
नाटक हेरेपछिका केहि कुराः
झोडा बारे हामी थुप्रैले थुप्रै कुरा सुनेका छौँ । हामीले थाहा नपाएका तर जान्नै पर्ने/थाहा पाउनै पर्ने अन्य थुप्रै कुराहरू यस झोडा नाटकमा प्रस्तुत छ । यसैले यो नाटक हेर्नै पर्छ ।
किरात भवन व्यवस्थित थिएटर होइन, यसैले मञ्च व्यवस्थापनमा कठिनाइ पक्कै हुन्छ नै । ठिक यही समस्या देखियो । साउन्ड व्यवस्थापनमा केही समस्या देखियो जसले गर्दा “ युद्द छेडे जस्तो हैन र छ हौ माटो छोड्न छेप्पन ओस्ताज । बन्दुक र माटो फरक रहेछ । फलामले मुटुपनि त्यस्तै बनाउँदो रहेछ । माटोले माटो जस्तै कमलो । ‘जन्मेको माटो । हुर्केको ठाउँ । सिमेभुमे पुजेको गाउँ । हिँड्ने बेला मा त रुख पनि बोल्छ जस्तो लाग्ने र छ ।’ जस्ता अत्यन्तै मर्मस्पर्शी र वजनदार डायलगहरूले जति असर पार्न सक्नु पर्ने हो त्यति असर पार्न सकेन कि भन्ने लाग्यो ।


सोल्टी र सोल्टिनीबीचको ख्याली संवाद , तमोर माईको कथा खण्ड अझ वजनदार बनाउन सकिन्थ्यो भन्ने लाग्यो । मञ्चमा भएका चिजबिजका रुख, मुढा, बन्चरो आदि जस्ताका मोड्युलहरू खुब मन पर्यो ।
अभिनय त सबैको गज्जब थियो । नाटकको बीचभाग तिर धिमाल नृत्य प्रस्तुत गर्ने कलाकारहरू धिमाल समुदायकै पोख्त कलाकारहरू हुन् कि भन्ने लाग्नेस्तरको अभिनय साँच्चै गज्जब लाग्यो । यस नाटकमा सबैभन्दा जीवन्त अभिनय चाहिँ बाल कलाकार र लिम्बुनी बोजुको अभिनय लाग्यो । पहिरन, लवज र शरीरको चालढालले त्यहाँ साँच्चै नै कोही वुढी लिम्बुनी बोजु नै हुनुहुन्छ भन्ने अनुभुत भइरहेको थियो । साँच्चै गज्जब……..
नाटकमा लिम्बु भाषा र धिमाल भाषा पनि निक्कै प्रयोग गरिएको छ । दर्शकको असहजता भन्दा बढी कथावस्तु र पात्रको मौलिकतालाई प्राथमिकतामा राखेर मातृभाषालाई मज्जाले प्रस्तुत गरिएको कुरा खुब मन पर्यो । कलाकारहरूले मातृभाषाहरूलाई अत्यन्तै सहज तरिकाले प्रस्तुत गर्नु भो । जुन खुब मन पर्यो ।
अन्त्यमा , यो नाटक कुनै व्यवस्थित थिएटरमा प्रस्तुत गरिएको भए यसले छाड्न सक्ने प्रभाव अहिले जति छ, त्यो भन्दा साँच्चै हाइ भोल्टेजको हुन्थ्यो होला भन्ने लागिरह्यो ।
खैर ! नाटक औधी मन पर्यो । जसरी भएपनि हेर्नु होला । यदि यो नाटक हेर्न छुटाउनु भो भने केही साँच्चै सुन्दर कुरा छुटाउनु हुनेछ ।
सेवारो ! नोगेन !

You may also like