मुख्य

अपाङ्गगता १६५ लाई ह्विलचियर वितरण

 

दमक/ १५ औं ह्विलचियर दिवसको अवसर पारेर दमक नगरपालिकाले आपङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर वितरण गरेको छ । रोटरी क्लबको सहयोगमा दमकसहित प्रदेश १ को एक दर्जन विभिन्न जिल्लाका पालिकाहरुमा रहेका १६५ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विल चियर वितरण गरिएको हो ।

नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यता र नगर उप–प्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ह्विलचियर वितरण गर्दै प्रमुख अतिथि थापाले जोकसैलाई पनि यस्तो अवस्था आईपर्न सक्ने भन्दै अपाङ्गताको समस्या सबैको साझा समस्या भएको बताए । अपाङ्गता भएका व्यक्तिले पनि समाजलाई योगदान दिन सक्ने भएकाले उनीहरुको क्षमतालाई समाजका लागि उपयोग गर्नुपर्ने प्रष्ट पारे । दमक अपाङ्ग सहयोग समितिको समन्वयमा भएको ह्विलचियर वितरण कार्यक्रममा कलाकार मनोज गजुरेल, अपाङ्गताको क्षेत्रमा काम गर्ने प्रा.डा.तत्व प्रसाद तिम्सिना लगायतले बोल्दै कुनै पनि रुपमा मानवबीच भेदभाव गर्न नहुने बताए । शारीरिक रुपमा फरक भएपनि समाजमा सबैको योगदान उत्तिकै भएकाले बनावटका आधारमा विभेद गर्न नहुने धारणा राखे ।

 

शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई हिंडडुल गर्न सहज होस् भनेर ह्विल चियर वितरण गरिएको नगर उपप्रमुख रेगिना भट्टराईले बताइन् । यस्ता मानवीय सेवाका कार्यक्रमहरु गर्दा आफूलाई आत्म सन्तुष्टि हुने उनले प्रष्ट पारिन् । कार्यक्रमका संचालक तथा अपाङ्गता सम्बन्धी अधिकारका क्षेत्रमा क्रियाशिल मदन कुमार बोहोराका अनुसार व्हिलचियर वितरण गरिएका पालिकाहरुमा दमकसहित झापाको बुद्धशान्ति, शिवसताक्षी, कमल र गौरादह छन् भने मोरङको मिक्लाजुङ, इलामको चुलाचुली लगायतका पालिकाहरुमा रहेका शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्रिल चियर वितरण गरिने छ ।

You may also like