Banner

चर्को व्याज विरुद्ध आन्दोलनको उद्घोष

दमक/ बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर विरुद्ध दमकका उद्योगी ब्यवसायी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको युवा संगठन नेपालले आन्दोलनको उद्घोष गरेका छन् । मंगलबार दमक उवासंघ र युवा संगठन नेपालले दमकमा छुट्टा छुट्टै पत्रकार सम्मेलनको आयोजना गरी यस्तो उद्घोष गरेका हुन् । दमक उवासंघले आफ्ना मागहरुको सुनुवाई नभए ७ दिन भित्र जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ भने युवा संगठनले चरणवद्ध संघर्षका कार्यक्रम ल्याउने जनाएको छ ।
दमकका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको गलत मौद्रिक नीति र बैंकहरुले गरेको ब्याज बृद्धि तत्काल नघटाए सशक्त आन्दोलनमा जाने घोषणासमेत गरेका छन् । दमक उद्योग वाणिज्य संघले पीडितलाई न्याय दिलाउन आन्दोलनको नेतृत्व गर्ने संघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल गुरागाईले बताए  । दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरागाईले बैंकहरुले ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण गर्नुपर्ने माग मुख्य रहेको बताए । उनले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने क्रम चलिरहेको भन्दै यस्तो अवस्था आउनुमा राज्यको नीतिनै दोषी भएको आरोप पनि लगाए । उता युवा संगठनले भने आगामी वैशाख २ गते युवाहरुको मार्च पाससहित वृहत् प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
दमक उवासंघले भने विज्ञप्ति जारी गर्दै व्यवसायीहरुका मागका बारेमा पटक पटक कुरा राख्दा पनि हालसम्म गम्भीर चासो नदेखाइएको गुनासो गरिएको छ । सोही कारण दमक उवासंघ आन्दोलनमा जान बाध्य हुने अवस्था नआओस् भन्नका लागि सम्बन्धित निकायलाई बेलैमा सचेत गराइएको जनाएको छ । पत्रकार सम्मेलनमा उवासंघको यो कदमका बारेमा प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलाई पनि चाँडै जानकारी गराइने अध्यक्ष गुरागाईले जानकारी गराए । उवासंघको विज्ञप्तिमा भनिएको छ– ‘घरबेटी र स्थानीय तहले समेत व्यवसायीहरुको संरक्षणका लागि कर तथा भाडामा समेत छुटको व्यवस्था गर्नुपर्छ ।’
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठले साना तथा मझौला व्यवसायीहरु पछिल्लो समय प्रताडित हुनु परिरहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले समेत राज्यको गलत नीति तथा रवैयाका विरुद्ध सशक्त आन्दोलन छेड्न नसकेको बताए । उनले महासंघको कमजोर भूमिकाका कारण निजी क्षेत्रले राज्यपक्षबाट न्याय पाउन नसकेको भन्दै महासंघको आगामी केन्द्रीय नेतृत्वका लागि दमक उद्योग वाणिज्य संघको तर्फबाट आफूले उम्मेदवारी दिने घोषणा समेत गरे । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले व्यवसायीहरुको संरक्षणमा राज्यपक्ष गम्भीर हुुनुपर्ने अवस्था रहेको भन्दै ब्याजदर घटाएर पीडितलाई न्याय दिन राज्यपक्षले चासो दिनुपर्ने तर्फ ध्यानाकर्षण गराए । कार्यक्रममा लेखा समिति संयोजक नेत्र प्रसाद चौंलागाईले यो भयावह स्थिति धेरै टिक्न नसक्ने बताए । उनले चर्को ब्याज तिर्न नसक्दा उद्योगीहरु दिनप्रतिदिन ब्यवसाय छोड्न बाध्य हुनुपरेकोले यो अवस्थाको अन्त्य गर्नु अहिलेको आवश्यकता भएको बताए । संघले ऋणको पुनर्संरचना, पुनर्तालिकीकरणसंगै आंशिक धितो फुकुवा, बैंकको कोषमा लचकता र ऋण लिँदाको बखतको ब्याजदर कायम गर्नुपर्ने मागहरुलाई पनि सशक्त रुपमा अघि सारेको छ ।
अर्कातर्फ बढ्दो महंगी, कालोबजारी, भ्रष्टाचार, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध चरणबद्ध संघर्ष गर्ने युवा संगठन संयुक्त मेची कोशी व्युरो इन्चार्ज सुमन सिले बताए । सुमन सि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका छन् । युवा संगठनको पत्रकार सम्मेलनमा यही फागुन १२ गते सम्पन्न संयुक्त बैठकका निर्णयहरु सार्वजनिक गरिएको थियो, जसमा संगठनका झापा जिल्ला इन्चार्ज प्रशान्त सि, संगठनका केन्द्रीय कोषाध्यक्ष सुवास सि, कोशी व्युरो इन्चार्ज आकाश सि, झापा जिल्ला संयोजक सविन सि र मोरङ जिल्ला इन्चार्ज विपिन सि को उपस्थिति रहेको थियो । कार्यक्रममा वितरित विज्ञप्तिमा राष्ट्रियताको आन्दोलन पेचिलो बनाउँदै लाने र पहिलो चरणमा एमसीसी परियोजना विरुद्ध संघर्ष गर्ने उल्लेख गरिएको छ । त्यस्तै वैदेशिक रोजगारीका नाममा युवाहरुलाई विभिन्न म्यानपावरहरुले ठगी गर्ने तथा विदेशमा अलपत्र पार्ने कार्य तिव्ररुपमा अघि बढेकाले त्यसविरुद्ध पनि संघर्ष गर्ने भनिएको छ । युवाहरुको समस्या टिपाउनका लागि प्रत्येक व्युरोमा कल सेन्टर स्थापना गर्ने योजना पनि अघि सारिएको छ । त्यसैगरी युवाहरुलाई लागुपदार्थ दुव्र्यसनको लतबाट मुक्त गर्न नवजीवन निर्माण गृह संचालन गरी उत्पादनमा जोड्ने पत्रकार सम्मेलनमा युवा संगठन नेपालका झापा जिल्ला इन्चार्ज प्रशान्तले बताए  ।

You may also like