दमक, २९ पुस। इलामको फाकफोकथुम गाउँपालिका ५, लुम्दे घर भई पछिल्लो समय मोरङको पथरी शनिश्चरेलाई कर्मथलो बनाउँदै आएका विनोद राईले ‘द भ्वाइस अफ् नेपाल सिजन ५’को उपाधि जितेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्रान्ड फिनालेमा तीन फाइनलिस्ट मकरबहादुर योञ्जन, कुमार प्रयास राई र नोगेन लिम्बूलाई पछिपार्दै विनोदले उपाधि चुमेका हुन् । उनले उपाधिसँगै २० लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा मकरबहादुर फस्ट रनरअप, कुमार सेकेन्ड रनरअप र नोगेन थर्ड रनरअप भए । चारकोच मध्ये कोच मिलन नेवारको समूहबाट विनोद, राजेशपायल राईको समूहबाट मकरबहादुर, उदय सोताङको समूहबाट कुमार र प्रमोद खरेलको समूहबाट नोगेन फाइनलमा प्रवेश गरेका थिए । जहाँ विजेता छिनोफानोको लागि बढीमात्रामा भोटिङ प्रक्रिया आकर्षित थियो ।
सयौं नेपाली संगीत प्रतिभाको ‘करिअर सपना’ र लाखौं संगीतप्रेमी नेपालीले नजर गरिरहेको प्रतियोगिताको विजेता बनेसँगै विनोदलाई इलाम र मोरङबासीबाट बधाई र शुभकामनाको ओइरो लागेको छ । पथरी शनिश्चरेमा पत्रकार सन्तोष राईको संयोजकत्वको विनोद राई जिताऔं अभियान सञ्चालन भएको थियो । उनलाई जिताउन पालिका–पालिकामा विनोदका लागि भोट माग्दै कलाकार र उनका शुभचिन्तक दौडाहामा थिए । गृहजिल्ला इलामका पूर्वप्रधानमन्त्री खनालदेखि प्रतिनिधिसभा सदस्य बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर रानामगरलगायत राजनीतिक दलका नेता–कार्यकर्ता, विद्यार्थी, संगीतप्रेमी र सामाजिक अभियन्तालगायतले उनलाई जिताउन भोट दिन आग्रह गरेका थिए । विनोदलाई भोट दिएर जिताउन भन्दै सामाजिक सञ्जालमा प्रचार गरेका थिए । देशविदेशमा अभियान चलेका थिए । त्यस्का अभियन्ता सहित शुभचिन्तकहरुले पनि उसैगरी उनको जितमा खुसी मनाएर बधाई तथा शुभकामना प्रदान गरिरहेका छन् ।
यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका प्रतिभा विनोदलाई बधाई र शुभकामना दिएका छन् । खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाइँ–हामी सबैको प्रयासबाट सफल हुनुभएकामा विनोद भाइ तपाइँलाई बधाई छ ।’
इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पनि विनोदलाई बधाई र शुभकामना दिँदै भनेका छन्, ‘इलामले गायन प्रतिस्पर्धामा एकपटक राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरसम्मकै ध्यान खिच्न सफल भएको छ, बधाई छ विनोदलाई ।’
जुनसुकै काममा अत्यन्त मेहनती विनोद गायनलाई आफ्नो सबैभन्दा ठूलो रुचि ठान्छन् । यो प्रतिस्पर्धाको ‘ब्लाइन्ड अडिसन’मा चारै ‘कोच’को कुर्सी घुमाएपछि विनोद चर्चामा आएका थिए ।
विनोदको सांगीतिक यात्रा
इलामको फाकफोकथुम गाउँपालिका ५, लुम्देमा बुबा हरिबहादुर र आमा गौमतीको कोखबाट २०४७ कात्तिक १९ मा जन्मिएका विनोदले माध्यमिक तहको शिक्षा गाउँमै लिए । स्थानीय जालपा माध्यमिक विद्यालयबाट कक्षा १० उत्तीर्ण भएपछि ११ र १२ कक्षा पढ्न उनी मोरङको पथरीस्थित पञ्चायत मावि पुगे । त्यहाँबाट कक्षा १२ पास गरेपछि पथरी बहुमुखी क्याम्पसबाट मानविकी संकायको नेपाली विषय र शिक्षा संकायमा पनि स्नातक गरेका छन् ।
सानैदेखि गायनमा रुचि भएका विनोद गाउँघरमा घाँसपात गर्न जाँदा र साथीभाइ भेला हुँदा गीत गाएर सुनाउँथे । उनलाई सबैले गाउने हौसला दिन थालेपछि ‘इलाम आइडल’मा भाग लिए । अरू प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेपनि बिरामी परेकाले फाइनलमा सहभागी हुनै पाएनन् । तर, उनको सांगीतिक यात्रा रोकिएन । ‘नेपाली तारा सिजन ३’मा प्रतिष्पर्धा गरे । उत्कृष्ट सातमा पुगेर बाहिरिए । ‘यसबीचमा भएका केही सांगीतिक प्रतिस्पर्धाको नाम लिन चाहन्नँ,’ उनले भने ।
नियमित पढाइसँगै विनोदले पथरीको पूर्वाञ्चल संगीत विद्यालयमा भर्ना भइ संगीतको ‘कखरा’ सुरु गरे । अबोध पन्दाकले उनलाई ‘सरगम’को औपचारिक शिक्षा दिए । झापा दमकस्थित सुरवि संगीत विद्यालयमा अनिल फागोसँग उनले संगीतमा माझिने, थप सिक्ने र आफुलाई निखार्ने मौका पाए । त्यसपछि काठमाडौं गएर ललितकला क्याम्पसमा भर्ना भइ ‘भोकल’मा स्नातक गरे । उनले गीत–संगीतमा स्नातक हासिल गरेको सात वर्ष बितेको छ ।
सामान्य किसान परिवारमा जन्मेका विनोद चार दाजु–भाइमध्येका साहिँला हुन् । उनका तीन दिदी र एक बहिनी छन् । छ वर्षअघि भूटानबाट शरणार्थीका रुपमा झापा बेलडाँगीकी रेनुका राईसँग उनी विवाह बन्धनमा बाँधिएपछि उनको पछिल्लो समयको बसाई रेनुकासँग अमेरिकामा समेत हुने गरेको छ । ‘म भ्वाइस् अफ् नेपाल प्रतिस्पर्धामा जित्नका लागिभन्दा पनि सिक्नका लागि आएको बताउँदै उनले प्रतिष्पर्धामा आफुलाई समाहित गरेका थिए । ‘सुरुमै जितको लक्ष्य राख्ने हो भने आफूमा घमण्ड बढ्छ, त्यसैले यो प्लेटफर्मलाई मैले एउटा पाठशाला र महासागर ठानेर लागिपरें ।’– उनले भने ।