काठमाडौं, १९ असोज-
चलचित्र कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले चलचित्र क्षेत्रप्रति उदारता नदेखाएको भन्दै चलचित्र निर्माता संघले असहमति जनाएको छ ।
संघको पछिल्लोपटक बसेको कार्यसमिति बैठकले विधेयकलाई अस्वीकार गर्ने निणर्य गरेको अध्यक्ष नवल खड्काले जनाए । उनले यसपटकको विधेयकभन्दा २०२६ सालको चलचित्र कानून निकै प्रगतिशील भएको जनाउँदै हालको विधेयकले चलचित्र उद्योगको हित नगर्ने दावी गरे । विकास बोर्डको स्वायत्तताबिना विधेयकलाई चलचित्र क्षेत्रले मान्यता प्रदान नगर्ने संघको ठहर रहेको पनि उनले वताए । यस विषयमा संघले विज्ञप्ति समेत जारी गर्दै भनेको छ ‘संघीयताको मर्म विपरीत, चलचित्रकर्मीको सहमति, सहभागिता, मर्म, भावना र पेशागत सुरक्षाको प्रत्याभूतिबिना परिकल्पना गरिएको यो विधेयक कुनै पनि हालतमा अघि नबढाउन जोडदार माग गर्दछौं ।’

बोर्डले गत साता विधेयकको मस्यौदा वेबसाइटबाट सार्वजनिक गरेको थियो । उक्त विधेयकलाई लिएर फिल्म समीक्षक र अध्येताले पनि विरोध जनाएका छन् । यो मस्यौदाले वर्तमान परिप्रेक्ष्यमा नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विकास गर्न नसक्ने उनीहरुको भनाइ छ ।
विधेयकका विषयका सम्बन्धमा चलचित्र निर्माता संघको अगुवाइमा सम्पूणर् पेशागत संघसंस्था र चलचित्र क्षेत्रका विज्ञसँग गम्भीर छलफल भइरहेकाले चलचित्र विकास बोर्डलाई सञ्चार मन्त्रालयको एउटा विभागको रूपमा परिकल्पना गरिएको यो विधेयक चलचित्रकर्मीका लागि अस्वीकृत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Author

You may also like