दमक, १९ असोज-
झापाको दमक नगरपालिकाले नगरमा रहेका अपाङगता भएका ७२ जनालाई सहायता सामग्रीका रुपमा ह्वीलचियर प्रदान गरेको छ ।
नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले अनुगमन्पछि छनोटमा परेका अपाङगता भएका ७२ जनालाई मंगलबार र बुधबार उनीहरुको घर घरमै पुगेर १/१ थान ह्वीचियर हस्तान्तरण गरेकी छन् । असक्त अवस्थामा पुगेका ज्येष्ठ नागरिकहरुलाईसमेत ह्वीलचियर वितरण भएको छ ।
गत आर्थिक बर्षको बजेटबाट अपाङगता भएकाहरुसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा ६३ वटा र नगरपालिकाले सोझै ९ वटा ह्वीलचियर तथा आवश्यकताका आधारमा १० वटा लठ्ठी वितरण गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले जनाइन् । अब एउटा बेड र थप दुई वटा ह्वीलचियर अपाङगता भएकाहरुलाई घरमै पुगेर हस्तान्तरण गरिने उनले वताइन् ।
पछिल्लो तथ्याङक अनुसार दमक नगरपालिकाभित्र अपाङगता भएकाहरुको संख्या ७ सय बढी छ ।