देश–समाज मुख्य

झापा जिल्ला प्रशासन उत्कृष्ठको सूचिमा

दमक, १९ असोज-
जिल्ला प्रशासन कार्यालय झापा उत्कृष्ठको सूचिमा परेको छ । कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ ।
गृह मन्त्रालयको मूल्याङकनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो । उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९-८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् ।
३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।
असभ्य र अस्वाभाविक देखिने भड्किलो पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ । प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ । प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।
दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् ।
कतिपयले सूचनाका बारेमा थाहा नभएको भन्दै बुझ्ने गरेको तर केहीले सेवाग्राहीलाई दुःख दिएको भन्दै रिसाउने गरेको कर्मचारीहरु बताउँछन् । प्रशासन कार्यालय परिसरमा बुधबार भेटिएका केही सेवाग्राहीले भने प्रशासनको यस कदमको प्रशंसा गरेका थिए । उनीहरूले यो नियम सधैँका लागि हुनुपर्ने भन्दै अटेर गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

Author

You may also like