भूपेन्द्रराज तिम्सिना-
दमक, १९ असोज-
दमक नगरपालिका कार्यालयले नगरभित्र सञ्चालन हुने अटो रिक्सा तथा सिटी सफारीहरुको व्यवस्थापनका लागि स्थानीय लोगो (स्टिकर) टाँस गर्ने अभियान थालेपनि अझै तीन चौथाइको संख्या यसमा सहभागि भएको छैन ।
नगरले अटो र सिटी सफारी व्यवस्थापनमा १ महिनाअघिदेखि पहल थालेपनि हालसम्म चार भागको एक भाग मात्रैको संख्याले स्टिकर टाँस गरेको छ । सुरुको छलफलमा दमकभित्रै डेरामा बस्ने चालकहरुको सवाल छुटेको थियो । अस्थाइ बसोबास गरेर अटो र सिटी सफारी चलाउनेको संख्या पनि ठूलो रहेकाले हाल उनीहरुलाई व्यवस्थापन गर्ने विषय थप विषय वनेको छ । नगरमा स्थायी बसोबास गरेको प्रमाण पेश गरेर नगरपालिका कार्यालयमा अटो तथा सिटी सफारी दर्ता गर्न नगरले सूचना जारी गरेपछि डेरावालहरुमा समस्या आएको छ । अटो तथा सिटी सफारी सवैका लागि जतिखेर जहाँपनि उपलब्ध हुने स्थानीय क्षेत्रको यातायातको सजिलो साधन बनेपनि यसको व्यवस्थापन भनें चुनौती बनेको छ ।
नगरपालिकाको स्टिकर अनिवार्य टाँस नगर्ने अटो तथा सिटी सफारीमाथि असोज १९ बाट नगरपालिका कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी गराएको छ । तर आफुहरु दमकमा अस्थाइ रुपमा बसोबास गरेकाले बसाईं सराई कागज ल्याउन सम्भव नहुने सिटी सफारी चालक अजित राईले समस्या दर्शाए । उनले पूर्वसन्देशसँग भने ‘म व्यवसाय गर्न मात्र यता झरेको हो । मेरो परिवार पाँचथर घरमा छ । उनीहरु उतै बसेर घरधन्दा गर्छन् । सवै यता बसाईं सरेर आउने सोच नै छैन । यस्तो अवस्थामा बसाईं सराई अथवा भोटकार्ड यहाँको बनाउन समस्या छ ।’
उनले आफु नगरले स्टिकर टाँस्ने कुरामा सघाउने भएपनि कागजात बनाउने कुराले समस्या भइ व्यवसाय गर्न पाउने अधिकारबाट बञ्चित हुन नहुने तर्क राख्छन् । कागजातको समस्याका कारण अहिलेसम्म उनको सिटी सफारीमा स्टिकर टाँस भएको छैन । ‘यसखाले समस्या समाधानको कुनै उपाय नगरपालिकाले गर्नुपर्यो ।’- उनले अनुरोधको शैलीमा भने । उनले लाइसेन्सका लागि आवेदन फारम भरेका छन् । उनी विगत २ बर्षयता दमक २ मामाचोकमा बसेर सिटी सफारी चलाउँदै आएका छन् । अजित जस्तो समस्या भएका चालकहरुको संख्या निकै छ ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले डेरा बस्नेवाला चालकका विषयमा नगरपालिका कार्यालयले हाल नयाँ प्रावधान वनाउने निणर्य गरेको बताइन् । उनले अस्थाइ बसोबास गरेको अवस्थामा घर बहालको सम्झौता कागज तथा छोराछोरी समेत बसेर पढेको भए त्यस्तो शिक्षण संस्थाको विद्यार्थीको बारेमा सिफारिसको कागजात जुटाउदा हुने व्यवस्था गरिएको जानकारी गराइन् ।
दमकभन्दा बाहिरको अटो तथा सिटी सफारीहरुले दमक आइरहनु पर्ने अवस्था भएमा यात्रु पुर्याएर फर्किहाल्नका लागि रातो रङको स्टिकर प्रदान गरिएको छ । दमक क्षेत्रभित्र स्थायी बसोबास भएको देखिने कागजात सहित यातायात कार्यालयमा अटो तथा सिटी सफारी दर्ता भएको, चालकले चालक अनुमतिपत्र (लाइसेन्स) लिएको अवस्थाकोलाई हरियो रङको स्टिकर टाँस गर्ने गरिएको छ । नगरकै स्थायी बासिन्दा भएपनि लाइसेन्स बनाउन बाँकी रहेको अवस्था भए तीन महिनाभित्र लाइसेन्स बनाउने शर्तमा पहेंलो स्टिकर टाँस गरिने गरिएको छ । दमक ७ नम्बर वडा कार्यालयलाई स्टिकर व्यवस्थापन तथा वितरणको जिम्मेबारी दिइएको छ । नेपाली बाहेकका नागरिक, बृद्ध, अशक्त, नाबालकले टेम्पो तथा सिटी सफारी सञ्चालन नगर्न समेत जानकारी गराइएको छ ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा नगरपालिकाले सम्बन्धित पक्षलाई बारम्बार सूचित गरिरहेको र अटेर गर्नेहरुलाई जरिवाना सहितको कारबाही थालिने यसको अनुगमन् तथा कार्यान्वयनको जिम्मेवारीमा रहेको नगर प्रहरीका प्रमुख रुद्र कार्कीले जनाए । उनले भदौ १५ मा स्टिकर टाँसको निणर्य सहित पहिलो पटक १५ दिनको समयावधि राखेर आव्हान गरिएको जनाए । त्यसपछि पुन समय थप गरेर असोज १५ गतेसम्म स्टिकर टाँसिसक्न आव्हान गर्दै र १६ बाट कारबाही थालिने नगरले सूचना निकालेको थियो । व्यवसायीहरुलाई सहजता बनाउन पुनः ३ दिनको समय थप गरिएको उनले उल्लेख गरे । स्टिकर टाँस्ने अभियानका क्रममा दमकमा सञ्चालन हुने दमक नगर बाहिरका अटो तथा सिटीसफारी चालकहरुसँग छलफल गर्दै उनीहरुकालागि समेत समय थप गरिएको सुनाए । उनले भने ‘नगरभित्रका अटो र सिटीभन्दा बाहिरका बढी छन् । उनीहरुलाई कति शुल्क लिएर नगरमा दर्ता गराउने भन्ने विषयमा पनि थप छलफल गर्दै समग्र व्यवस्थापन गर्न नगर लागिपरेको छ ।’
दमक बाहिरका १ सय जना चालकले एकमुष्ठ निवेदन दिएको भएपनि यो संख्या ३ हजार हाराहारी रहेको नगरको अनुमान उनले सुनाए । जनप्रतिनिधिको अघिल्लो कार्यकालमा ८ सय वटा अटो तथा सिटी सफारी दर्ता भएको थियो । हाल दैनिक जसो सडकमा नगर प्रहरीको अगुवाइमा अनुगमन् गर्दै स्टिकर टाँस गर्न लगाउने काम भइरहेको छ । २ हजारको हाराहारीमा अटो र सिटी सफारी भएको आंकलन भएपनि हाल पछिल्लो कार्यकालमा ५ सयको संख्या मात्र नगरमा थप दर्ता भएको छ । सो सहित हालसम्म १ हजार ३ सयले स्टिकर टाँस गरेको नगरसँग तथ्यांक छ । नगरमा आवत जावत गरिरहने कुल ५ हजारको संख्यामा अटो तथा सिटी सफारी रहेको आकलनमाझ हालसम्म एक चौथाइले मात्र स्टिकर टाँस गरेका छन् । दमक बाहिरकालागि पूर्वाधार कर भनेर १ हजार ५ सय लिने प्रावधान वनाएको छ । स्थानीय स्थायी बसोबासीले १ सय मात्र बुझाउनु पर्ने व्यवस्था छ । डेरावालको सवालमा भनें के कति शुल्क लिने भन्ने निणर्य बाँकी छ ।
सुरुमा डेरावालाको विषयको कागजातको छुट्टै प्रावधान बारे निणर्य भएको थिएन । कागजात र शुल्कको निणर्य नै बाँकी रहेको अवस्थामा १ महिनाकै प्रचारात्मक समय अवधिमै जरिवाना गराउन थाल्नु न्यायोचित नभएको नेपाल अटो इरिक्सा चालक संघ दमक नगर अध्यक्ष नेपबहादुर सुनामले जनाए । उनले निर्वाचन क्षेत्रभरी अटो र सिटी सफारी चलाउन पाउने नियम वनाउँदा व्यवसायीका लागि सहज हुने धारणा राखे । उनले आफ्नो संघलाई नगरपालिकाले छलफलका बारेमा नबोलाएको र आफुले सवै विषय नगरले टुंग्याएपछिमात्र स्टिकर टाँस्ने बताए । नगरमा विभिन्न राजनीतिक दल निकट रहेका अटो तथा सिटीसफारीका ३ वटा संघ छन् ।