दमक/ कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नव–निर्वाचित सचिव हिक्मत कार्कीले एमालेको महाधिवेशनले हालको राजनीतिक परिस्थितिमा देखिएका भ्रम र चुनौतीलाई चिरेर नयाँ ऊर्जा र दिशा दिएको टिप्पणी गरेका छन्। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भएपछि पहिलोपटक दमकमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले महाधिवेशनका निर्णय, पार्टीको भविष्य र राष्ट्रिय राजनीतिक घटनाक्रमबारे विस्तृत धारणा राखे ।
मुख्यमन्त्री कार्कीले भने, “महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । यसले केवल नेतृत्व चयन मात्रै होइन, नीति, विधि र विधानमा सुधार र परिमार्जन गर्ने परम्परा सुरु गरेको छ।” उनका अनुसार एमालेले विधि, नीति र विधानका छुट्टाछुट्टै अधिवेशन गर्ने र केही महिनाको अन्तरालपछि पदाधिकारी चयन गर्ने परम्परा स्थापित गरेको छ।
“अघिल्ला अधिवेशनहरूमा पनि हामीले यही वैज्ञानिक प्रक्रियाबाट विधान तन्काएका थियौं । आलोचनामुक्त नभए पनि यसले संस्थागत अभ्यासलाई सुदृढ गरेको उनले बताए ।”
कार्कीले हालका केही नयाँ राजनीतिक दलहरूले पुराना दलहरू जनपक्षीय छैनन् भन्ने प्रचारमार्फत जनतामाझ भ्रम फैलाउने प्रयासलाई “हामीले साढे तीन महिनाको अवधिमा वडादेखि केन्द्रसम्मका जनप्रदर्शनमार्फत जनताले अझै पनि परम्परागत दलप्रति विश्वास राखेका छन् भन्ने सन्देश दिएका छौं।”
महाधिवेशनले “पुराना दलको सान्दर्भिकता सकियो, हामी नै सबै हौं” भन्ने नयाँ दलहरूको दाबीलाई अस्वीकार गरेको दावी पनि उनले गरे । उनले थपे, “वैज्ञानिक विचारधारा र सिद्धान्तमा आधारित दलहरू कहिल्यै अप्रासङ्गिक हुँदैनन् भन्ने कुराको पुष्टि यो अधिवेशनले गरेको छ।”
‘ओली विनाको एमाले र एमाले विनाको देश कल्पना बाहिर
मुख्यमन्त्री कार्कीले ११औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पुनः व्यापक जनसमर्थन प्राप्त भएको बताए । उनका अनुसार देशभरिबाट आएका दुई हजार दुई सयभन्दा बढी प्रतिनिधिहरूले ओलीको औचित्य र सान्दर्भिकता पुनः स्थापित गरेका छन् । “हाम्रो मूल्यांकन थियो— केपी कमरेडलाई दोहो¥याउने र ईश्वर कमरेडसहितको टिम बनाउने। उमेरको सीमाबारे पनि छलफल भयो, तर यो एकपटकका लागि संशोधन गरियो,” उनले भने ।
जेनजी आन्दोलनमा घुसपैठ भयो
मुख्यमन्त्री कार्कीले हालैका जनआन्दोलनहरूबारे पनि टिप्पणी गरे। उनका अनुसार, “युवा मुखडा बनाएर सञ्चालन गरिएको आन्दोलन नेतृत्वविहीन थियो। सरकारविरुद्धको गलत प्रचार फैलाइएको थियो।”
उनले त्यस घटनालाई लिएर शान्तिपूर्ण भईरहेको जेनजी आन्दोलन सकिएपछि संसद विघटनको माग गर्दै लेखिएका स्टाटस राखेर विध्वंस मच्चाएको र लोकतान्त्रिक प्रणालीविरुद्धको अहिले पनि केही व्यक्ति सामाजिक सञ्जालमा गलत सूचना फैलाई देश र प्रणालीविरुद्ध अभियान चलाइरहेका दावी पनि उनले गरे ।
‘प्रतिनिधिसभा पुनःस्थापना नै राजनीतिक समाधान’
मुख्यमन्त्री कार्कीले प्रतिनिधिसभा पुनःस्थापना नै संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र राजनीतिक विकल्प भएको बताए। उनका अनुसार, एमालेले जनपरिचालनमार्फत यस विषयमा जनादेश पाएको छ।
“पहिले हामीमाथि कांग्रेसको साथ छैन भनियो । तर अहिले कांग्रेस संस्थागत रूपमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा छ । १४६ सांसदको हस्ताक्षरसहित पुरक निवेदन दर्ता भएको छ,” उनले जानकारी दिए।
कार्कीका अनुसार, संसद पुनःस्थापित भएपछि संविधान संशोधन लगायतका विषयमा सर्वदलीय छलफलका माध्यमबाट समस्या समाधान गर्न सकिने आश्वासन पनि दिए । “हिजो जेनजीका नाममा बोल्नेहरू पनि अहिले हाम्रो मुद्दा जायज भएको स्वीकार्दै सडकमा ओर्लनुले एमालेका माग र मुद्दा सहि छन भन्ने प्रमाणित भएको बताए ।
कोशी प्रदेश सरकारको सहकार्य र चुनौती
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकार नेपाली कांग्रेससँगको पाँच वर्षे सहकार्य सम्झौताअनुसार अघि बढिरहेको बताए। “कांग्रेससँग सहकार्यका बुँदामा स्पष्टता छ। पुनर्गठन आवश्यक परे सहमतिबाटै गर्छौं,” उनले भने।
प्रदेश सरकारका चुनौतीबारे उनले भने, “बजेट घटेको छ।
‘एमाले एकताबद्ध भएर अघि बढ्छ’
कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री कार्कीले भने, “हार्नेहरू बाहिरिने, जित्नेहरू शासन गर्ने भन्ने हाम्रो संस्कृति होइन। विधानले सबैलाई स्थान दिएको छ। सबै रिङभित्रै छन्, कोही भाग्ने वा पलायन हुने कुरा छैन।”
उनले एमालेलाई पुनः जनपक्षीय पार्टीको रूपमा उभ्याउँदै आगामी निर्वाचनमा निर्णायक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “हामी जनताको साथमा छौं, वैज्ञानिक सोचका साथ देशलाई स्थायित्व, विकास र समृद्धितर्फ लैजाने छौं,” कार्कीको निष्कर्ष थियो।