समाचार

उत्कृष्ट आमा पुरस्कार: जत्नादेवी राईलाई

प्याउली,अनेकौं दुःख–कष्ट र अभावलाई झेल्दै आफ्ना सन्तानलाई शिक्षा दिलाउने शिक्षाप्रेमी आमालाई दिइने उत्कृष्ट आमा पुरस्कार श्री शारदा मावि प्याउली भोजपुरको सिफारिसमा जत्नादेवी राईलाई प्रदान गरिएको छ ।
पौवादुम्मा गाउँपालिका वडा नं. २ निवासी राईलाई दुई छोरी जन्मेपछि श्रीमानले छाडेर अर्कै व्यवहार गरेका थिए । एक्लो परिश्रमबाट छोरीहरु करुणा कक्षा १० मा र वरुणा कक्षा ८ मा अध्यायन गरिरहेका छन् । उनीहरु अनुशासित तथा पढाईमा उत्कृष्ट भएको शिक्षकहरु बताउँछन् ।
पुरस्कार दमक निवासी गञ्जबहादुर दाहाल र भाइ केशरबहादुर दाहालले आफ्ना स्वर्गीय माता लक्ष्मीमाया र स्व. पिता रत्नबहादुर दाहालको स्मृतिमा विगत ७ वर्षदेखि श्री लक्ष्मी–रत्न शिक्षाप्रेमी आमा सम्मान पुरस्कार दिंदै आएका छन् । विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने उक्त पुरस्कार नगद रु. १५,०००। र दोसल्लासहित सम्मान पत्र रहेको छ ।
विद्यालयको वार्षिकोत्सव मनाइरहँदा हावा–हुरीले निकै बाधा पु¥याएतापनि त्यसको प्रवाह नगरी विद्यार्थी भाइ बहिनीहरुबाट उत्कृष्ट नृत्यहरु प्रस्तुत भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद खनालको अध्यक्षता तथा अरुण गाउँपालिाकका अध्यक्ष गजेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रअ श्यामसुन्दर साहबाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै शिक्षक सन्तोष खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
सोही अवसरमा उत्तरकुमार खत्रीबाट आफ्ना पिता कृष्णकुमार खत्री र माता इन्द्रमाया खत्रीको नामबाट दिइने गरेको कक्षा ८ का उत्कृष्ट छात्र र उत्कृष्ट छात्रा २ जनालाई नगद रु. ३५०० का दरले पुरस्कार प्रदान गरिएको थियो ।

Author

You may also like