देश–समाज समाचार

पाँचथर बस दुर्घटनामा मृतकको संख्या चार पुग्यो

पाँचथर / पाँचथरको फिदिम नगरपालिका–४ सखरखण्डेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।

मृत्यु हुनेमा लेटाङ नगरपालिका–६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलामका ३४ वर्षीया प्रमीला देवान, उनको ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान नखुलेकी महिलाको मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारी अनुसार प्रज्ज्वलको पाथीभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रमिला र उनका छोराको जिल्ला अस्पतालमा तथा पहिचान खुल्न नसकेकी महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

सो दुर्घटनाबाट गम्भीर घाइते ११ जनालाई थप उपचारको लागि झापातर्फ पठाएको तथा अन्य घाइतेहरूको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसका चालकसहित ६१ जना घाइते भएका छन्। आज बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना भएको हो।

You may also like