उर्लाबारी, १९ असोज –
उर्लाबारीमा सञ्चालनमा रहेको १५ दिने निःशुल्क योग शिविरमा योग गरेर स्वस्थ्य बन्नका लागि स्थानीयको उत्साहजनक सहभागिता रहेको छ ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज कोशी प्रदेशको प्राविधिक सहयोगमा उर्लाबारी -४ को परिवर्तन टोल विकास संस्थाले उर्लाबारी क्याम्पसको प्राङ्गणमा निःशुल्क हठ योग शिविर सञ्चालन गरेको हो ।
विहान ३ देखि ५ बजेसम्म सञ्चालन हुने गरेको शिविरमा दैनिकरुपमा विद्यार्थीदेखि ज्येष्ठ नागरिक समेत ५ दर्जन भन्दा बढी स्थानीय उत्साहकासाथ सहभागि हुँदै आएका छन् ।
स्थानीयको उत्साहमाझ अघि बढेको शिविरमा समाजका कोशी अध्यक्ष योग प्रशिक्षक रुद्रवहादुर तामाङले स्वस्थ्य रहनका लागि योग अपरिहार्य सरह भएको भन्दै योगबाट हुने फाइदाका बारेमा जानकारी गराएका छन् ।
शिविरमा सहभागिहरुलाई केन्द्रीत गर्दै योग प्रशिक्षक तामाङले योगविना यो जीवन अधुरो रहने भन्दै योगको महत्व जान्दा-जान्दै पनि मानिसले यसमा कम ध्यान दिएको बताएका छन् । उनले योगद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक अर्कोसँग जोड्न सकिने उल्लेख गरे ।
ठूला-ठूला माहात्माले पनि योगको माध्यमबाट आफ्नो मन,मस्तिष्क, शरीरलाई स्वस्थ ढंगले आफ्नो बसमा राख्न सफल भएको बताएका छन् । प्रशिक्षक तामाङले ईश्वरको आराधनादेखि शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्दै तमाम बिमारीहरुको समस्या समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता रहेकोले योगको महत्त्व बढ्दै गएको बताएका छन् ।
परापूर्वकालमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरुले योगको सहारा लिने गरेको भन्दै उनले हाम्रो संस्कृति तथा विभिन्न धार्मिक मान्यताअनुसार पनि योगमा शक्ति रहेकोले यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग साँध्न सकिने बताएका छन् ।
योग केही शारीरिक व्यायाममा मात्र सीमित छैन भन्दै उनले स्वास्थ्य ठीक बनाउनका लागि पनि आवश्यक रहेको बताएका छन् ।
आफ्नो शक्ति सामर्थ्य अनुसार प्राप्त उठ्ने बित्तिकै हल्का व्यायम गर्नु राम्रो हो र यसले शरीरमा भएका सवै अंगलाई क्रियाशील बनाउँदछ भन्दै उनले स्वस्थ रहन र बाँच्न जति खानाको आवश्यक हुन्छ त्यो भन्दा बढी स्वस्थ रहन योगको खाँचो रहेको बताएका छन् ।
उनले योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएकोले यो वैज्ञानिक र व्यवहारिक रहेको बताएका छन् । उनले आत्म अनुशासन कायम गर्दै स्वस्थ र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक रहेको र योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्ने जानकारी दिएका छन् । मानिसका मनमा राम्रा-नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भए पनि योगले मनमा सकारात्मक भावनाको विकास गर्ने बताएका छन् ।
शिविरमा गायत्रा दहाल र जुनिता सुवेदीले पनि प्रशिक्षकका रुपमा योगअभ्यास गराएका छन् ।