दमक, २३ फागुन। मोरङको उर्लाबारीमा सम्पन्न कोशी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा दमक २ स्थित हिमालय माध्यमिक विद्यालय प्रथम भएको छ ।
काठमाडौँको थापाथलीस्थित पीईए एसोसिएसन प्रा.लि.को आयोजनामा सम्पन्न ‘पीईए इन्जिनियरिङ आईटी क्विज’ प्रतियोगितामा ३८ अङ्कका साथ हिमावि प्रथम भएको पीईएका फाइनान्स अफिसर राजन चालिसेले जानकारी दिए ।
उर्लाबारी नगरपालिका मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न प्रतियोगितामा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै कोशी प्रदेशभरका विद्यालयहरूबाट ४७ टिम सहभागी भएका थिए । भौतिक विज्ञान, रसायन विज्ञान र गणित विषयभित्रबाट वस्तुगत प्रश्न निर्माण गरी हाजिरीजवाफ गराइएको चालिसेले बताए । ‘कम्तीमा ब्याचलर नेपालमै अध्ययन गरुन् भन्ने हो,’ उनले प्रतियोगिता आयोजनाको उद्देश्य बताउँदै भने, ‘कक्षा १२ सक्नेबित्तिकै विदेश जाँदै सामाजिक र आर्थिक समस्या आउँदा रहेछन् ।’
प्रतियोगितामा हिमाविबाट छात्रहरू पङ्कज राजवंशी र सुशील चेम्जोङ तथा छिरिङ भोटे र अल्फ्रेड साङ्केन राईका दुई टोली सहभागी थिए । जसमा पहिलो टोली प्रथम भएसँगै हिमाविले दश हजार नगद र ट्रफी प्राप्त गरेको छ । २८ अङ्कसहित फस्ट रनर अप बनेको ग्लोबल एजुकेसन एकेडेमी दमक र सेकेन्ड रनर अप जितेको विराटनगरस्थित एभरेस्ट सेकेन्डरी स्कुलले पनि ट्रफी प्राप्त गरेका थिए । ‘यो जित सँगै विज्ञानमा हिमावि अब्बल रहेको प्रमाणित भएको छ,’ हिमावि विज्ञान विभाग संयोजक चुडामणि गुरागाईँले भने । प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले सहभागी छात्रहरूलाई धन्यवाद दिँदै हिमाविले अझै धेरै गर्न सक्ने प्रतिक्रिया दिए । पीईएका अफिसर चालिसेले विजेता टिमलाई कक्षा १२ को आगामी बोर्ड परीक्षापछि काठमाडौँमा हुने केन्द्रीय प्रतियोगितामा सहभागी गराइने जानकारी दिए ।