दमक, २४ असोज –
कृषि अध्ययन र अभ्यासका क्रममा एक महिना अघिमात्र इजरायल पुगेका विद्यार्थीमध्ये प्यालेस्टायनी कट्टरपन्थी समूह हमासको आक्रमणमा १० जनाले ज्यान गुमाएपछि पहिलेदेखि युद्धग्रस्त बनिरहेको सो क्षेत्रमा किन विद्यार्थी पठाइयो भन्ने प्रश्न उब्जिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट कमाएर पढ्न अर्थात ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत त्यहाँको कृषि फर्ममा काम गर्न उनीहरु इजरायल पुगेका थिए । शनिबारको आक्रमणमा १० जना मारिएपछि इजरायल जानु असुरक्षित हुनु हो भन्ने बुझाइ भएको छ ।
नेपाल र इजरालयबीच केयर गिभरका रुपमा नेपाली नर्सिङ जनशक्तिलाई लैजाने गरी १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । विश्वकै अब्बल मानने इजरायली कृषि प्रविधि भित्र्याउने उद्देश्यले इजरायलको प्राविधिक सहयोगमा ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेज’ खोल्ने समझदारी भएको थियो कम्तीमा ७ वटै प्रदेशमा यस्ता सेन्टर खोल्ने भनिए पनि सरकारले त्यसमा लगानी गरेन । त्यहीकारण इजरायली कृषि प्रविधि सिक्न नेपालीहरु इजरायल नै जानुपर्ने अवस्था रहिरह्यो । त्यसकै आधारमा अहिले पनि ४ हजार ५ सय ‘केयर गिभर’ त्यहाँ कार्यरत रहेको सरकारको भनाइ छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ सय ६८ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका थिए ।
श्रम सम्झौता २०७७ सालमा भए पनि इजरायलले त्यसअघि नै ‘लर्न एन्ड अर्न’ कार्यक्रममा नेपालीहरुलाई लैजाने गरेको थियो । सुरुमा त्रिभुवन विश्वविद्यालयसँग सहमति गरेर कृषि संकायका विद्यार्थीहरुलाई प्रशिक्षार्थी कामदारका रुपमा लैजान थालिएको थियो ।
त्यस अवस्थामा विद्यार्थीहरु उतै लुक्न थालेपछि इजरायल सरकारले साना किसान बैंकमार्फत प्रशिक्षार्थी कामदार लग्यो । तर त्यो क्रम केहि बर्षसम्म मात्र सञ्चालन भयो । त्यसपछि फेरि विश्वविद्यालयहरुमार्फत कृषि पढेका विद्यार्थीलाई ‘लर्न एन्ड अर्न’ कार्यक्रममा लैजान थालियो । इजरायलले अरु देशसहित नेपालको लागि पनि निश्चित कोटा छुट्याएको छ । नेपालका कृषि पढेका विद्यार्थीहरु काठमाडौंस्थित इजरायली दूतावासको सहजीकरणमा ११ महिनाका लागि जान पाउँछन् ।
कार्यक्रमका लागि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकाय र सुदूरपश्चिम विश्वविद्यालयका इच्छुक विद्यार्थीबाट इजरायलका सम्बन्धित तालिम केन्द्रले छनोट गरेर लैजाने गरेका छ । सम्झौताअनुसार ‘एग्रिकल्चर ट्रेनिङ सेन्टर’हरुले विद्यार्थीलाई हप्ताको एक दिन सैद्धान्तिक पढाइ र पाँच दिन काम दिन्छन् । एक दिन बिदा समेत दिने व्यवस्था छ ।
यो वर्ष कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका ११९ जना, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकायका ९७ र सुदूरपश्चिम विश्वविद्यालयको ४९ जना विद्यार्थीले इजरायल जाने अवसर पाएका थिए । विश्वविद्यालमार्फतका विद्यार्थीलाई ‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा पठाइएको थियो । सोही ट्रेनिङ सेन्टरमार्फत एलुमिन फार्ममा काम गरिरहेका १७ जना विद्यार्थी आक्रमणमा पर्दा १० जनाको मृत्यु भयो भने चार जना घाइते भए । दुई जना सुरक्षित छन् भने एक जना अझै सम्पर्कविहीन छन् । उता, रामपुर र त्रिविका विद्यार्थी भनें हालसम्म सुरक्षित रहेका छन् ।

Author

You may also like