मुख्य शिक्षा

विद्यार्थी र विद्यालयको हितमा एकजुट हुन सहमत

दमक, २९ पुस ।
मोरङको पथरी शनिश्चरे ९ रिंगुवास्थित सिंहबाहिनी माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी र शिक्षकहरुले त्यहाँका भूतपूर्व तथा वर्तमान विद्यार्थी/शिक्षकमा आइपर्ने समस्या समाधान तथा विद्यालयको गुणस्तरीय शिक्षामा टेवा पुर्याउने काममा सहयोग गर्न एकमत जाहेर गरेका छन् ।
सो विद्यालयको पहिलो र दोस्रो वर्षको एसएलसी परीक्षा समूहका विद्यार्थीहरुको संयोजनमा सुनसरीको इटहरीस्थित तालतलैया क्षेत्रमा शुक्रबार आयोजित ‘विद्यार्थी पुनर्मिलन तथा वनभोज कार्यक्रम’मा सहभागि शिक्षक र विद्यार्थीहरुले सो कुरामा एकमत जनाएका हुन् । कार्यक्रममा सो विद्यालयका पूर्व प्रधानाध्यापक प्रा.डा. मोहन तुम्बाहाङ, जगतमणि गौतम, पूर्व शिक्षक भगतचन्द्र थपलिया, लेखनाथ भट्टराई र तारानाथ बरालले भूतपूर्व भइसकेका विद्यार्थी तथा शिक्षकको ३३ वर्षपछिको पुनर्मिलन कार्यक्रमले आत्मियतालाई पुनजागृत गराएको बताउँदै हर्ष प्रकट गरे । उनीहरुले विद्यार्थी र शिक्षकहरु विरामी पर्दा र सृजनात्मक कामका परिआउने आर्थिक सहितका समस्या समाधान तथा विद्यालयको गुणस्तरीय शिक्षामा टेवा पुर्याउने भूतपूर्व विद्यार्थीहरुको अभियानमा पूणर् साथसमर्थन रहने बताए ।
कार्यक्रममा सहभागि पूर्व विद्यार्थी र हालका शिक्षक उपेन्द्र बस्नेत, पूर्व विद्यार्थी एवं हालका क्याम्पस प्राध्यापक सुरेश कटुवालले विद्यालय, विद्यार्थी र शिक्षकका समस्यामा निरन्तर लाग्ने कुराको उद्घोष गरे । उनीहरुको उद्घोषमा साथमासाथ मिलाउँदै पूर्व विद्यार्थी एवं हालकी कोशी प्रदेश सदस्य गीता तिम्सिनाले भावुकता प्रकट गर्दै आफु पनि यसखाले काममा अगाडि रहने जनाइन् । सांसदको रुपमा नभई पूर्व विद्यार्थीको हैसियतामा बोल्न रुचाएकी उनले मञ्चासिन पूर्व शिक्षकहरुप्रति आभार व्यक्त गर्दै पुनर्मिलन कार्यक्रमले आत्मियता बढाउँदै पुरानो अवस्थामा आफुलाई फर्काएर संघर्षका कथा सम्झाएको स्मरण गरिन् ।
कार्यक्रमको संयोजन गरेका दोस्रो वर्ष ( ०४८) का एसलसीका अगुवा राजकुमार राई तथा पहिलो वर्षको एसएलसी ( ०४७) का अगुवा सूर्यबहादुर राई सहितले यसखाले जमघटको रमाइलोसँगै विद्यार्थी, शिक्षक र विद्यालयका लागि दिगो हुने हिसावले के गर्न सकिएला भन्ने प्रस्ताव राखेका थिए । यसअघि गठन समेत भएको पूर्व विद्यार्थीको समूहसँग छलफल तथा सहकार्य गरेर ठोस योजना तय गर्न सहभागि सहमत भएका छन् । कार्यक्रमका लागि काठमाडौंबाट आएका पूर्व विद्यार्थी हाल जिफन्टका अगुवा गोपाल कार्कीले निकै भावुकता प्रकट गर्दै सवैको सहकार्यमा दिगो काम गर्ने कुरामा सहमत जनाउँदै विदाई गीत प्रस्तुत गरेर भावविह्वल वातावरण बनाएका थिए । कार्यक्रममा सन्तोष राईले गीत, भूपेन्द्रराज तिम्सिनाले गजल, चन्द्रकला राईले कविता प्रस्तुत गरेका थिए । सहभागिले आफ्ना पहिलेका गतिविधिको स्मरण गराउँदै भावुकतापूर्वक आफ्ना अनुभूति प्रस्तुत गर्दै यसखाले भेटले जीवनको यात्राको क्रममा थप आत्मियता र उर्जा मिलेको भनाई राखे ।
कार्यक्रममा, विद्यालयका दिवंगत भएका ७ जना पूर्व शिक्षकहरुको सम्मानमा मौनधारण गर्दै गुरुहरुप्रतिको श्रद्धालाई थप श्रद्धामय बनाइएको थियो । बेलायतमा रहेका पूर्व विद्यार्थी उत्तर लिम्बूले कार्यक्रमका लागि यातायात व्यवस्थापनमा आर्थिक सहयोग पुर्याएका थिए । कार्यक्रममा देशका विभिन्न ठाउँ र विदेशबाट समेत आएका पूर्व विद्यार्थी तथा शिक्षकहरु गरी ५६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा १ लाख ६ हजार संकलित भएकोमा ७८ हजार ७ सय खर्च भई २७ हजार ३ सय रुपैयाँ बचत रहेको छ ।

You may also like