म एमाले र राप्रपाको साझा उम्मेदवार

होम बहादुर थापा आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्वर ५ ख बाट नेकपा एमालेका उम्मेदवार हुन् । एमाले प्रदेश नम्वर १ कमिटीका सदस्य थापालाई एमालेसंग तालमेलका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि साथ, सहयोग र समर्थन छ । हाल दमक निवासी थापाले साविक कोहबरा गाविसको अध्यक्ष, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसद हुँदा प्रतिनिधि र ओली प्रधानमन्त्री हुँदा प्रम सचिवालयमा बसेर विकास हेर्ने अधिकारीका रुपमा समेत काम गरिसकेका छन् । लामो समयसम्म जनताको बीचमा रहेर काम गरेका उनै थापासंग जनज्योति साप्ताहिकले गरेको कुराकानी:
========================================================================

प्रदेश सभा सदस्यमा तपाईको उम्मेदवारी किन ?
मलाई प्रदेश सभा सदस्यका लागि नेकपा एमाले र राप्रपाले साझा उम्मेदवार बनाएका छन् । त्यस अर्थमा म दुई दलको उम्मेदवार हुँ । भनौं साझा उम्मेदवार हँु । मैले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसद हुँदा उहाँको प्रतिनिधि र प्रधानमन्त्री हुँदा प्रम सचिवालयको विकास हेर्ने अधिकारीका रुपमा रहेका काम गरिसकेको छु । त्यो बेला झापामा धेरै बाटा र पुलहरु निर्माण भएका छन् । विकास निर्माणका धेरै योजनाहरु परे । ति कतिपय निर्माणाधीन अवस्थामा छन् भने कतिपय निर्माण भइसकेका छन्  । राष्ट्रिय गौरवको योजनाका रुपमा दमकको भ्यू–टावर, दमकमा योजना रहेको मदन भण्डारी रंगशाला, दमक सभाहल, कमल–५ को आदिवासी रंगशाला, नेपाली चीन औद्योगिक क्षेत्र, दमक अस्पताल, कमलमा रहेको आयुर्वेदिक अस्पतालका भवन निर्माणका काम भएका छन् ।
ितर कतिपय अधुरा योजनाहरु पनि रहेका छन् । हिमालय मावि, ढुकुरपानी मावि, सरस्वती मावि, दमक बहुमुखी क्याम्पसमा थप भवन निर्माण गर्ने काम अधुरो छ । वर्तमान गठबन्धन सरकारले बजेट कटौती गरेको छ । काम पूरा भएर पनि केही ठेकदारहरुले भुक्तानी नपाएको अवस्था छ । माथिका अधुरा कामहरु पूरा गर्ने र विकास निर्माणमा अधिकतम बजेट छुट्याएर योजनाहरु पार्ने मेरो योजना छ । यि लगायतका कार्य गर्नका लागि मेरो उम्मेदवारी हो  ।

बाँकी थप योजना पनि छन् कि ?
—हामीले दमकमा बहुतले बसपार्क बनाउने, कमलमा चिल्ड्रेन प्याराडाइज निर्माण गर्ने लगायतका ४१ वटा योजना बनाएका थियौं । तर अहिले ति सबै योजनाहरु गठबन्धन सरकारले कटौती गरिदिएको छ । हामीले चुनाव जितेर सरकारमा गएपछि यि काटिएका योजनाहरु पुनःस्थापित गर्नेछौं । कार्यान्वयन पनि गरेर जनताको मुहार उज्यालो बनाउनेछौं ।

तपाईले चुनाव जित्ने आधारहरु के के छन् ?
—हाम्रो पार्टी नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका र जनसरोकारका धेरै नमुनायोग्य कामहरु भएका छन्  । स्थानीय तह र प्रदेशमा पनि मेरै पहलमा धेरै योजनाहरु परेर सम्पन्न भए । जनतामा एमालेले हाम्रा लागि काम गर्छ भन्ने विश्वास छ । अर्को हाम्रो पार्टी संगठन पनि अरुभन्दा धेरै मजबुत छ । मेरो व्यक्तिगत इमान्दारिता पनि छ । मैले क्ुनै ठेक्का पट्टामा कमिशन खाएको छैन । कुनै पनि सार्वजनिक सम्पत्ति आफ्नो नाममा दर्ता गरे÷गराएको छैन । जनताको काम गर्दा कसैबाट पैसा लिएको छैन । एमाले एक्लै हुँदा पनि यो क्षेत्रमा हामीनै बलिया थियौं । झन अहिले त राप्रपाको समेत साथ मिलेको छ । सांसदको प्रतिनिधि भएर काम गर्दा कसैलाई काखा, कसैलाई पाखा गरेर काम गरेको छैन । अन्य दलमा आस्था राख्नेहरुको काम पनि गरिदिएकाले मेरो जित्ने आधार बलियो छ । यो क्षेत्रमा मेरो मत विपक्षीको भन्दा १५ हजारले बढी आउने हाम्रो आंकलन छ ।

कमलमा आदिवासी रंगशाला बन्न दिएन एमालेले भन्ने आरोप छ नि ?
—यो सरासर गलत कुरा हो । कमलमा आदिवासी रंगशाला बनाउन दमक नगरपालिकाको सभाहलमा विभिन्न राजनीतिक दल र आदिवासी जनजाति अभियन्ताहरु र एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतबीच एउटा सहमति भएको थियो । जसमा ४ विगाहा जग्गामा आदिवासी जनजाति स्मृति पार्क बनाउने, उत्खनन् गरेका चिहानको शिलालेख बनाउने, तोकिएको जग्गामा मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला र बाँकी १० विगाहा जग्गामा धार्मिक वन बनाउने भन्ने कुरा रहेको थियो  । तर पछि एमालेको समर्थन बढ्छ र त्यसको लाभ उसलाई हुन्छ भनेर होला, आदिवासी रंगशालाका नाममा राजनीतिकरण गरियो र विवाद गर्ने काम गरियो । तर एमालेले आदिवासी रंगशाला कमलमानै बनाउँछ । दमकमा मदन भण्डारी रंगशाला बनाउँछ किनकि सरकारको नीतिनै छ, हरेक पालिकामा एक÷एक वटा रंगशाला बनाउने भन्ने  । तर अहिले त पाँच दलीय गठबन्धनको सरकार छ, तर खोई त यि रंगशालाहरुलाई बजेट छुट्याएको ?

तपाई चुनाव जित्छु भन्दै हुनुहुन्छ, तर दमक र कमलमा पनि मुख्य पदमा एमालेले हा¥यो नि ?
—पालिकाहरुमा उम्मेदवारको आकांक्षा राख्ने थुप्रै नेता कार्यकर्ताहरु हुनुहुन्थ्यो । इच्छा व्यक्त गर्नेहरुको ठूलो संख्या थियो  । तर पार्टीले सबैलाई टिकट दिन सक्दैनथ्यो  । सोही कारण केहीले मात्र उम्मेदवारी दिन पाउनुभयो । तर सामान्य असन्तुष्टी रहेपनि कसैले पनि चुनावमा उठेका पार्टीका नेता कार्यकर्ताहरुलाई असहयोग गर्ने काम भएको छैन, भएन । बरु उम्मेदवारी दिन नपाउनेहरुलाई हामीले राम्ररी सम्झाएका छौं, अन्य दलका असन्तुष्टहरुलाई पनि भेटेर एमालेका पक्षमा मतदान गर्न भन्यौं । प्रचार प्रसार मतगणना सबै काममा हाम्रो संलग्नता सहभागिता रह्यो । तर अहिले एमालेको नेता कार्यकर्ताहरुको असहयोगका कारणले चुनाव हारियो भनेर जुन भ्रम छर्ने काम भएको छ, त्यो सरासर गलत छ, यो हल्ला मात्र हो ।

तपाईका नयाँ योजनाहरु भने के के छन् ?
—शिक्षाका क्षेत्रमा भन्ने हो भने दमक–४ मा बनिरहेको दमक बहुप्राविधिक शिक्षालयको निर्माण पूरा गर्ने, सामुदायिक विद्यालय सबैमा प्राविधिक धारको शिक्षा प्रदान गर्ने, विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्ने, दमक अस्पतालको स्तरोन्नति गर्ने, त्यहाँ रहेको स्वास्थ्य बीमाको कार्यक्रमको बेथिति हटाउने, निःशुल्क औषधिको व्यवस्था गर्ने, सुकुम्बासुी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जाको व्यवस्था गर्ने, साना ठूला नदी खोला किनारमा बस्ने सुकुम्बासीहरुलाई सोही ठाउँमा बसोबासको व्यवस्था गर्ने, फुसको छाना हुनेलाई जस्ता पाता उपलब्ध गराउने, बाटो, खानेपानी, विद्युतको व्यवस्था गरिदिने, ढलको उपयुक्त व्यवस्थापन गर्ने , लागुपदार्थ दुव्र्यसनको रोकथाम, नियन्त्रण र पुनःस्थापना गर्ने लगायतका योजनाहरु रहेका छन् ।

अन्त्यमा भन्नुपर्ने केही छ कि ?
—अन्त्यमा मेरो भन्नु के छ भने नेकपा एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लिएर अघि बढेको पार्टी हो  । यसले देश र जनताको समुन्नतिका लागि मात्र कार्य गर्दछ । एमालेले विगतमा गरेका ज्येष्ठ नागरिकलाई भत्ता, आफ्नो गाउँ आफैँ बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएकै हो । त्यसका आधारमा आम नेपाली मतदाताहरुले हाम्रो पार्टी र उम्मेदवारहरुको मूल्यांक न गर्नुपर्छ । हामीले जनताले दिएको मतको सदुपयोग गर्नेछौं । सबै मतदाताको शिर उच्च राख्नेगरी काम गर्नेछौं ।
प्रस्तुती: पंकज दाहाल

 

Leave a Reply

Your email address will not be published.