तिहारमा करोडौंको फलफूल आयात

दमक/ देश हरेक कुरामा परनिर्भर छ । आत्मानिर्भर हुने सम्भावना प्रशस्तै भएर पनि परनिर्भर हुनु पर्ने विडम्वना रहीरहेको छ । सामान्य सामग्रीहरुमा पनि नेपालबाट अरबौं विदेशिने गर्छ । कुनै पर्व तथा चाडवाडहरुमा पनि विदेशबाट आउने समानकै भर पर्नुपर्छ । भर्खरै नेपालीहरुको महान पर्व तिहार मनाइयो । तिहारमा चाहिने फलफूल मात्रै करोडौं रुपैयाँको भित्रिएको एक तथ्यांंकले देखाएको छ । काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको बताउँछन् नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौंका अध्यक्ष अम्मर बानियाँ । कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ । उनका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन् ।
तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिएको छ । ‘२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ । तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो । मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।
अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । उनको अनुमानका अनुसार १५ करोड रुपैयाँको चिनियाँ स्याउ काठमाडौं उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् । नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै ४० करोड रुपैयाँका पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा तीन करोड रुपैयाँको नेपाली केरा भित्रिएको छ ।
पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी) मार्फत् मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ । बजारमा नेपालीभन्दा भारतीय केरा महङ्गोमा भए पनि उपभोक्ताले किन्ने गर्छन् । सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ । त्रिवेणी, टिकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ । तर त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ । भारतीय केरा महाराष्ट्र, आन्द्र प्रदेबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ ।
भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको बानियाँको भनाइ छ । ‘अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ । उनले भने । व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँ भन्छन, ‘भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ । उनीहरुको केरा हेर्दै किनौंकिनौं लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ । तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापरवाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन्, जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन् ।
त्यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड रुपैयाँको सुन्तला भित्रिएको थियो । मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए । उनका अनुसार अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ । त्यस्तै लक्ष्मी पूजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ । यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँचरछ थरिका फलफूल सो बजारमा मात्रै रु ७५ करोडको आयात भएको भन्दै उनले भने, ‘तिहारमा मात्रै कूल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै  ७५ करोड रुपैयाँ भन्दा बढीको व्यापार हुन्छ ।’

भारतबाट ३ लाख बढी माला आयात
तिहारका लागि भारतबाट ३ लाख बढी माला आयात भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार यस वर्षको तिहारका लागि अपुग ३ लाख माला आयात भएको हो । तिहारमा यसपटक २० लाख सयपत्रि फूलको माला खपत हुने एसोसिएशनको आँकलन छ । जसमध्ये स्वदेशमा उत्पादित सयपत्रीबाट १७ लाख माला बन्ने र बाँकी ३ लाख माला आयात गर्नुपर्ने एसोसिशएनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।
प्रतिगोटा ४० देखि ५० रुपैयाँ पर्ने २० लाख सयपत्री मालाको कूल मूल्य ११ करोड हुने आउने बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष मालाको मूल्य प्रतिगोटा १० देखि २० रुपैयाँ बढेको बताइएको छ । गत वर्ष सयपत्रिको प्रतिगोटा मालाको मूल्य ३० रुपैयाँदेखि ४० रुपैयाँ कायम थियो । गत वर्ष करिब १० करोड रुपैयाँ बराबरको १८ लाख सयपत्रि माला बिक्री भएको थियो । यसवर्ष गत वर्षको तुलनामा मालाको माग झण्डै ११ प्रतिशतले बढेको एसोसिएशनले जनाएको छ । यसैगरी, यो वर्षको तिहारमा करिब १५ हजार गोदावरी फूलको माला बिक्ने एसोसिशएनले जनाएको छ । र, यसको मूल्य प्रतिगोटा ४०० रुपैयाँका दरले करिब ८० लाख रुपैयाँ हुने बताइएको छ । यस्तै, करिब १ लाख मखमली फूलको माला बिक्ने र यसको मूल्य प्रतिगोटा ४० रुपैयाँका दरले १ करोड ७० लाख रुपैयाँ बराबरको माला बिक्ने एसोसिएशनको भनाइ छ ।
९ करोडको बदाम आयात
चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो । यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.