धनकुटे कान्छा-
केही दिन अघि ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली तथा समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा स्थानीय क्षेत्रका भाषा, साहित्य, कला, संस्कृतिसँग सम्बन्धित संस्थासँग सहकार्यका सम्भावना र कलाको खोजका लागि केन्द्रलाई स्थानीय क्षेत्रसँग जोड्ने प्रस्तावसहित आउनु भएको थियो ।
दमकमा भाषा, साहित्य, कला, संस्कृतिको स्थानीय सरकारबाट समिति गठन रहेको उहाँहरुको बुझाइ रहेछ । दमक सधैँ भाषा, साहित्य, कला, संस्कृतिमा चर्चा भइरहने क्षेत्र भएर पनि र दमक प्रज्ञा प्रतिष्ठान पहिले गठन भएको बुझ्नु भएकोले पनि उहाँहरुको बुझाइ गलत थिएन् । ०७४ मा जनप्रतिनिधि निर्वाचित भएपछि नगर मातहत प्रतिष्ठान बनेपनि त्यसको ४ बर्षे कार्यकाल समाप्त भयो । जनप्रतिनिधिको त ५ बर्षे कार्यकाल सकिएर अर्को कार्यकालका प्रतिनिधि आएको पनि १ बर्ष कटिसक्यो । ऐन नै बनाएर नगरले पास गरेको अवस्थामा प्रतिष्ठानको नयाँ समिति निर्माण नगरिँदा दमकमा स्थानीय क्षेत्रको भाषा, साहित्य, कला, संस्कृतिको प्रवद्र्धनमा बिडम्बना मान्नु पर्छ ।
हामीले उहाँहरुलाई स्थानीय सरकारले गर्ने सहकार्यको विषयमा केही बोल्न नसके पनि व्यक्तिगत तथा दमकका साहित्यिक संघ/ संस्थाबाट सक्दो सहयोग र सहकार्य हुन सक्ने कुरा बतायौँ । स्थानीय हाम्रा रैथाने कलालाई जीवनसँग जोड्न साथै यहाँका कलाकारलाई केन्द्रसम्म जोड्न उहाँहरुले कार्यक्रम ल्याउने कुरा राख्नु भयो ।
हामीले छिट्टै स्थानीय सरकारले भाषा, साहित्य, कला, संस्कृतिको समिति बनाउने र केन्द्रसँग सहकार्य गर्ने विश्वास पनि सुनायौँ ।
भाषा, साहित्य, कला,संस्कृति मुलुकको गहना हो । जो भए पनि कमसेकम स्थानीय क्षेत्रमा सक्षम प्राज्ञिक व्यक्तित्वहरुको समिति बनोस् । दमकलाई चिनाउने विषयमध्ये भाषा, साहित्य, कला, संस्कृति पनि हो । यसलाई गठन गर्ने कार्य ढिलाइ वा आलटाल नभए राम्रो हुन्थ्यो । कमसेकम स्थानीय क्षेत्रमा प्राज्ञिक गतिविधि बढ्थे । र, केन्द्रबाट आउने प्राज्ञिक व्यक्तित्वसँग छलफल गर्ने, सहकार्य गर्ने साथै स्थानीय क्षेत्रको प्रबर्द्धन गर्ने एउटा आधिकारिक थलो बन्थ्यो । यस्ता विषयमा आफ्नो ठाउँको गौरव र गरिमालाई सोचौँ । यदि राजनीतिक सन्दर्भले बिगारेको भए यस्ता विषयलाई राजनीतिक विषयभन्दा माथि सोचौँ । कतिपय विषय राजनीतिभन्दा माथि र राजनीतिलाई असलमा व्यवहारिक बनाउन पनि सहयोगी बन्न सक्छन् । यस विषयमा तपाईंको धारणा के छ ? तपाईंको धारणा पनि आओस् ।