मुख्य राजनीति

सनाखतमा आङ्बो पक्ष नगएपछि कार्की मुख्यमन्त्री

विराटनगर, २७ असोज –
नेकपा एमालेको साथ पाएर नेपाली कांग्रेस पक्षबाट विद्रोह गरेका सांसद केदार कार्की शनिबार विहान कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार सांसद कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिनेमा कांग्रेसका ८ सांसद सहित एमालेको मुख्य समर्थनमा त्यो संख्या पुर्याएर कार्की मुख्यमन्त्री बन्न सफल भए ।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समेत दाबी पेश गरेको भएपनि उनी आफ्नो पक्षमा बहुमत नपुग्ने देखेर सनाखतमा सहभागि भएनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शिर्ष नेताहरुसँग छलफल गर्दै कांग्रेसको नेतृत्वको पालो आएकोमा त्यसै गर्न निर्देशन दिएका थिए । तर त्यसलगत्तै गठवन्धनले माओवादीका आङ्बोलाई समर्थन गरेर जानेखाले रणनीतिक योजना बनाएर निणर्य गर्यो । पहिले २ पटक मुख्यमन्त्रीमा विश्वासको मत लिन नसकेको र गलत प्रक्रियाबाट समेत विश्वासको मत लिएको भन्दै उद्धव थापाप्रति पुनः विश्वासको मत नजुट्ने अवस्था बुझेर माओवादीलाई समर्थन गर्न निणर्य भयो । तर त्यस कुरामा शेखर कोइराला पक्षधरले समर्थन जनाएनन् । यसखाले असन्तुष्ठिबीच विश्वासको मत नपाएर धोका खेपेको एमालेले निणर्ायक भूमिका खेल्ने भएपछि कोइराला पक्षका केदार कार्की मुख्यमन्त्रीका लागि अघि बढे । पटक पटक सभापति देउवाले सम्झाउँदा पनि नछोडी गठवन्धनको विपक्षमा अडिग भइरहेर कार्कीले ४७ को संख्या पुर्याइछाडे ।
यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजिनामा दिएका थिए ।

Author

You may also like