विराटनगर, १४ असोज-
नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि अध्यक्षमा २ जनाले प्रतिष्पर्धा गरेका छन् ।
आज हुने निर्वाचनमा अध्यक्षका लागि, एमाले केन्द्रीय सदस्य विनोद ढकाल र प्रतिनिधिसभाका पूर्व सांसद घनश्याम खतिवडा प्रतिष्पर्धामा उत्रिएका छन् ।
अध्यक्षमा पछिल्ला अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टीकाराम चेम्जोङले पनि आकांक्षा जाहेर गरेको भएपनि पछिल्लो समयमा विराटनगरका ढकाल र लेटाङका खतिवडाबीच मात्र प्रतिष्पर्धा हुने भएको हो । दुवैबीच सहमति कायम हुन नसकेपछि उनीहरुबीच निर्वाचन नै हुने भएको पार्टीले जनाएको छ ।
शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निणर्य गरेको थियो । तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो ।
एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।