डा. सकुन्तला गुरागाईं ( चापागाईं)
गर्मी र वर्षातको मौसम संगसंगै लामखुट्टेबाट हुने डेंगी रोगले पनि हामीलाई तर्साउन लागेको छ । अघिल्लो वर्ष पनि यसले धेरै मानिसको ज्यान लियो र यस वर्ष पनि यसले आफ्नो आकार बढाउने हो कि भन्ने हामी सबैलाई लागेको हुनु पर्छ ।
बर्षातको समयमा पानी गमलामा, टायरमा, भाडामा, टोकरीमा, खाल्डा खुल्डीमा जम्मा हुन्छ र लामखुट्टेले बासस्थानको लागि ठाउँ पाउँछ ।
डेंगी विशेषगरी उष्ण तथा उपोष्ण (Tropical and sub tropical ) क्षेत्र मा बढी पाइन्छ । वातावरणमा आएको परिवर्तनका र उष्णताका कारण अहिले वर्षेनी डेंगीका बिरामी बढिरहेका छन् । कतिपय डेंगी संक्रमित रोगीहरु लक्षण बिहिन हुन्छन् भने कतिलाई गम्भीर लक्षणहरु देखा पर्दछन् ।
डेंगी फिमेल जात (Aades Aegypti) को संक्रमित लामखुट्टेको टोकाईबाट हुने रोग हो । डेंगी एक प्रकारको viral infection हो । यो लामखुट्टे घना बस्ति भएको ठाउँमा र स्थिर पानीमा बस्न रुचाउँछ्र यस रोगमा मानिसलाई अत्यधिक शारीरिक पिडाका साथ ज्वरो आउने, नाडीको गति सुस्त हुने, मांसपेशीको अत्यधिक दुखाई आदि हुने गर्दछ । विश्व स्वास्थ्य संगठन (WHO) को तथ्यांक अनुसार २०२३ मा डेंगीबाट ज्यान गुमाउनेको संख्या अहिले सम्मकै उच्च रहेको छ । २०२३ मा मात्र ६५ लाख मानिस डेंगी संक्रमित भएका छन् भने ७३०० मानिसले डेंगीका कारण ज्यान गुमाएका छन् । त्यसैले कसैले पनि यसलाई हल्का रुपमा नलिई समयमै यसलाई बुझौं ,बुझाऔं, जनचेतना फैलाऔं ,छलफल गरौं, बहस गरौं र यसका समाधानका उपायहरु तर्फ अहिले देखि नै लागौं । ताकि यो रोगले आफ्नु आकार नफैलावोस् साथै यसलाई सजिलै नियन्त्रणमा राख्न सकौं ।
डेंगी हुने कारण
यो रोगको प्रमुख कारण लामखुट्टेको टोकाई नै हो । जब संक्रमित लामखुट्टेले मानिसलाई टोक्छ तब भाइरस संक्रमित लामखुट्टेको माध्यमबाट मानिसमा सर्दछ र हामी डेंगी संक्रमित हुन्छौं ।
लक्षणहरु
कतिपय डेंगी संक्रमित रोगीहरु लक्षण बिहिन हुन्छन् भने कतिलाई गम्भीर लक्षणहरु देखा पर्दछन् । भाइरसबाट संक्रमित भएको ४-१० दिन भित्रमा लक्षणहरु देखा पर्ने हुन्छ र यस लाई निको हुन २-७ दिन लाग्दछ । यो रोग लाग्दा उच्च ज्वरो आउने, आँखा पछाडिको भाग दुख्ने, आँखाको गेडी दुख्ने, असाध्यै टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, वाक वाक लाग्ने तथा बान्ता हुने, छालामा मसिना मसिना बिमिराहरु आउने लगायतका प्रमुख लक्षण देखा पर्दछन् ।
यी माथिका लक्षणहरु सामान्य डेंगीका लक्षणहरु हुन् । कसै कसैलाई सामान्य भन्दा अलि गम्भीर लक्षणहरु पनि देखा पर्दछन जस्तै ः असाध्यै पेट दुख्ने, तारन्तार वान्ता हुने, असाध्यै तिर्खा लाग्ने, हातखुट्टा चिसो हुने, नाक वा गिजाबाट रगत आउने, वान्तामा पनि रगत देखा पर्ने, श्वास फेर्न गार्हो हुने आदि । यी लक्षण देखा परेमा तुरुन्तै चिकित्सकलाई देखाएर उपचारमा अझ बढी ध्यान दिनुपर्दछ । यी गम्भीर लक्षणले मानिसको ज्यान नै लिन सक्दछ ।
बचाऊ तथा उपचार
डेंगी रोगको बचाऊ तथा उपचार भनेको लामखुट्टेको रोकथाम तथा नियन्त्रण नै हो । यो रोग लामखुट्टेबाट फैलने भएकाले गर्दा हामीले सर्बप्रथम लामखुट्टेको बासस्थान तथा यसको बृद्धिलाई नियन्त्रण गर्नु पर्दछ । साथसाथै यसको टोकाईबाट पनि बच्नु पर्ने हुन्छ । यसमा हामीले बुझ्नु पर्ने कुरा के छ भने एउटा संक्रमित लामखुट्टेले आफ्नो जीवनभर भाइरसलाई फैलाउन सक्छ । त्यसैले हामी सबैले यसको बासस्थान तथा बृद्धिलाई नियन्त्रण गर्नु पर्दछ्र ।
यसको बासस्थान तथा बृद्धिलाई नियन्त्रण गर्ने सही समय अहिले नै हो । यदि हामी अहिले चुक्यौं भने पछि यसले आकार लिएपछि नियन्त्रण गर्न धेरै गार्हो हुन्छ । त्यसका लागि हामीले तलका उपायहरु अपनाउन सक्छौं ः
१,.पानी जम्मा हुने खाल्डा खुल्डी पुर्ने, भाडा कँुडामा पानी जम्मा हुन नदिने ।
२, पानी जम्मा भएको ठाउँमा लामखुट्टेका लार्भाहरु मार्न pyrethroids, carbamates, organophosphates, and organochlorines किटनासक औषधीको प्रयोग गर्न सकिन्छ ।
३, घर र वरपरको झाडीहरु सफा गर्दै समग्र वातावरण सफा राख्ने ।
४, पानीलाई लामो समयसम्म खुला ठाउँमा जम्न नदिने ।
५, किटनासक औषधीको प्रयोग बिनै लामखुट्टेका लार्भाहरु मार्ने माछाको पनि प्रयोग गर्ने, तेल छर्किने पनि गर्न सकिन्छ ।
लामखुट्टेको टोकाईबाट बच्न
लामो बाउला भएको लुगा लगाउने, साँझ र बिहान घर बाहिर ननिस्कने, सधै झुल टाँगेर मात्र सुत्ने, सम्भब भए लामखुट्टे छिर्न नसक्ने गरी घरमा जाली लगाउने, लामखुट्टे भगाउने धुप, मल्हम आदिको प्रयोग गर्ने गर्न सकिन्छ ।
माथिका सावधानी अपनाउदा अपनाउदै पनि डेंगी भइ हालेमा आराम गर्ने, झोलिलो पदार्थको सेवन गर्ने, दुखाई कम गर्न paracetamol को सेवन गर्न सकिन्छ तर ibuprofen and aspirin प्रयोग गर्नु हुँदैन । जथाभाबी औषधीको समेत प्रयोग गर्नु हँुदैन ।
यदि माथि उल्लेखित गम्भीर लक्षणहरु देखा परेमा तुरुन्तै अस्पताल तथा चिकित्सक कहाँ गइहाल्नु पर्दछ । होमियोप्याथिमा डेंगीका राम्रा राम्रा र निकै प्रभावकारी औषधीहरु छन् । तपाईमा भएका लक्षणका आधारमा योग्य चिकित्सकले सही औषधीको चयन गरी औषधी खादा यस रोगबाट मुक्त हुन सकिन्छ । होमियोप्याथिक औषधीले तपाईको शरीरमा कुनै दुश्प्रभाब ( साइडइफेक्ट) नगरी रोगलाई सजिलैसंग निको पार्न सक्दछ
(चापागाईं कंचनजंघा होमियो क्लिनिक दमककि चिकित्सक हुन् ) sakuntaladr123@gmail.com

Author

You may also like