दमक/ अन्धविश्वासले अझै समाज आक्रान्त छ । उपचार गर्दा निको हुने मानसिक रोगी (मनोरोग) का बिमारी हरुलाई तह लगाउने वहानामा बाँधेर अँध्यारो कोठामा राख्ने जस्तो अपराधिक काम अझै निर्मुल भएको छैन । मनोरोगीका लागि अनेकन प्रकारका उपचारका पद्दिति आइसक्दा पनि यसरी गैरकानुनी रुपमा मानिसलाई पशुवत व्यवहार गरेर अमानवीय व्यवहारका घटना अझै पनि समाजमा देखा परिरहेका छन् । उनीहरुको मानवाधिकार हनन गरिरहेका छन् । साङ्लोले बाँधिएको अवस्थामा भेटिएका इटहरीका एक जनाको उद्दार गरिएको छ भने दमकको बेलडाँगी शरणार्थी शिविरमा बाँधेरै राखेको अवस्थामा एकजना युवती फेला परेकी छन् ।
केही दिन अगाडि इटहरी उपमहा नगरपालिका वडा नं. ३ बाट ४५ वर्षदेखि मनोरोगी एक व्यक्तिको उद्दार भएको थियो । मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा उक्त व्यक्ति भेटिएको इटहरी उपमहानगरपालिका उपमेयर संगीता चौधरीले बताएकी छन् । उनको उद्दार समेत गरिसकिएको छ ।
यसैबीच झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट पनि सुस्त मनस्थितिकी एक २९ वर्षीया युवती प्रमिला पोखरेल फेला परेको सञ्चारकर्मी रमा दाहालले बताएकी छन् । दाहालका अनुसार ती युवतीलाई डोरीले बाँधेर राख्नु बाध्यता भएको परिवारका सदस्य बताउँछन् ।
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरभित्रको एक छाप्रोमा भेटिएको मार्मिक दृश्य देखियो । छाप्रो नजिकै रहेको गाई गोठमा डोरीले बाँधिएकी २९ वर्षीया पर्मिला पोखरेल चिच्याइरहेको अवस्थामा भेटिइन् ।
आफ्नै नाम उच्चारण गर्दै चिच्याइरहेकी पर्मिलाको गतिविधि नियाल्दा उनीमा मानसिक समस्या छ झैँ देखिन्छ । तर, परिवारले उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा वर्षौंदेखि डोरीले बाँधेर राखेका छन् । आफूसँग शरणार्थी परिचयपत्रसमेत नभएका कारण बिरामी छोरीलाई उपचारका लागि बाहिर लैजान नसकेको उनका बुबाको दुःखेसो छ ।
पदमलालकी अर्की छोरी उर्मिला पनि सुस्त मनस्थितिकी कै छन् । तर, धेरै चकचक नगर्ने भएकाले उनलाई नबाँधिएको परिवारका सदस्य बताउँछन् । ३० वर्षदेखि भुटानी शरणार्थीका रूपमा यही शिविरभित्र बसे पनि शरणार्थी परिचयपत्र पाउन नसक्दा पदमलालको परिवारले बिरामी छोरीहरूलाई उपचार गराउन पाएको छैन । एउटी छोरीलाई पशुसरह बाँधेर राख्नुपरेको छ । यो पोखरेल परिवारको बाध्यता भए पनि यसरी मान्छेलाई डोरीले बाँधेर राख्नु मानवअधिकार उल्लंघनको गम्भीर घटना भएको अधिकारकर्मीको तर्क छ । त्यसो त शरणार्थी शिविरभित्रका कसैले पनि मानवअधिकार महसुस गर्न पाएका छैनन् । त्यसमाथि डोरीमा बाँधिएर बन्धक जीवन बिताउनु झन् कति कष्टकर होला ?