झापा/ झापाको दक्षिणी क्षेत्रका नेपाली बजारहरुमा बिक्रीका लागि ल्याइने भारतीय माछालाई शनिवारदेखि प्रहरीले रोक लगाएको छ । गौरीगञ्ज गाउँपालिकाको फत्तेपुर र बैरीया नाकाबाट बिक्रीका लागि ल्याइने भारतीय माछा प्रहरी र सशस्त्र प्रहरीले रोक लागएको हो ।
विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न र त्यसबाट बच्न भारतीय माछा बेच्न रोक लगाएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । नेपालकै पोखरीबाट उत्पादन गरिएका माछालाई बिक्री बितरणमा रोक नलगाईएको उनले बताए । झापाको पुरानो बजार गौरीगंजमा शनिबार र बुधबार बजार लाग्ने र अन्य दिन पनि गुद्री बजार लाग्ने गरेको छ । नेपालमा उत्पादन भएको माछाले यहाँको उपभोत्ताको मागलाई पूर्ति गर्न नसक्ने र भारतीय माछा मूल्यमा पनि सस्तो भएकोले भारतीय माछा नै खरिद गर्न बाध्य भएको गौरीगंज गाउँपालिकाका सामाजिक व्यक्तित्व घनश्याम रिजाल बताउँछन् । गौरीगञ्ज बजारमा २ सयदेखि ९ सय रूपैयाँसम्मको माछा किन्न पाईन्छ ।
भारतबाट गौरीगंज भित्र्याएका माछा गौरादह तथा उत्तरका बजारहरुमा व्यापारीहरूले बेच्न लाने गरेको उनले बताए । धेरै जसो माछा मरेको र आईसमा राखेर ल्याईएका माछा विक्री गर्ने गरेको पाईएको छ। जिउँदो माछामा प्रोटिन हुन्छ तर मरेको माछामा प्रोटिन ह्रास हुनुको साथै मानव सरिरमा समेत हानिकारक हुने स्वास्थ्यकर्मीको भनाइ छ । पशु क्वारेन्टाइनमा माछा जाँच गर्ने उपकरण नभएको र छामेको र हेरेकै भरमा थाहा पाउनु पर्ने भएकाले माछा खान योग्य भए नभएको थाहा पाउन समस्या भएको छ। सम्बन्धित निकायबाट प्रभावकारी रुपमा बजार अनुगमन नभएकोले व्यापारीहरूले मरेको माछा बेचविखन गर्ने गरेको वडा सदस्य उदिम कुमार राई बताउँछन् । बरफमा राखिएको मरेको माछा खाँदा मानविय स्वस्थ्यका लागि हानिकारक रहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा.शुभम कुमार अग्रवाल बताउँछन् ।