धरान/ कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेका धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले उच्च अदालत बिराटनगरको आदेशपछि पनि त्यसलाई निरन्तरता दिएका छन् । आइतबार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। र, मंगलबार दुवै पक्षलाई बोलाएको थियो ।
वडाध्यक्ष फागोले अदालतको पत्र अझै आइनसकेकाले आफू अझै कार्यवाहक मेयरकै जिम्मेवारीमा बसेको बताए। ‘अदालतले परिपत्र गरेपछि छोड्नुपर्छ, तर पत्र आएपछि छोड्नेगरी बसेको छु,’ उनले भने, ‘पत्र आएको छैन्, मैले पनि त्यही प्रतिक्षा गरिरहेको छु।’ मेयर र उपमेयरबीच मिलाप नहुँदा आफू विवादमा परेको समेत उनले बताए । ‘मलाई जबरजस्ती बस्नुपर्छ भन्ने नै होइन्,’ फागोले भने, ‘मेयर र उपमेयरको अनमेलका कारण ममाथि आइपुगेको हो।’ दुई साताका लागि बेलायत गएका मेयर हर्क साम्पाङले कार्यबहाकको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको भन्दै विवाद भएको थियो।