मुख्य शिक्षा समाचार स्थानीय स्वास्थ्य

सिंहबाहिनीमा खानेपानीका लागि भूपू विद्यार्थी जुटे

दमक, २५ जेठ /

मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित सिंहबाहिनी माध्यमिक विद्यालयमा खानेपानीको अभावलाई परिपूर्ति गर्न त्यहाँका भूतपूर्व विद्यार्थीहरु जुटेका छन् ।
सुद्ध खानेपानीको पहुँच नपुगेको ग्रामिण बस्तीको सो विद्यालयमा ट्यूबवेलबाट समेत खान उपयुक्त हुने पानी नआएपछि भूतपूर्व विद्यार्थीहरुले फिल्टर सहितको खानेपानी व्यवस्थापनमा रकम संकलन सुरु गरेको समस्या उठानकर्तामध्येका नारायण श्रेष्ठले जनाए । यसको पहलकदमीको अगुवाई गरेका राजकुमार राई, टंक पराजुली र विद्यालयका प्रधानाध्यापक उमेश खड्काको नाममा मुक्तिनाथ विकास बैंकमा संयुक्त खाता खोली भूतपूर्व विद्यार्थीहरुले रकम जम्मा गर्ने अभियान अघि बढाएका छन् । सो अभियान अन्तर्गत हालसम्म १४ जनाबाट २ लाख ३९ हजार बढी रकम संकलन भएको अभियन्ता राजकुमार राईले बताए ।

देश/ विदेशमा रहेका भूतपूर्व विद्यार्थीहरुले यथासक्य सहयोग उपलब्ध गराएपछि विद्यालयमा जमिन मुनीबाट बोरिंङ गरेर पानी निकाली युभी प्लान्ट अनुसार सुद्ध खानेपानीको कार्यक्रम अघि बढेको उनले जनाए । हाल प्लान्ट जडानको काम भइरहेको छ । भूपू विद्यार्थीहरु संगठित भएर एकापसको आत्मियता जोगाउँदै विद्यालय तथा भूपू विद्यार्थीमा आइपर्ने समस्यामा सहयोग आदान प्रदानको काम समेत गरिँदै आएको छ ।
०३५ सालमा स्थापना भई २०४७ सालबाट एसएलसी तह सुरु भएको सो विद्यालयमा हाल ४ सय बढी विद्यार्थी रहेका छन् ।

You may also like