ओमप्रकाश गौतम

शिक्षा भनेको जीवनको आलोक हो । जसले अँध्यारोलाई उज्यालो पारिदिन्छ । अज्ञानीलाई ज्ञानभरिदिन्छ । शिक्षा नभएको मानिसले जीवनमै राम्रा चेतनाका कुरा गर्न गाह्रो पर्छ । किनकि उसले शिक्षाको मार्गबाट चेतनाको विकास भएर नव सिर्जना पहिल्याउन सकेको हुँदैन । यसकारणले पनि शिक्षा सबैका लागि अनिवार्य हुनुपर्छ ।
शिक्षा आत्मनिर्भरताको मूल तत्व हो । शिक्षामा आत्मनिर्भरता त्यसको लगानी, प्रक्रिया र उत्पादनको आधारमा हुन्छ । पूर्वीय दर्शनलाई शिक्षाको आधार मानेर त्यो अनुसार पाठ्यक्रम, शिक्षण विधि र पद्धतिहरु आधुनिक ज्ञान विज्ञानलाई समेत समेटेर निर्माण गर्ने , यसको नेतृत्वका तत्काल सम्बन्धित विश्वविद्यालय, विद्यालय र विद्यापीठले लिनुपर्छ । त्यतिमात्र होइन सरकार र अभिभावकले शिक्षक, विद्यार्थी, विद्यालय भवन, सिकाइको वातावरण निर्माण र प्रविधिमा अहिले भइरहेको लगानीभन्दा बढी लगानी गर्नुपर्छ । वर्तमान समयमा सरकारी शिक्षण संस्थाहरु राजनीतिक हस्तक्षेपले ग्रस्त छन् । यो हस्तक्षेप हिजो थिएन आज बढेको छ । वास्तवमा किन बढयो ? कसरी बढ्यो ? किन बढ्ने क्रम भइरहेको छ ? बढ्ने कारण के हो ? यो चासो र सार्वजनिक विषयबस्तु नबनेकै कारण अहिले पनि हिजोको बुर्जुवा शिक्षा जस्तै अहिले पनि चलिरहेको छ । दक्ष जनशक्ति दिनप्रतिदिन विदेश जाने लाइनमा छ । हिजोकै परिपाटीमा कछुवाको चालमा हिडिरहेको शिक्षाले विद्यार्थीहरुलाई राम्रो ज्ञान आर्जन गराउँदैन । राज्यले सबैभन्दा बढी लगानी यही क्षेत्रमा गर्दासम्म आशातित प्रगति हुन नसक्नु बिडम्बना मान्नै पर्छ । यसमा कुनै परिवर्तन हुन सकेन । बिगतदेखि अहिलेसम्म बनेका सरकारका उच्च तहका विज्ञहुँदासम्म आशातित परिवर्तन नहुनु लज्जाको विषय हो । शिक्षालाई हामीले पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्रमा सिमित गरिदियौं । परिवर्तन कसरी गर्न सकिन्छ भन्ने तर्फ लागेनौं । विद्यार्थीहरुलाई घोकन्ते, रटन्ते प्रणालीतर्फ उन्मुख गरायौं । व्यवहारिक रूपमा हामी शिक्षित हुन सकेनौं, हाम्रो शिक्षाले कहिल्यै पनि आत्मनिर्भर र स्वावलम्बी तथा व्यवहारिक बन्न सिकाउँदै सिकाएन ।
यतिमात्र होइन, हामी शिक्षाका नाममा यति ठगिएका छौं कि हाम्रा सन्ततिलाई पनि शिक्षाका त्यस्तै व्यापारिक कारखानाहरुमा अहिले पठाउँदैछौ । शिक्षाका नाममा लाखौं रुपैयाँ खर्च गर्दैछौं । यति खर्च गर्दैछौं कि हामीलाई घोकन्ते विद्या अपनाएर आफ्ना सन्ततिलाई व्यापारिक शिक्षा आर्जन गराइदिएका मालिकहरुले ‘ए प्लस’ नम्बर लब्धाङ्क पत्रमा दिएर ललिपप कसरी खुवाइरहेका छन् व्यापारीहरुले ? योसम्म बुझ्न विद्यालयको कुञ्जमा जादैनौं किन ? किन कि हामी अभिभावक हौं, हामीले कमाएको अथाह सम्पत्ति खर्च गर्ने ठाउँ कहिँ भेट्दैनौ अहिले त्यही खर्च गर्ने ठाउँ बनेको छ शैक्षिक व्यापारिक केन्द्रहरु । यहाँ यो कलमीले उठान गर्न खोजेको विषय कोही कसैलाई लक्षित गरेको भने होइन मात्र देखेको यथार्थता केलाउन खोजेको मात्रै हुँ जुन सत्य – तथ्य छ । हामीलाई हाम्रो समाजले र हाम्रा अभिभावकले यसरी सोच्नुपर्छ भनेर दिशा निर्देश गरिरहे , गरिरहेका छन् र गरिरहने छन् तर हामी त्यतिकैमा सीमित छौं । हामीलाई शिक्षाको भूत चढेको छ, हामीसङ्ग प्रशस्त रकम छ त्यो रकम हामी अनेकन शिक्षाका व्यापारिक केन्द्रमा खर्च गरिरहेका छौं । हाम्रो समाज वास्तवमा तुलनामा आधारित छ तर तुलनाले नै हाम्रो समाज यथार्थमा चौतर्फी रूपमा स्वस्थ हुन सकिरहेको छैन । अर्को कुरा बालमैत्री शिक्षाको चर्चा गरिरहेपनि हाम्रा कलिला दिमाग भएका विद्यार्थीहरु शिक्षकको, विद्यालय प्रशासनको, अभिभावकको भयबाट अहिलेपनि मुक्त हुन सकेकै छैन । भयका कारणले अधिकांश विद्यार्थीहरुले शिक्षकसंग आफूले नबुझेका विषयमा खुलेर प्रश्न गर्नै सकेका छैनन् भने विगत केही वर्ष अघि नेपालमा फैलिएको कोभिडको तीनवटा भेरिएण्टले थलिएको बालक आज आधारभूत तहदेखि मावि तहसम्म पुग्दासम्म हिजोको अनलाइन कक्षा उसको दिमागमा छ कि पढ्नुभन्दा बढी मोबाइलको सदुपयोग सही ठाउँमा प्रयोग भने गरेको देखिन्न । विशेषत ः उनीहरूको मस्तिष्कमा अहिले पनि पढांै भन्ने सोच छैन सामाजिक सञ्जालका अनेकन साइडहरु खोलेर आपराधिक काममा लागेका बालबालिका भेट्न सकिन्छ । ऊनीहरुलाई विद्यालयमा शिक्षक / शिक्षिकाहरुले बारम्बार यसको प्रयोग सही रूपमा गर्नुपर्छ, नकारात्मक असरपर्ने काम गर्नुहुन्न समेत भन्दा पनि उनीहरू मान्दैनन् भने घरका अभिभावकले छोराछोरी के गर्दैछन् भन्नेसम्म हेरेको देखिन्न । आज धेरैजसो बालबालिकाहरु प्रविधिको दुरुपयोग गरिरहेका छन्, पढाईमा खासै चासो देखिन्न । थोरै विद्यार्थी यस्तासम्म छन् कि उनीहरूको मष्तिष्कले दिएको उत्तर हेर्दा हामीलाई लाग्छ कि शिक्षण सिकाइ क्रियाकलाप सुदृढका लागि सामाजिक मनोविमर्श अनिवार्य गर्न सके उनीहरूको पढ्ने मनस्थितिलाई प्रभावकारी बनाउन सकिने रहेछ । यसमा सबै जुट्न सकेमात्र विद्यार्थीको सिकाइ उपलब्धिलाई अझै उचाइमा लान सकिन्छ भन्ने प्रतित हुन्छ । सार्वजनिक सवाल अन्तर्गतका अनेक सवाल अन्तर्गत सम्बन्धित सरोकारवाला निकायले यो पनि बुझ्नु नितान्त आवश्यक देखिन्छ । त्यो के हो भने – (१) शिक्षा हुनुपर्छ किन ? (२) शिक्षा स्वतन्त्र हुनुपर्छ किन ? (३) शिक्षा राजनीति र व्यवसाय रहित शिक्षा रुचिकर हुनुपर्छ किन ? (४) शिक्षा तुलना रहित हुनुपर्छ किन ? (५) शिक्षा भयमुक्त हुनुपर्छ किन ? (६) शिक्षा अनुकरणमुक्त हुनुपर्छ किन ? (७) शिक्षा प्रविधिमैत्री हुनुपर्छ किन ? (८) शिक्षा बालमनोविज्ञान केन्द्रित हुनुपर्छ किन ? यिनै बिषयमा सार्वजनिक सरोकारवालासंग व्यापक बहस हुनु आजको आवश्यकता हो । आज हाम्रा छोराछोरीहरुले स्वदेशमै आफ्नो भविष्य किन देखेनन ? के कारणले देखेनन ? भएको राम्रो विषय पढेका जनशक्ति आज किन विदेशी मोहमा छन, उत्तर छ कुनै नेताहरुमा ? शिक्षा नीतिमा सुधार गर्ने र जीवनोपयोगी शिक्षा प्रदान गर्ने विषयमा राज्यको ध्यान शिक्षामा त्यति देखिन्न । हिजोभन्दा आज शैक्षिक क्षेत्रमा प्रगति चाँही भएकै हो । तर भ्रष्टाचार हुँदासम्म कुनै निकाय बोलेकोसम्म नदेखिनु लज्जास्पद कुरा हो भन्न सकिन्छ । शिक्षा क्षेत्रलाई अझै परिमार्जित गर्दै लैजानका निम्ति राज्यले अनेकौं अवधारणा अघि सार्न सक्नु पर्यो । हामीलाई झारा टार्न गरेजस्तो एक हप्ते, दुई हप्ते शैक्षिक तालिम र बहस गरिसकेर त्यसलाई तुरुन्त विद्यालयमा लागूगर्न नसकेकै कारणले गर्दा आज शैक्षिक जगत दिनप्रतिदिन खस्कदै गएको छ । शिक्षाबाट प्राप्त क्षमताले जीवनका आवश्यकता पूरा गर्न, प्रतिस्पर्धात्मक बजारमा बिक्न र सिर्जनाबाटै भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मवोध प्रदान हुन सकेको छैन, लोकतान्त्रिक गणतन्त्र नेपालमा आइसके पनि । हिजोका दिनमा बुर्जुवा शिक्षा चाँहिदैन भन्नेहरु कता गए आज ? न योग्यता, न क्षमता, न तार्किक शक्ति, न सार्वजनिक बहस, शिक्षाको बारेमा बुझ्ने शिक्षामन्त्री अहिलेसम्म नेपालमा को बनेका छन् ? यही राजनीति खेलले गर्दा शैक्षिक क्षेत्र गोलमटोल बनेको छ ।
शिक्षालाई अझै सवलीकरण गर्दै जानका निम्ति चार वटा ‘प’को अवधारणा अन्तर्गत – पाठ्यक्रम, पेडागोजी, प्रविधिमैत्री र परीक्षालाई व्यबस्थित बनाएर जान सक्ने विद्वत वर्गहरु अघि सर्नुपर्छ । अबको शिक्षाले विद्यार्थीलाई अर्को अवधारणा अन्तर्गत चार ‘स’ जस्तै ः सिर्जनात्मकता, समालोचनात्मक चिन्तन, सम्प्रेषण र सहकार्य सहित एकले अर्को विद्यार्थीलाई प्रश्न र उत्तर गर्न सक्ने आमाको जस्तै न्यानो काख र प्रेम सिकाउन सक्नुपर्छ । अहिलेको शिक्षा प्रणालीमा सिकेको ज्ञान र सीपलाई श्रम, व्यबहार र उत्पादनसंग प्रभावकारी रूपमा जोड्न सक्नुपर्छ । शिक्षामा व्यापक राजनीतिकरण भएको हुनाले शिक्षामा विषयगत शिक्षकको अभावका कारण अन्यौलग्रस्त छ शिक्षाक्षेत्र । युवा जनशक्तिलाई बजारमा सहज रुपमा रोजगारी सुनिश्चित गर्न बजारको आवश्यकतासंग मेलखाने पाठ्यक्रम हिजो थिएन, अब हुनुपर्छ । खास गरिकन आधारभूत तहका कुनै कुनै विषयहरु ब्यबहारिक ज्ञान समेत सिकाउने नभएको हुनाले प्रविधिमैत्री शिक्षा दिलाउन सरोकारवाला निकाय अग्रसर हुन सक्नुपर्छ ।

omgautam2078@gmail.com

Author

You may also like