समाचार

लायन्सले गर्यो ४२ लाखका विभिन्न काम

दमक/ लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ एवान इम्प्याक्ट एरिया दमक सेक्टरले यही जुलाई १ देखि ७ सम्म अभियानका रुपमा आफ्नो क्षेत्रभित्र १७६ वटा कार्यक्रमहरु गरेको छ । सो सेक्टरका सभापति लायन ज्ञाननाथ पौडेल
(ज्ञानु)ले यस सेक्टरभित्र दमकमा मात्र २२ वटा क्लबहरु रहेको जनाउँदै ति क्लबहरुले रक्तदान, स्वास्थ्य जाँच शिविर, भोक हटाउ, वृक्षारोपण र कोभिडका संक्रमितहरुलाई सहयोगका विभिन्न कार्यक्रमहरु गरेको जानकारी गराए ।
आइतबार दमकमा गरेको पत्रकार भेटघाटमा सो क्लबका अध्यक्ष पौडेलले दमक सेक्टरभित्र इलामको चुलाचुली, कमल गाउँपालिका, गौरादह नगरपालिका, शिवसत्ताक्षी नगरपालिका र मोरङको पथरी शनिश्चरे नगरपालिकाका साथै मधुमल्ला पनि पर्ने जानकारी गराए । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका क्याविनेट ट्रेजरर कोमल शाक्यले नेपालमा लायन्स क्लब स्थापनाको ५१ औं वर्षमा प्रवेश गरेको र यस अवधिमा यस संस्थाले अन्धोपनालाई हटाउने आँखा अस्पताल खोल्नुका साथै मोतियाविन्दुको अपरेशनमा विभिन्न अस्पतालसंग सहकार्य गरी सहयोग गरेको, वातावरण संरक्षण र शुद्ध खानेपानीको क्षेत्रमा काम गरेको, गरिबी निवारण, मधुमेहका रोगीहरुको उपचार, बालबालिकामा हुने क्यान्सरविरुद्ध काम गरेको र हाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमितहरुलाई सहयोग गर्ने लगायतका काम गरेको जानकारी गराए ।
लायन्स क्लवका गभर्नर हेड अजय अग्रवालले लायन्सले आफ्नो अन्तर्राष्ट्रिय कोषमार्फत् मोरङको उर्लाबारीमा नमूना बालगृहको भवन २ कराड बढीको लगानीमा बनाइदिएको, दमकमा पाथीभरा आँचा उपचार केन्द्र बनाइदिएको, देशभरका १४ वटा विद्यालयहरुको भवन बनाइदिएको बताए । उनले लायन्स मानवीय सेवामा समर्पित रहेको प्रष्ट पारे ।
नेशनल लायन्स कोषका प्रेसिडेन्ट पवन अधिकारीले दमक सेक्टरले मात्र आफ्ना सदस्यहरु बाट रकम उठाएर झण्डै ४२ लाखको काम गरेको जानकारी गराए । विपन्न, गरीब र असहाय तथा कोरोना संक्रमितहरुका लागि दमकमा हाल फूड बैंक स्थापना गरिएको र सो बैंकमा हालसम्म १५ हजार केजी चामल भण्डारण गरिसकिएको उनले बताए । पत्रकार सम्मेलन अघि दमक सेक्टर अन्तर्गतका २२ वटा क्लबका प्रेसिडेन्ट तथा पदाधिकारीहरुलाई लायन्सको विविध गतिविधि बारे तालिम प्रदान गरिएको थियो । कार्यक्रममा जोन चियर पर्सन दिवस राई, चन्द्र गजमेर, रोशन बुढाथोकी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

Author

You may also like