दमक/ दमकमा बैकल्पिक उर्जामार्फत घरघरमा ग्याँस पु¥याउनका लागि निर्माणाधीन संरचनाको कामले जोखिम गराउन थालेको छ ।
नगरपालिकासंग सम्झौता गरी सञ्चालित परियोजनाले केहि महिनादेखि बाटोमा पाइप विछ्याउने र अन्य आवश्यक संरचना निर्माण गर्न थालेपछि सडक साँघुरिनुका साथै खाल्डाखुल्डोले वर्षामा थप समस्या बन्न थालेको हो । सडकमा खाल्डो खन्ने गरेका कारण पनि वर्षायाममा यतिखेर धेरै कालोपत्रे सडक हिलाम्मे संगै पानी नपर्दा धुलोले स्थानीयहरु सास्ती खेप्न बाध्य हुँदै आएका छन् ।
दमक–९ स्थित बुद्ध चौकमा सोहि परियोजनाको कामले बाटो मर्मत सम्भार नगर्दा एम्बुलेन्स नै भासिन पुगेको स्थानीय समेत रहेका हरि हेमा स्मृति प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्सका चालक टंक ढकालले गुनासो गरेका छन् । ्
गएराती दमकको बेलडाँगीबाट कोभिडका विरामीलाई पु¥याएर घर आउँदा घर अगाडीको खाल्डोमा भासिन पुगेको उनले सुनाए । घर अगाडी सोहि काम गरेपनि खाल्डो व्यवस्थित नगर्दा रातभरि एम्बुलेन्स फसेको उनको गुनासो छ । उनले भने, –‘खाल्डो पुर्नका लागि त्यहाँ खटिएका श्रमिकलाई पटक पटक भने भने कसैले चासो नदिँदा एम्बलेन्स रातभरि फस्न पुग्यो’ । उनले रातभरि एम्बलेन्सका लागि फोन आएपनि आफूले सेवा दिन नसकेको बताए । तर विहान मात्र नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका एउटा गाडीको सहयोगमा फसेको एम्बुलेन्स तानेर निकालेको बताए । आप्mनो एम्बुलेन्स रातभरी फस्यो, तर खाल्डोमा भवितव्य हुन सक्ने जोखिम आए कसले जिम्मा लिने त्यसबारे सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने उनको सुझाव छ ।
दमकमा परियोजनाको कार्य राम्रो शुरुवात भएपनि निर्माणको जिम्मा पाएको कम्पनीले संरचना निर्माण, त्यसको मर्मत व्यवस्थापनका काममा भने चासो नदिँदा दमकका शहरी बस्तीका सडकको अवस्था जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।
दमकमा निर्माण शुरु सो परियोजनाको स्थानीयलाई समेत पत्तो छैन । तीन वर्षका लागि संरचना निर्माण गरिसक्ने जिम्मेवारी दिएको भएपनि इजाजत पाएको निर्माण कम्पनीले कतै पनि कामको विवरण सार्वजनिक रुपमा टाँस समेत गरेका छैनन् । नियमानुसार निर्माणका काम गर्दा सम्बन्धित पक्षले विस्तृत कार्य योजना सार्वजनिक गर्नुपर्छ । परियोजनाले दमकका मुख्य शहरी क्षेत्रहरु वडा न. ५, ६, ८ र ९ मा धमाधम काम गर्दै आएको छ । कतिपय सडकमा पाइप र अन्य संरचना बनाइसकेपनि नपुर्दा वर्षामा थप जोखिम गरेको दमक ८ का सन्त लिम्बूले बताए । काम गरेसकेपछि खाल्डोको भाग नपुर्ने गर्दा सडकमा आउजाउमा नै समस्या परेको उनको भनाई छ ।