दमक/ झापाको दमक–१ स्थित संगम चुलाचुली टोल विकास संस्थाले आइतबार स्थानीय दुर्गा पांञ्चायन मन्दिर परिसरको सरसफाइ गरेको छ । टोल विकास संस्थाको आयोजनामा मन्दिर परिसरको सरसफाई गरिएको संस्थाकी अध्यक्ष सुमित्रा प्रसाईले बताइन् । आफनो टोल भित्र रहेको सार्वजनिक स्थानहरुको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत मन्दिर परिसरमा सरसफाई गरिएको प्रसाईले बताइन् ।
आफ्नो टोलमा रहेका सार्वजनिक स्थानहरु मठमन्दिर, सडक, ढल लगायतका स्थानमा सरसफाई गर्ने कार्यलाई निरन्तरता दिइने पनि उनले बताइन् । कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष ताराप्रसाद अधिकारीको समेत उपस्थिति रहेको थियो । सो अवसरमा वडा अध्यक्ष अधिकारीले सार्वजानिक स्थलहरुको संरक्षण र सरसफाईमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे । सरसफाई कार्यक्रममा संस्थाका सदस्य तथा मन्दिर आसपासमा बसोवास गर्दै आएका समुदायको सहभागिता रहेको थियो । सार्वजानिक महत्वका स्थानहरुलाई सुन्दर र सफा राख्नु नागरिकको दायित्व भएको स्थानीय खोमा न्यौपानेले बताइन् । श्रावण महिनाको प्रत्येक सोमबार शिवलाई जल चढाउने महिना भएकाले मन्दिरको सरसफाईलाई विशेष ध्यान दिँदै जल चढाउन आउन आग्रह समेत गरिएको टोल विकास संस्थाकी सदस्य बिमला बेघाले जानकारी दिइन् ।
अध्यक्षमा पुनः प्रसाई
यसैबीच दमकको संगम चुलाचुली टोल विकास संस्थाको अध्यक्षमा पुनः सुमित्रा प्रसाईं चुनिएकी छन् । संस्थाको सम्पन्न साधारणसभाले गठित समितिको सचिवमा किसन राई ,कोषाध्यक्षमा त्रिलोचन रेग्मी लगायत चुनिएको संस्थाका सदस्य देवी प्रसाद भट्टराईले जानकारी दिए ।
संस्थाले टोल विकास एरियामा खोलामा लानुपर्ने पानी टोल विकासतिर ल्याएकाले नगरपालिकालाई ढलको उचित व्यवस्थापन गर्न माग गर्ने , दुर्गा पाञ्चायन मन्दिर पूर्व रहेको जीवन चक्र मार्गलाई स्तरोन्नतिका लागि पहल गर्ने, संस्थाको खाता सहकारी वा बैंकमा सञ्चालन गर्ने ,फोहोर व्यवस्थापनलाई सहजीकरण गरी उचित व्यवस्थापन गर्ने तथा दुर्गा पाञ्चायन मन्दिरलाई नियमित रुपमा सरसफाइ गर्ने लगायतका निर्णय गरिएको सचिव किसन राईले बताए ।