दमक÷ आगामी प्रतिनिधीसभा निर्वाचनका क्रममा कोशीका विभिन्न स्थानहरुलाई सुरक्षा विष्लेषण गरि उच्च सुरक्षा प्रवन्ध गरिएको छ ।
प्रहरीले प्रदेशका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ स्थानलाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष निगरानी बढाएको छ । विशेषगरी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह बीच प्रतिस्पर्धा भइरहेको झापा क्षेत्र नं. ५ लाई प्रहरीले ‘हाइ–प्रोफाइल’ संवेदनशीलतामा राखेको छ ।
यहि विश्लेषणका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षा तयारीको अन्तिम तयारी पूरा भएको सुरक्षा श्रोतले जनाएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार निर्वाचन प्रहरी गरी ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । सुरक्षा समितिको बैठकले संवेदनशील र अतिसंवेदनशील क्षेत्रको पहिचान गरी सोहीअनुसार सुरक्षा फौज तैनाथ गरेको छ ।
मनोनयन दर्ताका दिन झापा–५ मा एमाले र रास्वपा कार्यकर्ताबीच भएको सामान्य झडप र एउटा पार्टी कार्यालयमा भएको ढुंगा प्रहारको घटनालाई मध्यनजर गर्दै त्यहाँ थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार झापा ५ को संवेदनशिलताका कारण यहाँको सम्भावित तनावलाई आकलन गरेर तयारी पूरा गरिएको छ ।
यस्तै यसपटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ । सामाजिक सञ्जालमार्फत एकैछिनमा माहोल बिगार्ने प्रयास हुन सक्ने तर्फ पनि ध्यान दिईएको डीआईजी घिमिरेले बताए । सोहि कारण प्रदेशस्तरमै ‘साइबर डेस्क’ स्थापना गरेर डिजिटल गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेको उनले जनाएका छन् । प्रहरीका अनुसार निर्वाचनका लागि सशस्त्र प्रहरी बलका तर्फबाट २ हजार ५६१ नियमित र ५ हजार ६४९ निर्वाचन प्रहरी पनि खटिएका छन् । प्रदेशमा ३५ लाख ७४ हजार २८६ मतदाताका लागि ४ हजार २७० मतदान केन्द्र निर्धारण गरिएको छ ।
डीआईजी घिमिरेले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा घेरा मजबुत बनाइएको दाबी गरे । प्रहरीले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङलगायतका जिल्लामा प्राकृतिक चुनौती बढी हुने देखिएछ । हिमपात, वर्षा र चिसो मौसमका कारण यातायात अवरुद्ध हुन सक्ने अनुमान गरि सोहि अनुसारको प्रवन्ध गरिएको छ । केही स्थानमा सञ्चार सम्पर्क नै नहुने अवस्था आउन सक्ने भएकाले स्याटेलाइट फोनको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा निर्वाचन सामग्री ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्ने तर्फ पनि ध्यान दिईएको प्रहरीको भनाई छ ।
कोशी प्रदेशको भारतसँग ४२७ किलोमिटर र चीनसँग २५८ किलोमिटर सिमाना जोडिएको छ । सीमा क्षेत्र सुरक्षाका लागि झापा, सुनसरी र मोरङमा भारतीय सुरक्षा निकायसँग काउन्टर–पार्ट बैठक सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
सुरक्षा र अनुगमनमा कडाई
फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा विराटनगरमा आयोजित सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको अन्तक्र्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिए । उनले फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने र यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भन्दै आचारसंहिताको कडाइका साथ पालना गराउन प्रशासन प्रतिबद्ध रहेको जनाए । साथै, निर्वाचनको समयमा ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द गरिने उनले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालले मोरङको समग्र सुरक्षा अवस्था र चुनौतीबारे जानकारी दिए । उनका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि ७ हजार ८ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिनेछ । मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’, १२५ लाई ‘संवेदनशील’ र १३४ वटालाई ‘सामान्य’ श्रेणीमा राखेर विशेष सुरक्षा योजना लागू गरिएको छ ।
यस्तै आचारसंहिता अनुगमन अधिकृत टोमनाथ उप्रेतीले उम्मेदवारहरूको आर्थिक पारदर्शिताका लागि अनिवार्य बैंक खाताको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ९० जना उम्मेदवारले खाता खोल्न सिफारिस लिएकोमा ६० जनाले खाता खोलिसकेका छन् । उम्मेदवारहरूले निर्वाचन सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत नै गर्नुपर्ने उनले जनाए ।