दमक/ सरकारले बढीमा एक सयको संख्यामा मात्र विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमै कक्षा संचालन गर्न दिने बारेमा छलफल र तयारी गर्न थालेको छ । बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा छलफल भएको छ । बिहीबार सिसिएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकमा यस विषयमा छलफल भएको हो ।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल मात्रै भएकाले सहमति भने नभएको जानकारी दिए। उनले भने,‘ बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यून विद्यार्थी भएका विद्यालयका खोल्नुपर्नेबारे छलफल भएको छ, अबको एक दुई दिनमा सहमति होला ।’ उनका अनुसार बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्साल, प्याब्सन, एनप्याब्सन लगायतका पदाधिकारीहरू सहभागी थिए । छलफल भएको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने र सोहीअनुरूप निर्णय लिइनेछ । त्यस्तै, अध्यक्ष भण्डारीले कक्षा–१२ को परीक्षा हुनुअगावै परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउन माग गरेका छन् । गत वैशाख १६ गते निषेधाज्ञा जारी भएदेखि बन्द भएका शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा कक्षा संचालन गर्नमा अहिलेसम्म पनि रोक लगाइएको छ ।