मुख्य शिक्षा

मंगलमय माविको ५२ वर्षे यात्रा

विद्यालयको पृष्ठभूमिः
झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री मंगलमय माध्यमिक विद्यालय पूर्वको प्रतिष्ठित र प्रविधिमैत्री विद्यालयको रुपमा परिचित छ । वि.स. २०२८ साल पुस २७ गते पथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिनबाट शुरु भएको यो विद्यालयले बहुआयामिक प्रतिभा उत्पादन गर्दै आएको छ ।
यस विद्यालयको स्थापना यस क्षेत्रमा जागरुक शिक्षाप्रेमी अभिभावकहरुको सहयोगमा निर्माण गरिएको थियो । यस क्षेत्रका अगुवा व्यक्तिहरु चन्द्रप्रसाद खरेल, कृष्णकुमार राई, हरिवहादुर राई पूर्णानन्द शर्मा दाहाल, सन्तकमार राई, अमृतलाल ताजपुरिया, ऋषिकेश सुवेदीको सक्रियतामा विद्यालय स्थापना गरी स्याउलाको कटेरोमा धुले विद्यालयबाट शुरु गरिएको थियो ।
यस विद्यालयको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा एउटा मंगलबार बजार लाग्ने सानो बस्ती रहेकोले यसै बजार क्षेत्रमा पर्ने विद्यालय भएको हुँदा यस विद्यालयको नाम मंगलमय राखिएको इतिहास छ । निवर्तमान अध्यक्ष स्थापनाकालका शिक्षाप्रेमी व्यक्तित्व पूर्णानन्द शर्मा दाहाल हुन् । विद्यालयको स्थापनाकालमा ऐलानी जमिनमा शुरु गरिएको थियो । सन्निलाल र अमसलाल राजवंशीवाट प्राप्त ४ कट्ठा जमिनमा ४ कोठे विद्यालयको स्थापना गरी जस्तापाताको छाना सहितको विद्यालय सञ्चालनमा ल्याइएको थियो । यस विद्यालयको उन्नति र प्रगतिको लागि अभिभावक शिक्षाप्रेमी बुद्धिजीवीहरुको सक्रिय सहयोग एवं सहकार्य रहेको छ ।
२०२९ साल मंसिर महिनामा प्रधानाध्यापक कृष्णकुमार राई स्थायी नियुक्ति पाई हालको शहिद धर्मभक्त माविमा सरुवा भएपछि तात्कालिन दमक गाउँपञ्चायतबाट सोही बर्षको पुस महिनामा नवीनकुमार राई प्रअको रुपमा यस विद्यालयमा नियुक्त भई सेवा दिएका थिए । उनले २०३२ सालसम्म कार्यरत रही आफ्नै ब्यवहारिक कठिनाइले मधुमल्लामा घर पायक सरुवा भएपछि टंकप्रसाद सापकोटाले नियुक्ती पाएका थिए ।


जग्गा व्यवस्थापन :
कमल गाउँपालिकाको पिँडालबारीमा रहेको ४ कट्ठा जग्गा बिक्री गरी हाल विद्यालय रहेको स्थानको १६ कट्ठा जमिन खरिद गरियो । २ कठ्ठा १५ धुर जग्गा सन्त कुमार वान्तवाबाट निशुल्क प्राप्त भयो । त्यसैगरी १ कट्ठा जमिन कैलास कुमार शर्मासँग खरिद गरी जम्मा १९ कट्ठा १५ धुर विद्यालयको नाममा कायम रहेको भएतापनि हाल विद्यालयको आफ्नो क्षेत्रको जग्गा खोजी मिलान गरी ३५ धुर नामसारी गरी अहिले कुल जग्गा ११ कट्ठा १८.५ धुरको विद्यालयले धनीपूर्जा लिइएको छ । हाल यस विद्यालयको प्रभावक्षेत्रको रूपमा कमल वडा नम्बर ३,४, ५, ६ र ७ गौरादह गा.पा.को वडा नम्बर १, इलाम चुलाचुली गा.पा. को केही क्षेत्रफल र दमक नपा वडा न. ७ र ८ मुख्य रुपमा रहेको छ ।
समुदायसँग विद्यालयको अन्तरसम्बन्धः
मंगलमय मावि रहेको क्षेत्रमा विविध धर्म संस्कृति, विविध भाषाका मानिसहरुको बसोबास रहेका समुदायसँग अन्तरसम्बन्ध रहेको छ । यहाँ बाहुन क्षेत्री, राई, लिम्बू विक, दमाई, पहाडीमुलका समुदायसंगै ताजपुरिया, मेचे, धिमाल, राजवंशी, सन्थाल लगायतका तराईबासीका मानिसहरु समेत यस क्षेत्रमा बसोवास गर्दछन् । ग्रामीण क्षेत्रको मिश्रित समुदायको संस्कृतिसँग विद्यालयको नैसर्गिक सम्बन्ध छ । हिन्दू, बौद्व, इसाई इस्लाम तथा किरात धर्म मान्ने मानिसहरुको बसोवास रहेको समुदायमा रहेको यो विद्यालयमा मात्रृभाषासँगै मैथिली, नेपाली समुदाय संयोजनको भाषाको रुपमा रहेपनि अधिकाशको मुख्य भाषा नेपाली रहेको छ । विद्यालयको समुदाय समावेशी प्रकृतिको रहनुले यो विद्यालय समाजका सबै समुदायलाई जोड्ने कसीको रुपमा रहेको छ ।
विद्यालयको सौन्दर्य र क्रियाकलापः
यस विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन ‘एक्सन बेश’मा आधारित रहेर गर्ने गरिएको छ । नियमित कार्यमा शैक्षिक सामग्रीको संकलन, भण्डारण र कक्षाकोठामा प्रयोग नियमित रुपमा सहक्रियाकलाप सञ्चालनमा सहयोग पुगेको छ । यसकासाथै बजेट तर्जुमा, प्रवेश परीक्षा, विद्यार्थी भर्ना र प्रमाणपत्र प्रदान, मुल्यांकन दुवै माध्यममा विद्यार्थीको मुल्याङ्कन नतिजा प्रकाशन गरिने गरिन्छ । त्यसैगरी, अभिभावक भेला, नियमित शिक्षक बैठक र सञ्चालक समिति तथा शिक्षक अभिभावक संघ बैठक, विद्यालय कम्पाउण्डको सरसफाई तथा फोहोर व्यवस्थापन, विज्ञान प्रयोगशाला कम्प्यूटर ल्याव, पुस्तकालयको उपयोग गरी शिक्षण गरिन्छ । शिक्षक तालिम, गोष्ठी, सेमिनार अन्तरक्रिया कार्यक्रम अध्ययन तथा अवलोकन भ्रमण, लेखा परीवेक्षण, नियमित अनुगमन तथा मूल्यांकन अवलोकन भ्रमण यस विद्यालयमा सञ्चालित कार्यक्रम एवं क्रियाकलाप हुन् ।
सुस्तश्रवण विशेष कक्षा र स्मार्ट सिकाई:
यस विद्यालयले अर्को महत्वपूर्ण कार्य सुनाईमा समस्या भएका विद्यार्थीहरुलाई शिक्षा दिने कार्य हो । यसमा राज्यले ठूलो लगानी गरेको छ । यस अन्तर्गत २०५३ सालदेखि सुस्तश्रवण विशेष कक्षाहरु सुरु भएकोमा यहाँको विशेष कक्षा बढी प्रभावकारी भएकोले २०५७ सालमा प्रगति माविको कक्षा र २०६८ सालदेखि भिमसेन निमावि. महारानीझोडाको श्रोतकक्षा समेत यहीँ गाभिएको छ । प्रत्येक वर्ष ३० जनाको कोटा कायम भई उनीहरुलाई तीनवटा कक्षामा आवासीय सुविधा सहित सुस्तश्रवणतर्फको कक्षा सञ्चालन भइरहेको छ । विद्यालयका विशेष कक्षाहरु स्मार्ट कक्षाको रुपमा तयार गरिएको छ । २०६७ सालमा कक्षा ११ को सम्बन्धन लिई अहिले ११ र १२ को कक्षा सञ्चालन भइरहेको छ । विज्ञान, वाणिज्य, शिक्षा र मानवीकि संकायका विषयहरु, सञ्चालन गरिएको छ । प्राविधिक शिक्षातर्फ ध्यान दिँदै वाणिज्य तर्फ कम्प्यूटर विज्ञान विषय पनि २०६९ सालदेखि सुरु भई निरन्तर कक्षा सञ्चालन भइरहेको छ ।
नमूना अंग्रेजी माध्यम र कम्प्युटर शिक्षाः
यस विद्यालयमा २०७१ सालदेखि अग्रेजी माध्यम पनि समानान्तर रुपमा सञ्चालन गरेकोले विद्यालयको विश्वसनीयता बढ्न थालेको अनुभूति अभिभावकले पनि गर्दै आएका छन् । २०७३ सालमा कक्षा ८ र ९ मा अग्रेजी माध्यम माथिबाट र तलबाट नर्सरी, के.जी., कक्षा १ र २ संचालन भएकोमा २०७४ मालमा कक्षा १० र कक्षा ७ हुँदै कक्षा ३ मा पनि अग्रेजी माध्यममा कक्षा सञ्चालन भई २०७५ मा कक्षा ६ र ४ मा अंग्रेजी माध्यममा कक्षा सञ्चालन भएकोमा २०७६ साल देखिने नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी माध्ययममा दुवैतर्फको कक्षा चलिरहेको छ । सर्वप्रथम कम्प्यूटर शिक्षा सुरुवात यस विद्यालयले गरेको र यस विद्यालयमा नै सर्वप्रथम कक्षा ११ र १२ मा पनि कम्प्यूटर शिक्षा दिइरहेको विद्यालयले जनाएको छ । साथै कक्षा १ देखि १० सम्मपनि कम्प्यूटर कक्षा सञ्चालन गरिएको छ ।
आर्थिक अवस्था :
आर्थिक वर्ष २०७९/८० मा यस माविको आर्थिक वर्षको आय ४, ९२,२३,४३२ रहेको छ भने ब्यय ३,६६,०२,३८६ रहन गएको विद्यालयको प्रतिवेदनमा उल्लेख छ । यसैगरी बचतमा १,२६,२१,०४६ रकम भएको देखिएको छ । कमल गापामार्पmत भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने बचतबद्धता भए अनुसार ग्राउण्डमा ब्लक लगाउने, आँपको फेदमा निर्मित संरचना, चट्याङ परेर क्षति भएका कम्प्युटर, फोटोकपी मेसिन मर्मत तथा खरिद, नयाँ भवनको लागि आवश्यक फर्निचर खरिद तथा निर्माण, कार्यालय व्यवस्थापन गर्ने, सीमाना घेराबारा (पर्खाल) लगाउने, बाल कक्षा र ११/१२ कक्षाको शौचालयको निर्माण गर्ने जस्ता कार्यहरुको लागि प्राप्त हुने भनिएको रकम प्राप्त हुन बाँकी रहेको विद्यालयले जनाएको छ । साउन महिनादेखि हालसम्म खर्च भएको ३७,००,०००।– भन्दा बढी भुक्तानी बाँकी रकमबाट भएकोले गापालाई सो रकम भुक्तानी गर्न अनुरोध गरिएको छ । सो रकम उपलब्ध हुननसकेमा यस विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरु र कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षक कर्मचारीलाई तलवभत्ता व्यवस्थापन गर्न नसकी विद्यालयको आर्थिक अवस्था धरायसी बन्ने संक्षिप्त प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।

विद्यालयको ५१ औं वार्षिकोत्सवमा सम्मानित हुँदै शिक्षक तथा अभिभावक ।
प्रत्येक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा पुरस्कार प्रदान गरिँदै ।
विद्यालय परिसरमा प्रार्थनामा सरिक हुँदै विद्यार्थी ।

You may also like