ओमप्रकाश गौतम-
कलम हिजोआज तिमी किन जुट्दैनौ ?
किन कित्ताकाटमा छौ ?
किन अलमलिएका छौ ?
यथार्थ लेख्न पनि किन आनाकानी गर्छौ ?
सायद तिमी दलीय सिण्डिकेटमा लागेर होला
कोर्ने र सत्य – तथ्य लेख्ने कुरामा तिम्रो कलम कापिरहेछ
डराइरहेछ किनकि तिमी दलको पुजारी भएका छौ
यसैले आज हामी लेख्नेहरु बिभाजित भयौ
एउटा यथार्थ कोर्ने अर्को समाचार लुकाउने
कस्तासम्म भयौ कि हामी दलका दलाल भएका छौ
हिजोआज
हाम्रो लेख अनि समाचार लिलामी छ
बन्धक बनेको छ
त्यसैले,
न्याय र समानता अनि वाक स्वतन्त्रताको बिगुल फुक्न
भ्रष्टाचार अनि कुसाशनको भण्डाफोर गर्न
एउटा निर्जीव कलम भएपनि
कहिल्यै पछि फर्कनु हुन्न हातमा हात मिलाएर
बिभाजित मनहरु एकीकृत गरेर
हराउँदै गएको देशका सीमाहरु अब खोज्नुपर्छ
कलम अब जुटनुपर्छ ……………………………….? हो अब हामी सबै सञ्चारकर्मीहरु जुट्नुपर्ने बेला आएको छ । हामीलाई दलहरुले लिलाम गरिरहेका छन् भने हामी लिलामी भयौ किन ? हामीले हाम्रै दलका नेता तथा तिनका कार्यकर्ताको असली रुप नबुझेकै कारणले हाम्रो समाचारको स्वरुप बदलियो । सत्यतथ्य समाचार बन्न नसकेपछि बिबादास्पद बन्यो । हामीले बिसौं बर्षसम्म कलम चलायौ, समाचार सम्प्रेषण, विश्लेषण गर्यौं । तर समाचारको श्रोत नबुझाी मनगढन्ते समाचार लेख्यौ मापदण्ड राखेनौ । समाचार कसरी पोख्ने ? स्पष्ट बिचार कसरी राख्ने ? लेख र समाचारको स्रोत कहाँबाट ल्याउने हो नबुझी अनलाइन समाचार अनि युटुबवालाको मनगढन्ते समाचारलाई आफ्नो नीजि बिचारमा समाहित गरेकै कारणले आज पत्रकारिता र लेखनवृत्ति विकासले पूणर्ता पाउन नसकेकै हो । कतिपय मिडिया हाउसले समाचार स्रोत कहाँबाट आएको हो ? सत्यतथ्य के हो ? यसलाई सम्बन्धित निकायमा गएर खोज अनुसन्धानसम्म नगर्दा आज मिडिया हाउस बन्द हुने अवस्थामा छन् । आफ्ना नेता तथा तिनका कार्यकर्ताले गरेका गलत प्रवृत्ति आफ्नै नेताले प्रकाशन गर्न हामीलाई उत्प्रेरित गरेकै कारणले हाम्रो पत्रिका दलको मुखपत्र बनेको छ । भन्न चाहिँ हामी स्वतन्त्र पत्रकार, स्तम्भकार हो चाहिँ भन्छौ । तर कहिँ न कहिँ हामी चुकिसकेका छौँ । दलीय गन्ध हामीमा आउन अब बन्द गर्नुपर्छ दलीय सिण्डिकेट प्रथालाई । उठाउनुपर्छ स्वतन्त्र आवाज तर डर, धम्की अनि त्रास उत्पन्न गराउने नेताहरुबीच कडा निगरानी गर्नेहरुको मुटु हल्लाउनु पर्छ । जसले प्रेश स्वतन्त्रताको संरक्षण र सम्बद्र्धन, मानवीयता, मानवअधिकार र अन्तरास्ट्रिय सम्बन्धको सम्मान, सूचनाको हकको रक्षा र प्रचलन, सत्यतथ्य सूचनाको संप्रेषण गर्ने काम गर्छ उ नै सच्चा र निर्भीक कलमी पत्रकार हो । सम्पादकीय स्वतन्त्रता र उत्तरदायित्व, गोपनीयताको हकको सम्मान, उच्च व्यवसायिक अभ्यास, शिष्ट व्यवहार, गल्ती सच्च्याउने तत्परता, सामाजिक दायित्व र आपसी सम्बन्ध सुमधुर बनाउने सक्षम ब्यक्ति भनेकै पत्रकार हुन । तर हिजोआज हिजोका जस्ता राम्रा, भाषा लेखनमा कमी, शैक्षिक योग्यता र दक्षतामा कमी भएकै कारणले पनि पत्रकार पत्रकार हुन सकेका छैनन् । न प्रशिक्षण, न योग्यता, न दक्षताका कारणले यो पेशामा आज शिक्षित पत्रकारहरुको बाहुल्यता देखिन्न । कति स्थानमा त समाचार लुकाउने, नलेख्ने अनि नभएका समाचारलाई तोडमोड गर्ने संस्कृति दिनप्रतिदिन बढदो छ । अनि पत्रकारिताको रवाफ देखाउने, मैले मिडियामा काम गरेको यति बर्ष भयो, उति वर्ष भयो भनेर होहल्ला मच्चाउने पीत पत्रकारिताको झुण्ड अहिलेपनि हामी सामु छ । तिनीहरूलाई कुन दर्जामा राखेर दर्ज गर्ने हो त्यो पत्रकार महासङ्घले गर्नसक्नुपर्छ । लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नका लागि पूणर् प्रेस स्वतन्त्रताको लागि सम्पूणर् श्रमजीवी पत्रकारहरु एकजुट हुन सकेमात्र लोकतान्त्रिक शासन पद्धति सही मोडमा हिडन सक्छ । तर आज सही मोडमा हिडनै नसकेको देखिन्छ । आज पत्रकारिताभित्र दक्ष जनशक्ति छैन, सामाजिक, राजनीतिक चेतना कमी छ । आम सचेत र बुद्धिजीवी वर्गले यही प्रश्न गरिरहेको अवस्था बिद्यमान छ । यदि साच्चै नै पत्रकारिता पेशालाइ आफ्नो मूल पेशा ठान्ने नै हो भने शिक्षा अनिवार्य र त्यही विषयमा पत्रकारिता तालिम लिएको हुनुपर्छ । अर्को कुरा पत्रकारले आचारसंहितालाइ शिरोधार्य गर्नैपर्छ । निम्नलिखित गर्न नहुने कार्यलाई त्याग्नसक्नुपर्छ । ती हुन ः राष्ट्रिय अखण्डतामा प्रतिकुल प्रभाव पार्नुहुन्न । सामाजिक न्याय र सदभावनामा प्रतिकुल असर पार्नु हुन्न । समाचारको गोप्य श्रोत जस्तोसुकै प्रलोभनमा परेको भएपनि श्रोत खोल्नु हुँदैहुँदैन । नीजि स्वार्थपूर्तिको लागि प्रयोग गर्न नहुने प्रकाशन प्रसारण कहिल्यै पनि गर्नुहुँदैन । भेदभाव हुनेगरि सूचनाको सम्प्रेषण गर्न हुँदैन जस अन्तर्गत जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक र रङ्ग जस्ता आधारमा भेदभाव हुने समाचार अनि पीडितलाई थप पीडा पुग्नेगरी सूचना सम्प्रेषण गर्नुहुदैन । हिंसा, आतंक र अपराध गर्ने ब्यक्तिलाई प्रोत्साहन मिल्ने समाचार कहिलेपनि सम्प्रेषण गर्नु हुन्न । विभत्स हत्या गरिएका दृश्य र तस्वीर प्रकाशन र प्रचारवाजी गर्नुहुन्न । घटनासङ्ग असम्बन्धित ब्यक्तिको नाम, थर उल्लेख गर्नु हुन्न । तथ्य र यथार्थपरक समाचारलाई तोडमोड गर्न र गराउन हुन्न श्रोत उद्धृत नगरी कुनौपनि समाचार पुन ः प्रकाशन गर्नुहुन्न । माथिका यी गर्न नहुने विषयलाई आत्मसाथ गरेर अघि बढ्न सकेमात्र पत्रकार र पत्रकारिता पेसामा कसैले पनि औला ठड्याउन सक्दैनन् । यसैका लागि पनि सम्पूणर् श्रमजीवी पत्रकार टुटफुटमा होइन एकजुट हुन जरुरी छ । आज पत्रकारिताको नाममा अनेक थरीका पत्रकारको भीड बढेको छ सत्यतथ्य समाचारलाई तोडमोड गरेर समाचार लेख्नेहरु बग्रेल्ती छन । म पत्रकारै नभएपनि पत्रकारिताको अध्ययन र विश्लेषण गर्दै नियमित रुपमा लेख लेखिरहेको व्यक्ति भएकाले यत्ति कुरा टिप्पणी गर्ने हैसियत राखें ।
अब कलमहरु जुर्मुराउनु पर्छ
राजनीति लेप होइन अब पत्रकार पत्रकारबीच
एकताको मेल हुनुपर्छ
सत्यतथ्य समाचार लेख्नुपर्छ
मसी नसुन्जेलसम्म लेख्ने बिषय उठान गर्नुपर्छ
हो
कलम अब जुटनुपर्छ ।
