दमक, ११ वैशाख /
झापाको दमक नगरपालिका कार्यालयले नगरका सामुदायिक विद्यालयमा यो वर्षबाट कक्षा ५ सम्म अनिवार्य रुपमा निःशुल्क पठनपाठनको परिपत्र गर्दै त्यसमा अपुग आर्थिक व्यवस्थापनकालागि पहिलो किस्ता रकम निकासा गरेको छ ।
नगरमा रहेका २१ वटा सामुदायिक विद्यालयमा चालु शैक्षिक शत्रबाट कक्षा ५ सम्म निःशुल्क शिक्षा कार्यान्वयन गर्न नगरपालिकाले पहिलो किस्ता स्वरुप १९ लाख ७५ हजार अनुदान रकम निकासा गरेको नगर शिक्षा शाखा प्रमुख प्रवीण खड्काले जनाए । भौतिक पूर्वाधार बाहेक शिक्षक कर्मचारी तलब, अतिरिक्त क्रियाकलाप, टाईबेल्ट सहितको व्यवथापनकालागि सो रकम सोमबार लेखा शाखाले विद्यालयहरुको खातामा पठाइसकेको लेखा प्रमुख देवप्रसाद कोइरालाले बताए । रकम तीन किस्तामा गरी प्रदान गरिने छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रकालागि छुट्याएको १ करोड ७५ लाख रुपैयाँबाट विद्यालयको भौतिक पूर्वाधार तथा शिक्षक, कर्मचारी तलब, अतिरिक्त क्रियाकलाप सहितको व्यवस्थापनमा खर्च गरिने नगरको निणर्य अनुरुप निकासाको क्रम अघि बढाइएको हो ।
सरकारले तोकेको माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयनका क्रममा यो वर्ष कक्षा ५ सम्मको शिक्षा पूणर् निःशुल्क बनाउन कुनै पनि शिर्षकमा शुल्क नलिन नगरले निर्देशन गरेको थियो । ०८२ मा ८ सम्म र ०८३ मा माविसम्मको शिक्षा पूणर् निःशुल्क बनाउने ‘दमक शिक्षा सुधार योजना’ ले तय गरेको छ । नगर विद्यालय शिक्षा परिषदको ०८० चैत ७ को निणर्य सिफारिस तथा नगर कार्यपालिकाको चैत २४ को बैठकले पहिलो चरणमा कक्षा ५ सम्मको शिक्षा पूणर् निःशुल्क गर्ने निणर्य गरेको हो । निःशुल्क शिक्षामा अंग्रेजी माध्यमलाई अघि बढाउने पक्ष पनि नगरले संगसंगै जोडेको छ । यी दुई पक्षकालागि नगरले अध्ययन गरी यो वर्ष विद्यालयलाई आवश्यक खर्च समेत हिसाव गरेर विद्यालयलाई अपुग भएको देखिएको रकम नगरले व्यहोर्ने योजना अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाए । उनले अंग्रेजी माध्यम सञ्चालनकालागि नगरले नै १५ जना शिक्षकको व्यवस्थापन समेत गर्ने बताए ।
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा शिक्षा सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको स्मरण गराउँदै आफ्ना विद्यालयमा पनि यो वर्ष कक्षा ५ सम्म निःशुल्क पठनपाठन गर्न नगरले विद्यालयहरुलाई परिपत्र गरेको थियो ।
